तेहरान- इरानको तेहरानस्थित सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका अनुसन्धानकर्ता अबास असलानीले १२ दिनदेखि गरेको आक्रमणबाट अमेरिका र इजरायलले उद्धेश्य पूरा गर्न नसकेको बताएका छन् ।
इरानमाथिको युद्धमा अमेरिका र इजरायल दुवैले परमाणु कार्यक्रम ध्वस्त पार्ने र शासन परिवर्तन गराउने आफ्नो लक्ष्य हासिल गर्न नसकेका उनले बताएका छन् ।
विश्लेषक असलानीले इरानको परमाणु ज्ञान र प्रविधि अहिले पनि सुरक्षित रहेको बताएका छन् । ‘मिसाइल क्षमतामा उल्लेखनीय क्षति पुगेको छैन’, उनले भने, ‘इरानले आफ्नो परमाणु सामग्री सुरक्षित स्थानमा सारिसकेको छ ।’
सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिज, तेहरानका अनुसन्धान सहयोगी असलानीका अनुसार युद्धविरामप्रति इरान हाल सतर्क ढंगले अगाडि बढिरहेको छ।
‘गाजा र लेबनानमा इजरायली प्रतिबद्धता कमजोर देखिएकाले इरान सतर्क छ’, उनले अल जजिरासँगको कुराकानीमा भनेका छन् ।
‘तेहरान अझैसम्म आधिकारिक रूपमा युद्धविरामको पुष्टि गर्न किन अघि सरेको छैन भन्ने कारण स्पष्ट छ— इजरायलले गाजा र लेबनानमा गरेको युद्धविरामको उल्लंघन इतिहासमा धेरैपटक देखिएको छ। त्यसैले इरानले सावधानीपूर्वक निगरानी गरिरहेको छ। यदि समयसँगै कुनै उल्लंघन हुँदैन भने, इरान पनि युद्धविरामको पालनामा तयार हुनेछ’, उनले भनेका छन् ।
युद्धको उद्देश्य अधुरै
असलानीका अनुसार यो युद्ध वास्तवमा इरानविरुद्ध इजरायल र उसको साझेदार अमेरिका मिलेर लडेका थिए । दुवैले युद्धको लक्ष्य ‘इरानी परमाणु कार्यक्रम नष्ट गर्नु’ र ‘इरानमा शासन परिवर्तन गराउनु’ राखेका थिए।
‘केही क्षति पुगे पनि इरानको परमाणु कार्यक्रम केवल भवन र उपकरणसम्म सीमित छैन। परमाणु सामग्रीलाई सुरक्षित स्थानमा सारिएको छ । प्रविधि तथा वैज्ञानिक ज्ञान सुरक्षित नै छ’, उनले भने।
अमेरिकाले बी२ स्प्रिट बम बर्षक ल्याएर आक्रमण गरेको एक दिनपछि इजरायलले परमाणु केन्द्रमा गरेको हमलालाई पनि उनले असफलताको रुपमा वर्णन गरेका छन् ।
इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा आक्रमण गरेको थियो । संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि आक्रमण भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताएका थिए । तर इरानी अधिकारीहरूले इरानको आणविक कार्यक्रममा बम आक्रमणको प्रभाव नदेखिएको बताइरहेका बेला इजरायलले फेरि गरेको आक्रमणलाई उद्धेश्य पूरा नभएको रुपमा व्याख्या गरेका छन् ।
मिसाइल क्षमता कायमै
उनले अहिले पनि इरानको मिसाइल क्षमता उस्तै रहेको बताए । इजरायलमाथि मंगलबार नै भएको आक्रमण यसको प्रमाणका रुपमा रहेको असलानीले थपे ।
‘इरानले युद्धको क्रममा इजरायलमाथि कयौँ मिसाइल आक्रमण गरेको छ, जसले स्पष्ट देखाउँछ, उसको मिसाइल क्षमता अझै यथावत छ’, उनले भने ।
उनले अब इरानले अमेरिका सँग ‘गम्भीर वार्ता’ कहिल्यै नगर्ने बताए । अमेरिकासँग छोटो अवधिमा कुनै गहिरो वा अर्थपूर्ण वार्ता अब सम्भव छैन ।
‘परमाणु वार्ता चलिरहेकै बेला अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे। यस्तो अवस्थामा विश्वसनीय संवादको वातावरण तयार हुन सक्दैन’, उनले भने ।
असलानीले वार्ता छोटो अवधिमा सम्भव नभएको बताउँदै आक्रमण वार्ताकै बीचमा गरिएको पनि खुलाएका छन् ।
इरानले युद्धविरामको औपचारिक घोषणा गरे पनि अमेरिका र इजरायललाई चेतावनी दिइरहेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले इजरायलविरुद्धको आक्रमणलाई ‘विरोधीको अत्याचारको प्रतीकात्मक जवाफ’ भनेको छ।
‘इस्लामिक गणतन्त्रका सशस्त्र बलहरू कुनै पनि सहमति उल्लंघनमा निर्णायक र कठोर जवाफ दिन तयार छन्’, परिषद्ले भनेको छ।
इरानी नेताहरूले पनि अमेरिकालाई चेतावनी दिएका छन्। आईआरजीसी कमाण्डर मोहम्मद पाकपुरले भने, ‘यदि फेरि हमला गरियो भने हामी इतिहासमा दर्ज हुने गरी जवाफ दिनेछौँ।’
प्रतिक्रिया