वराहक्षेत्रका प्रेरक धर्मगुरु, साधनासँगै सत्कर्म | Khabarhub Khabarhub

वराहक्षेत्रका प्रेरक धर्मगुरु, साधनासँगै सत्कर्म

पन्ध्रौँ शताब्दीको गुप्त वराह गुफाको जीर्णोद्धारमा युवा पण्डितको सक्रियता


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत उपरि तत् द्रव्यम् भगवत द्रव्यं सर्वभोग निर्गतिम् व्रजेत ।’ अर्थात् भक्तहरूले भागवत पुराणमा चढाउने द्रव्य भगवानको द्रव्य हो । यो द्रव्य सम्पूर्ण रूपमा कसैले लिन्छ भने त्यसले दुर्गति प्राप्त गर्छ ।’

वृन्दावन अध्ययन गर्दाताका योगेश भण्डारीको मनमा गढेको यो श्लोकले उनको जीवनदृष्टिकोण परिवर्तन गरिदियो । यही श्लोकबाट समाजसेवा गर्ने प्रेरणा पाएका उनी भगवत सेवामा लागिरहे ।

वृन्दावनबाट संस्कृत साहित्यमा आचार्य (एमए) गरेका उनी १८ पुराणका व्याख्याता हुन् । पुराणलाई समयसापेक्ष, रुढीवादबाट मूक्त गराउँदै आधुनिक र विज्ञानसम्मत् व्याख्या गर्ने उनी प्रसिद्ध युवा पण्डित योगेश (वराहक्षेत्र) का नामबाट चिनिन्छन् । ‘धर्मशास्त्रलाई आँखामा कालोपट्टी बाँधेर हेर्नु हुँदैन,’ पण्डित भण्डारी भन्छन्, ‘गुरुकुलमा आर्जन गरेको ज्ञान र एउटा श्लोकको सिद्धान्त आत्मसात् गरेर अघि बढेको छु, प्राप्त हुने दानदक्षिणाबाट सेवा र लोकहित गर्नुपर्छ भन्ने धारणा छ ।’

आफूलाई वराह भगवानका सेवक भन्न रुचाउने पण्डित भण्डारीले भागवत्, देवी भागवत्, गणेश पुराण, शिव पुराण, लिङ्ग पुराण, अग्नि पुराण, नारद पुराण, ब्रह्म वैवर्त पुराण, ब्रह्म पुराण, वामन पुराणलगायत १२ पुराणको नेपाली सार पुस्तक प्रकाशन गरेका छन् । उनका कयौँ भजनका पुस्तक र वराहक्षेत्र महात्म्य कृति प्रकाशित छन् ।

‘आचार्यपछि पनि थप अध्ययन गर्न बुबाले प्रेरणा दिइरहनु भएको थियो, उहाँले गाली पनि गर्नु भयो, त्यसैबेला बराहक्षेत्रमा धर्मशाला बनाउने काममा लागियो, अध्ययन अगाडि बढाउन सकिएन,’ पण्डित भण्डारीले भने ।

उनले पुराण वाचन गरेरै वराहक्षेत्रमा वराहक्षेत्र सेवाश्रम, वराह प्रवचन हल, वराहकुण्डलगायतका संरचना निर्माण गरे । विराटनगरमा विष्णुमाया पुस्तकालयको पहिलो ई–लाइब्रेरी स्थापनाका लागि पुराण वाचन गरे । विराटनगरमै परोपकार अक्षयकोष स्थापनाका लागि पुराण वाचन गरे । धरानको पानवारीस्थित सेहेरा खोलामा पुल निर्माणका लागि पुराण भने । धरानकै दुई धारेबाट दन्तकाली जाने बाटो निर्माणका लागि, चतरामा क्याम्पसको अक्षय कोषका लागि उनले पुराण वाचन गरे ।

‘पुराण वाचन गरेर किनिएका बीसौँ एम्बुलेन्स अहिले पनि कुदिरहेको देख्छु,’ पण्डित भण्डारी भन्छन्, ‘धेरै संस्थाहरूको त नाम पनि बिर्सियो, विद्यालय, गुरुकुल, सामुदायिक भवन, वृद्धाश्रम निर्माणका लागि पुराण वाचन गरेँ ।’

