काठमाडौं – सन् १९७५ मा बंगलादेशमा सैनिक शासनको अन्त्यपछि केही राजनीतिक बन्दीसँगै ताजुद्दीन अहमदको हत्या गरिएको थियो । रेहान फजल, बीबीसी हिन्दीको रिपोर्टमा आधारित अनुदित सामग्री
२५ मार्च सन् १९७१ मा पाकिस्तानी सेनाले ढाकामा अपरेशन सर्चलाइट सुरु गर्दाताका आवामी लीगका महासचिव ताजुद्दीन अहमत र ढाकाका एक चर्चित अधिवक्ता अमीरुल इस्लाम भूमिगत भएका थिए ।
यी दुवै पाकिस्तानका राष्ट्रिय सभाबाट निर्वाचित सदस्य थिए । यी दुवैले दुई दिन ढाकाको लालमटिया क्षेत्रमा बिताएका थिए । यो स्थान धानमन्डीस्थित रहमानको आवासदेखि धेरै टाढा थिएन ।
त्यसपछि यिनीहरू भारतीय सीमातर्फ अघि बढे । तीन दिनसम्म लगातार पैदल र बयलगाडामा यात्रा गर्दै कुश्तिया जिल्लास्थित उक्त क्षेत्रमा पुगेका थिए । यो क्षेत्र भारतीय सीमानामा रहेको थियो ।

निर्धारित स्थानमा उनीहरूको भेट एक बंगाली अधिकारी तौफीक इलाही चौधरीसँग भयो । ३० मार्चमा चौधरीले सीमा सुरक्षार्थ रहेका सीमा सुरक्षा बल (बीएसएफ) का अधिकारीलाई सन्देश पठाए ।
‘मुजीबका नजिकका मान्छे, अवामी लीगका दुई वरिष्ठ नेता सीमा क्षेत्रनजिक आइपुगेका छन् । यदि उनीहरूको स्वागत सरकारी पाहुनाका रुपमा गर्ने हो भने उनीहरूले भारतीय प्रधानमन्त्रीसँग भेट गर्न चाहान्छन् ।’
बीएसएफका अधिकारीले यो जानकारी आफ्ना आईजी गोलक मजूमदारलाई दिए । मजूमदारले तुरुन्तै यो सूचना दिल्लीस्थित आफ्ना वरिष्ठ अधिकारी के.एफ. रुस्तमजीलाई दिए । उनीहरू त्यहाँ पुग्दा रातको एक बजिसकेको थियो । त्यतिबेलासम्म कोलकाता (त्यस समयको कलकत्ता) का सबै होटल र पसल बन्द भइसकेका थिए ।
रुस्तमजीसँग आकस्मिक यात्राका लागि सदैव कपडाको लगेज तयारी अवस्थामा हुन्थ्यो । उनले त्यसबाट पाइजामा निकालेर पाहुनालाई लगाउन दिए । मजूमदारले अमलेट बनाए । अर्को दिन एक जनालाई कलकत्ताको न्यूमार्केट पठाए ।
त्यहाँबाट ताजुद्दीन अहमद र उनका साथीका लागि रेडिमेड कपडा किनियो । रुस्तमको इच्छा ताजुद्दीनका लागि सबैभन्दा राम्रो कपडा किनियोस् भन्ने थियो । किनभने उनी आफ्नो देशको प्रतिनिधिका रूपमा ताजुद्दीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट गर्न जाँदै थिए । अर्को दिन ताजुद्दीन अहमद, रुस्तमजीका साथ एक विशेष विमानबाट दिल्ली पुगे ।

स्टेट्समेनका पूर्वसांसद मानश घोष आफ्नो किताब ‘बंगलादेश वार रिपोर्ट फ्रम ग्राउन्ड जीरो’ मा लेख्छन्, ‘इन्धिरा गान्धीले ताजुद्दीन अहमदलाई अन्तर्राष्ट्रिय स्वीकृति प्राप्त गर्नका लागि बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मिडियाका अगाडि शपथ लिनुपर्ने छ । र, यो शपथ ग्रहण समारोह यस्तो ठाउँमा होस् जुन बंगलादेशको स्वतन्त्रता सेनानीको नियन्त्रणमा होस् भन्ने सल्लाह दिइन् ।
इन्धिरा गान्धीले त्यहाँ रहेका भारतीय अधिकारी विशेष गरी रुस्तमजीलाई निर्देशन दिइन् – ताजुद्दीन अहमद र उनको प्रस्तावित सरकारलाई सबै आवश्यक सुविधा उपलब्ध गराइयोस् ।
कार्यवहाक प्रधानमन्त्रीका रुपमा सपथ
नादियाजिल्ला स्थित वैद्यनाथताललाई बंगलादेशको अन्तरिम सरकारको सपथग्रहणका लागि स्थान छनोट गरियो ।
१७ अप्रिल सन् १९७१ म कलकत्तामा सबै विदेशी पत्रकारलाई बोलाइयो । र उनीहरूलाई भनियो– तपाईंहरूलाई एक विशेष कार्यक्रमको रिपोर्टिङका लागि एक अज्ञात स्थानमा लगिने छ ।
कलकत्तादेखि झण्डै ६० कारहरूको ताँती वैद्यनाथतालतर्फ प्रस्थान गर्यो । मीनाजपुरदेखि अवामी लीगका सांसद प्रोफेसर यूसुफ अलीले माइकमा घोषणा गरे – बंगलादेश अब एक स्वतन्त्र र स्रम्प्रभु गणराज्य हो ।
उनैले सैयद नजरुल इस्लामलाई कार्यवहाह राष्ट्रपति र ताजुद्दीन अहमदलाई कार्यवहाक प्रधानमन्त्रीका रूपमा शपथ दिलाए ।
अर्को दिन विश्वका प्रमुख अखबारमा यो ऐतिहासिक घटनाको समाचार प्रकाशित भयो ।

अवामी लीगका नेताको असन्तुष्टि
ताजुद्दीन अहमदको जन्म २३ जुलाई सन् १९२५ मा ढाकादेखि ६२ किलोमिटरको दूरीमा रहेको दरदरिया गाउँमा भएको थियो । उनी अवामी लीगका संस्थापक सदस्यमध्ये एक थिए । ताजुद्दीन अहमदलाई अवामी लीगको ‘इन्टेलेक्चुअल पावरहाउस’ बौद्धिक केन्द्र भनिन्थ्यो ।
अर्थशास्त्रका मेधावी छात्र उनी ६० को दशकमा प्राय साइकल चलाएर शहर घुम्ने र सर्वसाधारणसँग भेटिरहेको देखिन्थ्यो । ६ सूत्रीय आन्दोलनमा भाग लिएका कारण उनले तीन वर्षसम्म पाकिस्तानी जेलमा बस्नुपरेको थियो । ताजुद्दीनी अहमद र इन्दिरा गान्धीको ऐतिहासिक भेटलाई अवामी लीगका केहीले मनपराएका थिएनन् ।
मानश घोष आफ्नो पुस्तक मुजीब्स ब्लन्डर्समा लेख्छन्, ‘मुजीबका भतिजा र मुजीब बाहिनीका प्रमुख शेख फजलुल हक मोनीले ताजुद्दीनलाई खुल्लमखुल्ला चुनौती दिँदै प्रश्न गरेका थिए– उनी कुन अधिकारले अवामी लीगका नेताका रूपमा इन्दिरा गान्धीलाई भेट्न गएका थिए ? ताजुद्दीनलाई अपमानित गर्ने उद्देश्यले उनले पार्टीमा ताजुद्दीनका प्रतिद्वन्द्वी मुश्ताक अहमतसँग हात मिलाएका थिए, यद्यपि उनीहरूबीच कुनै वैचारिक समानता थिएन । ’

ताजुद्दीन र मुश्ताकबीच वैमनश्य
सेप्टेम्बर सन् १९७१ मा मुश्ताक अहमद बंगलादेशको प्रतिनिधिमण्डललाई लिएर संयुक्त राष्ट्र जान लागेका बेला ताजुद्दीन अहमदले उनलाई पदबाट हटाएका थिए ।
यसपछि मुश्ताकले उनलाई कहिल्यै माफी दिएनन् । र, यो विषय नै ताजुद्दीनको हत्याको कारण बन्यो । बंगलादेशको स्वतन्त्रताको लडाइँका क्रममा उनी कलकत्ताको एट थियटर रोडस्थित आफ्नो सानो कोठामा बसेका थिए । सामान्य सुकुलमा सुत्थे । उनीसँग थोरै मात्र लत्ताकपडा थिए । जसलाई उनी आफैं धुन्थे ।
ताजुद्दीनका विरुद्ध दुष्प्रचार
१६ डिसेम्बरमा बंगलादेश स्वतन्त्र भयो । त्यसको ६ दिनपछि २२ डिसेम्बरका दिन ताजुद्दीन अहमत आफ्नो मन्त्रीमण्डलका साथ भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ढाका पुगेका थिए ।
विमानस्थलबाट उनको कारलाई ढाकास्थित गभर्न्मेन्ट हाउस लगिएको थियो । ताजुद्दीनको अनुपस्थितिमा उनको धानमन्डीस्थित दुईतले घरलाई पाकिस्तानी सेनाले फुटाएर लुटेको थियो । ताजुद्दीन अहमदले सुरुवाती दिनमा गभर्न्मेन्ट हाउसमा नै रहेर बंगलादेशको शासन चलाएका थिए ।
पार्टीमा शेख मोनी र मुश्ताक अहमद जस्ता उनका प्रतिद्वन्द्वीले ताजुद्दीन बंगलादेशको स्वतन्त्रतापछि निकै महत्वाकांक्षी भए र उनी शेख मुजीब पाकिस्तानी जेलबाट छुटेर फर्किएको देख्न चाहाँदैनन् भन्ने खबर फैलाउन लागेका थिए ।
मानश घोष लेख्छन्, ‘ताजुद्दीन यो दुष्प्रचारबाट यति दुःखी भए कि उनको आँखाबाट आँशु बग्न लाग्यो । उनले आफ्ना नजिकका सहयोगी नूरुल कादेरसँग भने– बंगलादेशको स्वतन्त्रतापछि मेरो मृत्यु भएको भए राम्रो हुनेथियो, मैले यस्तो झुठो कथा सुन्नु त पर्दैनथ्यो । मुजीब भाइसँगको मेरो निष्ठामा प्रश्न उठाइएको छ ।’

मुजीबले ताजुद्दीनसँग भने– प्रधानमन्त्री पद छाड
जब ९ जनवरीमा शेख मुजीब पाकिस्तानी जेलबाट रिहा भएर ढाका पुगे, उनलाई लाखौं व्यक्तिसँगै ताजुद्दीन अहमद पनि उनको स्वागतका लागि विमानस्थलमा उपस्थित थिए ।
उनले मुजीबलाई देख्नेबित्तिकै अङ्कमाल गरे । उनका आँखाबाट आँशु बग्न लागे । शेख मुजीब जतिसक्दो चाँडो बंगलादेशको प्रधानमन्त्रीको पदको जिम्मेवारी लिन चाहान्थे ।
मानश घोष लेख्छन्, ‘जब शेख मुजीबलाई फूलले भरिएको ट्रकबाट विमानस्थलदेखि ढाका शहर ल्याइँदै थियो, उनले ताजुद्दीनका कानमा खुसुक्क भनेका थिए – म प्रधानमन्त्री बन्न चाहान्छु ।’
‘अर्को दिन बिहान उनी लुङ्गी र कुर्ता लगाएर ताजुद्दीनको घर पुगे । ताजुद्दीनलाई मुजीबले प्रधानमन्त्रीको पदको जिम्मेवारी लिने व्यवस्था गर्नू भने । ढाकाको चारैतिर यो परिवर्तनका विषयमा शङ्का उपशङ्काको माहोल थियो । जनता प्रधानमन्त्री परिवर्तनका विषयमा आलोचना गर्न थालेका थिए । जनताले यो हतारोलाई पचाउन सकेका थिएनन् ।’
ताजुद्दीन बने वित्त मन्त्री
ताजुद्दीनले राजीनामा दिन समय लगाएनन् । शेख मुजीबले प्रधानमन्त्रीको जिम्मेवारी लिए । र उनले ताजुद्दीनलाई आफ्नो मन्त्रीमण्डलमा वित्तमन्त्रीको जिम्मेवारी दिए । धेरैले ताजुद्दीनको प्रतिष्ठालाई हेरेर उपप्रधानमन्त्री बनाउलान् भन्ने लख काटेका थिए तर यस्तो भएन ।
वित्तमन्त्रीका रुपमा उनी नयाँ स्वतन्त्र भएको देशलाई पुनर्निर्माणमा जुटे । सन् १९७४ मा उनको अमेरिका यात्रा चर्चामा रह्यो ।
सैयद बदरुल अहसनले आफ्नो पुस्तक ‘ग्लोरी एण्ड डिस्पेयर द पोलिटिक्स अफ ताजुद्दीन अहमद’ मा लेखेका छन्– जब विश्व बैङ्को अध्यक्ष रोबर्ट मेकनामाराले उनीसँग सोधे कि विश्व बैङ्क बंगलादेशको कस्तो आवश्यक्ता पूरा गर्न सक्छ ? तब उनले निशङ्कोच जवाफ दिए– खेती गर्नका लागि गोरु र हलोमा बाँध्नका लागि डोरीको आवश्यक्ता छ ।’
शेख मुजीब र ताजुद्दीनका बीच दूरी बढ्दै गयो । २६ अक्टोबर सन् १९७४ मा बंगलादेशको क्याबिनेट सचिव तौफीक इमाम दुई वटा खाम लिएर ताजुद्दीन अहमदको ढोकामा उभिए ।
मानश घोष लेख्छन्, ‘एउटा खाममा मुजीबको पत्र थियो, जसमा राष्ट्रिय हितलाई मध्यनजर गर्दै तपाईंलाई तुरुन्त राजीनामा दिन अनुरोध गरिन्छ ।’
‘दोस्रो पत्रमा टाइप गरिएको यहाँको त्यागपत्र पठाइएको छ । तपाईंले यसमा हस्ताक्षर गरेर पत्रवाहकलाई दिनुहोला ।’
ताजुद्दीन अहमदले मुस्कुराउँदै उक्त त्यागपत्रमा हस्ताक्षर गरे र क्याबिनेट सचिवलाई पठाइदिए । बंगलादेशमा ताजुद्दीन अहमदलाई जबरजस्ती राजीनामा दिन बाध्य बनाएपछि यसलाई सङ्कटको सङ्केतका रुपमा हेरिएको थियो ।

ताजुद्दीनको गिरफ्तारी
१५ अगस्ट सन् १९७५ मा जब शेख मुजीबुर रहमानको परिवारसमेत हत्या भयो र खोंडकर मुश्ताक अहमद बंगलादेशका नयाँ राष्ट्रप ितबने तब ताजुद्दीन अहमदलाई उनकै घरमा नजरबन्द गरियो ।
जब ताजुद्दीन अहमद, सैयद नजरुल इस्लाम, क्याप्टेन मंसूर अली र ए.एच. कमरुज्जमांले खोंडकर मुश्ताक अहमदको मन्त्रीमण्डलमा रहन अस्वीकार गरे ती सबैलाई ढाका केन्द्रीय कारागार पठाइयो ।
सलिल त्रिपाठी आफ्नो पुस्तक ‘द कर्नल हू वुड नट रिपेन्ट’ मा लेख्छन्– ‘२–३ नोभेम्बर सन् १९७५ को रात जब बंगलादेशमा सैनिक शासन उल्टियो तब बंग भवनदेखि जेलका इन्स्पेक्टर जनरल मोहम्मद नूरुज्जमांकहाँ फोन आयो– सैनिक पोशाकमा केही व्यक्ति ढाका जेलमा आउनेछन्, उनीहरूलाई जेलमा रहेका कैदीकहाँ पठाइदिनू ।’

ताजुद्दीन अहमदको हत्या
केही क्षणमा मोस्लेउद्दीनको नेतृत्वमा कालो कपडा लगाएका सैनिक ढाका जेलमा पुगे ।
सलिल त्रिपाठी लेख्छन्, ‘चार कैदीलाई अन्य कैदीसँग छुट्याइयो । ताजुद्दीन र नजरुल एउटा कोठामा ६ कैदीसँगै बन्द थिए । उनीहरू दुई र मंसूर अली साथै कमरुज्जमांलाई अर्को कोठामा लगियो ।’
‘जेलर अमीनुर रहमानलाई भनियो– कैदीहरूलाई पहिचान गर्नुस् । ताजुद्दीनले सबै कुरा बुझिसकेका थिए । उनले जेलरसँग नमाज पढ्ने अनुमति मागे । जेलरले अनुमति दिए । नमाज पूरा हुनेबित्तिकै क्याप्टेन र उसका साथीहरूले ती चारजनामाथि गोली चलाउन सुरु गरे ।’
अवामी लीगका चारै नेता भुइँमा ढले । यो हत्या जेलभित्र जेल अधिकारीका अगाडि गरिएको थियो । चार जनाको हत्यापछि सैनिक फर्किए । जेल स्टाफले बंग भवनमा फोन गरे – ताजुद्दीन अहमद र क्याप्टेन मंसूर अली जीवित छन् । उनीहरूले पानी माग्दैछन् ।
मानश घोष लेख्छन्– मुश्ताकले सैनिकहरूलाई आदेश दिए– फेरि जेल गएर सुनिश्चित गर । उनीहरू बाँचेका छन् कि छैनन् । आदेशअनुसार सैनिकहरू जेलतर्फ फर्किए । तजुद्दीन र मंसूर अलीलाई मारे ।
प्रतिक्रिया