उनी नेपालमात्रै होइन भारतका विभिन्न स्थानमा गएर पुराण वाचन गरेको अनुभव सुनाउँछन् । प्रत्येक भारत भ्रमणमा उनी वराहक्षेत्रको प्रचारका लागि हिन्दी भाषामा बुकलेट छपाएर प्रचार गर्छन् ।

यही समाजसेवाकै क्रममा उनी विगत तीन वर्षदेखि गुप्त वराह गुफाको जीर्णोद्धारमा लागेका छन् । पुराण वाचन गरेरै क्रमागत रूपमा सङ्कलन भएको १ करोड ५० लाख रुपैयाँबाट गुप्त वराहस्थलको नवनिर्माणमा लागेका छन् ।

यस्तो छ, गुप्त वराहको कथा

शास्त्रअनुसार रसातालमा भासिएको पृथ्वीलाई वराह भगवानले पूर्ववत् उद्धार गरी यस धराधाममा स्थापित गरेको र भगवान यहीँ यज्ञ वराहका रुपमा स्थपित भएकाले वराहक्षेत्र तीर्थलाई धर्तीको पहिलो तीर्थका रूपमा लिइन्छ । वराह भगवानको आशिर्वाद, सानिध्य र महामुनी औलिया बाबाको तप र सिद्धिको कृपामा रहेको यो क्षेत्र वरपर महत्वपूर्ण तीर्थहरू छन् । त्यस्तै एउटा तीर्थ हो गुप्त वराह ।

चतरा माल मेनेजरी गुठीअन्तर्गत पर्ने सिद्धमहामुनि औलिया बाबाको मठ, वराहक्षेत्र अस्थान र गुप्त वराह गुफा एकार्कासँग सम्बन्धित छन् ।

जनश्रुति र मान्यताअनुसार औलिया बाबा भगवान् वराहका सेवक र पुजारी थिए । तराईमा औलो लाग्थ्यो । बाबाले आफ्नो तप र सिद्धीद्वारा औलो खिचेर नियन्त्रणमा राख्थे । एक दिन औलिया बाबा आफैँलाई औलोले भेट्टायो । वराह भगवानको नित्य पूजामा वराहक्षेत्र जान सकेनन् । उनले त्यही गुफामै वराह भगवानको पुकार गरे । वराह भगवान उक्त गुफामा आफैँ प्रकट भएर गुप्त रूपमा औलिया बाबालाई दर्शन दिए । र, उक्त गुफा रहेको क्षेत्रलाई गुप्त वराह भनिन थालियो ।

तथ्य अनुसार १५ औं शताब्दीको इतिहास रहेको गुप्त वराह लामो समयदेखि ओझेलमा थियो । यहाँ अवस्थित मन्दिर, पाटीपौवा, सत्तल र धर्मशालाको संरक्षण र प्रचार प्रसार गर्दै आएका पण्डित योगेश भण्डारीको सकृयतामा गुप्त वराहको जीर्णोद्धार भइरहेको छ ।

मध्यकालीन राजा मणिमुकुन्द सेन पूर्वी राज्य विस्तारका क्रममा यहाँ आइपुगेको तथ्य छ । भनिँदै सुनिँदै आएको कथाअनुसार मणिमुकुन्द सेन वराह भगवानको दर्शन गर्न आउने क्रममा गुप्त वराह आइपुगे । उनले औलिया बाबालाई भेटे । त्यतिबेला उनी नित्य पूजाका लागि नदीमा नुहाउन जान लागेका थिए । गुफाको एक छेउमा औलिया बाबाको च्यादर कम्पन भइरहेको थियो । औलो जोरो र च्यादरबारे राजालाई सचेत गराउँदै उनलाई त्यहीँ बसाएर बाबा नित्य स्नानका लागि नदीतर्फ लागे । उत्सुक राजाले कम्पन भइरहेको साँच्चै औलो नै हो त ? भनेर छोई हेर्दा उनीमाथि नै औलो खनियो । स्नान गरी बाबा गुफामा आउँदा राजालाई काँपी रहेको देखे । आफ्नो सिद्धि र प्रतापद्वारा औलो खिची औलिया बाबाले पुनः च्यादरमै राखे ।

बाबाको प्रतापबाट प्रसन्न राजाले हिराको हार प्रदान गरे । तर बाबाले उक्त हार सप्तकोसी नदीमा मिल्काइदिए । बहुमूल्य हार नदीमा फ्याँकेको देखेर राजा रिसाए । र, बाबामाथि अनेक कुरा गर्न थाले । बाबाले आफ्नो राखनधरन सबै यही कौशिकी नदीमै रहेकाले त्यहीँ राखेको बताए । बाबाले तिमी सम्पत्तिको लोभी रहेछौ । तिम्रो हार फिर्ता लैजाऊ भनेर पुनः कोशी नदीमा फ्याँकेको हार निकालेर राजालाई दिए । बाबाको प्रताप देखेर चकित राजाले आफूलाई भक्त बनाउन अनुरोध गरे । निःसन्तान राजालाई औलिया बाबाको प्रतापद्वारा पुत्र लाभ भयो । र कालान्तरमा आफ्ना छोरा बाबाको सेवामा चढाए । तिनै मनमुकुन्द सेन चतरा राज्यको अधिपति महन्त घोषित भए । हालको गुप्त वराहबाट वि. सं. १८२१ मा औलिया बाबाको गद्दी चतरामा निर्माण गरियो ।

१५औँ शताब्दीदेखि सो स्थानमा रहेको गुप्त वराह औलिया बाबाको गद्दीलाई चतरामा वि.सं. १८२१ मा सारिएको तथ्य छ । त्यसअघि बाबाको निशान हालको सप्तरी जिल्लास्थित निशान टप्पुमा रहेको तथ्य भेटिन्छ ।

अहिले पनि सो स्थानलाई जोगीमारा भन्ने गरिएको छ । सप्तकोसी नदीको प्रकोपबाट १२ सय जोगीलाई बगाएकाले सो स्थाननाट बाबाको गद्दी सारिएको भनाइ छ ।

सो तथ्य ‘प्राचीन नेपाल’ नामक पुस्तकमा साफल्य अमात्यद्वारा लिखित ‘सप्तरीको चन्द्रभागा र कान्छा खोरियाका भग्नावशेषहरू’ मा समेत उल्लेख छ ।

औलिया बाबा मठ, वराहक्षेत्र अस्थान र गुप्त वराहको दर्शन गर्दा धार्मिक पूण्य प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

दान–दक्षिणाबाटै गुफाको जीर्णोद्धार, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

सुनसरीको धार्मिक स्थल चतराधामबाट वराहक्षेत्र मन्दिर ७ किलोमिटरको दूरीमा छ । चतराबाट नदी किनारै किनार गुप्त वराहस्थल हुँदै वराहक्षेत्र मन्दिर जाने भीरमा झण्डै चार दशकअघि गोरेटो बाटो थियो । २०४५ सालमा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि नयाँ बाटो खोलियो । हाल जीर्णोद्धार भइरहेको गुप्त वराह स्थलबाट माथि नयाँ सडक खोलिएको ३८ वर्ष भयो । ३८ वर्ष यता गुप्त वराह पनि ओझेलमा रहेको पण्डित योगेश भण्डारी बताउँछन् । ‘नयाँ बाटो खोलेको ३८ वर्ष पुग्यो, ३८ वर्षदेखि नै गुप्त वराह ओझेलमा छ ।’ पण्डित भण्डारीले भने ।

विगत ३ वर्षदेखि उनी गुप्त वराहको जीर्णोद्धारमा लागेका छन् । २०७९ मङ्सिर १० गते शिलान्यास गरेर काम सुरु भएपछि स्रोत जुटाउँदै, काम गर्दै जीर्णोद्धारको काम अघि बढेको छ । ‘क्रमागत रूपमा काम भइरहेको छ, आर्थिक स्रोत जुटाउँदै काम गर्दैछौं,’ पण्डित भण्डारीले भने, ‘दान दातव्यबाटै काम अघि बढेको छ ।’

युवा पण्डित भण्डारीले पुराण वाचन गरेका ठाउँमा प्राप्त हुने दान दक्षिणा सङ्कलन गरी गुप्त वराहको जीर्णोद्धार गर्दै आएका हुन् । गुप्त वराहकै नाममा व्यक्तिगत सहयोग र आह्वानबाट आर्थिक स्रोत जुटाउने गरेको उनी बताउँछन् ।

‘काम थालेको ३ वर्ष भयो, यो अवधिमा सरदर १ करोड ५० लाख रुपैयाँ जति खर्च भइसकेको छ,’ पण्डित भण्डारीले भने, ‘सबै रकम भक्तजनको सहयोगमा भएको हो ।’

धार्मिक क्षेत्रको उन्नयनमा लागिपरेका भण्डारीको सक्रियता देखेर कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा गुप्त वराह निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ठेक्का प्रक्रियामा जाँदा १४ लाख रुपैयाँमा सम्झौता भई ठेकेदार कम्पनीले काम गर्दै आएको छ ।

‘आगामी मङ्सिर १० गतेसम्ममा जे जस्तो अवस्था भए पनि मान्छे पुग्न सक्ने भएपछि उद्घाटनको कार्यक्रम राख्ने योजना छ,’ पण्डित भण्डारीले भने, ‘सबै काम सक्न समय लाग्छ । प्रदेश सरकारले पनि काम गर्दैछ, चित्त नबुझेर आफैँ पनि श्रमदानमा लागेका छौँ ।’

चतरा– कोशी पुल– वराहक्षेत्र सडक खण्डको धरणीदेवीको मन्दिरदेखि तल कोशी नदीको किनारसम्म ३ सय मिटर दूरी रहेको छ । निर्माणाधीन सिँढीको घुमाउरो बाटो र तेर्सो हुँदै गुप्त वराह गुफासम्म अन्दाजी ५०० मिटर दूरी रहेको पण्डित भण्डारी बताउँछन् । भिरालो डाँडामा निर्माण गरिएको सिँढी र तेर्सो बाटोका कारण खर्च धेरै भएको उनको भनाइ छ ।

‘हामी काम गर्दैछौँ, कोशी प्रदेश सरकार पनि सकारात्मक देखिएको छ, प्रदेशभरिकै धार्मिक पर्यटन भित्र्याउन सकिन्छ भन्ने उद्देश्य हो,’ पण्डित भण्डारीले भने, ‘गुप्त वराहस्थल निर्माण सम्पन्न भएपछि उदयपुरको मैनामैनी जाने पर्यटक बढ्छन्, कोशीमा भइरहेको बोटिङलाई टेवा पुग्छ, कोशी किनारै किनार वराहक्षेत्र पुग्ने बाटो जोड्न सक्ने सम्भावना पनि छ ।’

पण्डित भण्डारीले मोनो रेल सञ्चालनको परिकल्पना समेत गरेको बताए ।

‘आगामी मङ्सिर १० गते गुप्त वराहको उद्घाटन गर्ने योजना छ, उद्घाटन गरेको हप्ता दिनभित्रै समितिलाई हस्तान्तरण गर्ने योजना बनाएको छु,’ पण्डित भण्डारीले भने, ‘थप कामका लागि राज्य, नगर र स्थानीयले सहयोग गर्नुपर्छ, हामीले अप्ठ्यारा बाटा पार गरायौँ । सजिलो बाटोमा समितिले काम गरे पनि हुन्छ, साधुसन्तले सञ्चालन गरे पनि हुन्छ, नगर सरकार, प्रदेश जसले चलाए पनि हुन्छ । मेरो काम भनेको मात्र आध्यात्मिक स्थललाई उजागर गर्ने थियो । थप विकास सरकारले गर्नुपर्छ ।’

उनले आउँदो हिउँददेखि भक्तजनले गुप्त वराह गुफामै पुगरे दर्शन गर्न पाउने बताए । ‘यो कामका लागि हामी सबै जुटौं ।’ पण्डित भण्डारीले भने ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ४ : २७ बजे

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा

गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 

काठमाडौं– शनिबार दिउँसो  डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका- १ ठाला

गृहमन्त्रालयले भन्यो- भिजिट भिसा सेटिङमा मन्त्री लेखकको कुनै संलग्नता छैन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट