काठमाडौंबाट फौजी गुहारेर लिम्बू विद्रोह दबाइएको त्यो क्षण | Khabarhub Khabarhub

इतिहास

काठमाडौंबाट फौजी गुहारेर लिम्बू विद्रोह दबाइएको त्यो क्षण

२३४ वर्षअघिको विद्रोहमा ५ सय मारिए



कुन चाहिँले गलत व्याख्या गरिदिएकोले हो, लालमोहरपछि लिम्बूले वि.सं. १८३१ साउनमा गोरखाली राजा पृथ्वीनारायण शाहले लिम्बूलाई सेनकालीन हकभोग उपलब्ध गराउने वाचाबन्धन गरेपछि लिम्बूवानमा पूर्ण रुपमा शान्ति स्थापना भयो भन्ने मान्यताले अधिकांश लिम्बूमा जरोकिलो गाडेजस्तै भएको छ।

विक्रम संवत् १८३१ साउन सुदी १ रोज २ मा लालमोहर पाउने सुन रायको नेतृत्वमा चेम्जोङ, कुम रायको नेतृत्त्वमा आङ्देम्बेहरु र जङ्ग रायको नेतृत्त्वमा इङ्नाम वा इवाहाङ मात्रै त्यो समयमा गोरखालीहरुसँग सम्झौतामार्फत् मिल्न पुगेका थिए। त्यसपछि पनि लिम्बूवानमा पूर्ण रुपमा शान्ति छाउन सकेकै थिएन। भूगोल गोरखालीको कब्जामा परे पनि अधिकांश लिम्बूहरुले गोरखालीको आधिपत्य स्वीकार गर्न सकिरहेका थिएनन्।

राजा पृथ्वीनारायण शाहकै भाकामा त्यो समय विजयपुर आक्रमण हुँदा अधिकांश लिम्बूहरु सिक्किम पलायन भएका थिए। योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १” (२०५५ः६–७) मा पृथ्वीनारायण शाहले विजयपुरको युद्धबारे आफ्ना गुरु योगी भगवन्तनाथलाई लेखेको पत्र प्रकाशमा ल्याएका छन्।

पत्रमा “मध्येश माहाँ कनकाई नदी पहाडमाहा साभा खोलो तमोर नदी को साध लाग्यो. मानिस काट्न पाइयेयन्. भाग्यो कति मोगलाना तिर गयो. कति सुखिम तिर गयो. अरु झार जङ्गलमाहाँ जना ८५ वेसि काटिया…” भन्ने परेको छ। यसबाट सिक्किम पसेका लिम्बूहरु गोरखालीका लागि खतरनाक छँदै थिए भन्ने देखाउँछ।

वि.सं. १८५० सम्म लिम्बूले आफूहरुलाई दुख दिइरहने गरेको र यसमा सिक्किमका मन्त्री छत्रजितको भूमिका रहेको गुनासोसहितको अर्जि त्यसबेला विजयपुरमा गोरखाली हाकिम भएर बसेका सुब्बा पूर्णानन्द उपाध्ययले तात्कालीन राजा रणबहादुर शाहलाई पठाउँदा राजाले लिम्बूलाई पूर्ण रुपमा विश्वास गरिहाल्नु हुँदैन भनी सम्झाएको लालमोहर महेश सी. रेग्मीले “रेग्मी रिसर्च सेरिज” वर्ष ३ अङ्क १२ (सन् १९७१:२७८-७९) प्रकाशित गरेका छन्। यताबाट हेर्दा वि.सं. १८३१ साउनपछि लिम्बूवानमा पूर्ण रुपमा शान्ति स्थापना भएको भन्ने सुगा रटाई भ्रमपूर्ण भएको छर्लङ्ग हुन्छ।

पछि लिम्बूलाई फकाएर आफ्नो पक्षमा ल्याउन दरबारले देवान (मन्त्री) बन्धु रानालाई लिम्बूवानमा खटाउँदा उनीमार्फत् छथरका खेवा र फेदापका लिम्बूहरु वि.सं. १८३७ मा मात्रै गोरखाली धारमा समेटिएका थिए। यस्तै वि.सं. १८३९ मा सेरेङ, लिवाङ, वनेम र खजुमहरुले गोरखाली आधिपत्य स्वीकार गरी सेनहरुले दिए सरहको सुवांगी, नगरा निशान ग्रहण गरेको लालमोहर तथा रुक्काहरु उपलब्ध छन्।

थेवेलगायत १३ जना लिम्बू सुब्बाहरुलाई मिल्न आउन आह्वान गरिएको राजा रणबहादुर शाहका वि.सं. १८४३ को लालमोहर(स्रोतः विरही काइँला)

बन्धु रानाले फकाउँदा चौविसेका गजदल राय गोरखाली पक्षमा नमिलेकोले उनलाई मिल्न आउन रणबहादुर शाहले वि.सं. १८४३ वैशाख वदी ५ रोज ५ मा लेखेको लालमोहर इतिहासकार भगिराज इङ्नामले “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह” (२०७७ :४६–४७)मा प्रकाशित गरेकोलाई पनि राम्ररी नियालेर मात्रै लिम्बूहरुको इतिहाससम्बन्धी धारणा निर्माण गर्न जरुरी छ। लालमोहरमा गजदल रायलाई अन्य लिम्बूहरुलाई पनि गोरखाली पक्षसँग आफूसँगै लिएर आउने आग्रह गरिएको छ।

सिक्किममा पसेर सिमाक्षेत्रमा बसी लुटपिट मच्चाउँने, गोवध गर्ने लिम्बूहरुलाई मिल्न आउन आह्वान गरी रणबहादुर शाहले वि.सं. १८४३ जेठ सुदी २ रोज २ मा १३ जना लिम्बू सुब्बाहरुलाई लेखेको लालमोहर मिरिक निवासी साहित्यकार तथा संस्कृतिविद् विरही काइँलासँग सुरक्षित छ। यो लालमोहर फेन्दुवा, थेवे, साँवा, पालुङ्वा, योङ्यालगायतका लिम्बूहरुको नाममा जारी गरिएबाट ती थर समूहका लिम्बूहरु गोरखाली आधिपत्य स्वीकार नगरी सिक्किम पसेर आफ्नो भूमि फिर्ता गर्न लड्दै भिड्दै रहेको स्पष्ट हुन्छ। लालमोहरमा सिमानामा बसी लुटपिट गरेको भन्ने उल्लेख भएबाट त्यसबेला सिक्किम पसेका लिम्बूहरु आफ्नो स्वायत्तता फिर्ता गर्न छापामार युद्ध लडिरहेका थिए भन्ने सङ्केत गर्छ। पहिले यी थरका लिम्बूहरु आवाद रहेको भूभाग सिक्किम अन्तर्गत नै पथ्र्यो। तर गोरखाली आधिपत्यमा आएपछि सिक्किम क्षेत्रफल खुम्चिएको थियो। त्यहीँ खुम्चिएर पहिलेभन्दा सानो भएको सिक्किममा पस्ने लिम्बूहरुले गोरखालीसँग लड्दै भिड्दै रहेका थिए भन्ने देखिन्छ।

१८४८ को चैनपुरको विद्रोह
वि.सं. १८४८ मा नेपाल र तिब्बतबीच घमासान युद्ध भयो। यस युद्धमा पछि चीन पनि थपियो। त्यसैबेला पूर्वी नेपालमा लिम्बूहरुले पनि आफ्नो गुमेको स्वायत्तता फिर्ता गर्न ठूलै विद्रोहको झण्डा उठाएका थिए। उसबखत पूर्वमा तराई क्षेत्रको प्रशासन विजयपुरबाट चल्ने गरेको थियो भने पहाडी क्षेत्रको प्रशासन चैनपुरबाट चल्थ्यो। लेप्चा र सिक्किमीको साथमा लिम्बूहरुले केही दिन पुरै चैनपुर कब्जा गरी गोरखाली पक्षधरहरुलाई अरुण पारी कटाएका थिए।

लिम्बूहरुले विद्रोह गरेको घटनाका बारेमा तात्कालीन राजा रणबहादुर शाहको भाकाअनुसार पनि त्यसबेला विद्रोहीको सङ्ख्या ५–७ हजार थियो। विद्रोह दमनपछि खुसियाली साट्न रणबहादुर शाहले जाजरकोटी राजा गजेन्द्र शाहलाई वि.सं. १८४८ चैत सुदी २ रोज ७ मा पठाएको पत्र योगी (२०५५:११-१२)ले प्रकाशित गरेका छन्। पत्रमा “सुषिम चयनपुरमा चिनिया भोट्या स्मेत् आई लिम्वुवान लापच्या लाई भित्र संच षर्चदी कमाई कुलगरि चयनपुरको गढीसमेत् १।२ जग्गा लियोथ्यो ५।७ हजार वैरी आयाका रहेछ” भन्ने उल्लेख भएकोले त्यसबेला विद्रोहको सङ्ख्या निक्कै ठूलो थियो भन्ने स्पष्ट हुन्छ। सोही पत्रअनुसार त्यसबेला विजयपुरमा गोरखाली हाकिम भएर बसेका सुब्बा पूर्णानन्द उपाध्याय दुई कम्पनी लिएर विद्रोह दबाउन चैनपुर पुगेका थिए।

विद्रोहीले सिद्धपोखरीमा पनि आक्रमण गरेका थिए। सुब्बा पूर्णानन्द उपाध्यायले आफ्ना मातहतका सात सयजति सैनिक चैनपुरमा उतारेका थिए। त्यसबेला पाँच सय विद्रोहीको हत्या भयो। तर, त्यहाँ युद्ध थामिएको थिएन । सिद्धपोखरीमा किल्ला बाँधेर बसेका लिम्बू, तिब्बती, सिक्किमी र लेप्चाहरूको विद्रोह दबाउन काठमाडौँबाट काजी देवदत्त थापाको नेतृत्वमा ठूलै सैन्यशक्ति त्यसतर्फ परिचालन गरियो । उनीहरुले विभिन्न ठाउँबाट घेरा दिई सात सयजति लिम्बू, तिब्बती, सिक्किमी र लेप्चालाई मारे । यसमा दुईजना तिब्बती सेना नायक पनि परेको बाबुराम आचार्यले “चीन तिब्बत र नेपाल” (२०५९ः१५०–५१)मा उल्लेख गरेका छन्।

विद्रोहलगात्तै वनेम लिम्बूहरुको सुवांगी थामिदिएको वि.सं. १८४८ को रुक्का (स्रोतः टङ्क वनेम)।

सुरुमा पूर्णानन्द उपाध्याय विद्रोह दमन गर्न असफल भएपछि राजधानी काठमाडौंबाट थप सैन्य बल मगाइएको थियो। पुरातत्व विभागको मुखपत्र “प्राचीन नेपाल”को संख्या २४ (साउन २०३०:२) मा यस विद्रोहबारे उल्लेख भएअनुसार विद्रोह दबाउन गोरखाली सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदलले सैन्य शक्ति परिचालन गरेका थिए। तर विद्रोहीको संख्या ठूलो छ भन्ने अर्जी आएपछि काठमाडौंबाट काजी देवदत्त थापा, सरदार प्रतिमन राना, सुब्बा निधिरत्न, कोसल आले, श्रीनाथका सुवेदार वक्ताबरसिंह बस्नेत, पुराना गोरखका सुबेदार अम्भोज खवास, बरखका सुवेदार अम्वरसिंह थापा र रणभीमका सुवेदार दशरथ खत्रीलाई विद्रोह दमनका लागि त्यसतर्फ खटाइएको थियो। काठमाडौंबाट पुगेको ठूलो सैन्य दलबाट मात्रै विद्रोह दमन गर्न सम्भव भएको थियो।
यो विद्रोहमा राज्यपक्ष कति मारिए यस स्पष्ट हुने ऐतिहासिक सामग्री उपलब्ध नभएकोले यसै भन्न सकिने अवस्था छैन। तर विद्रोही पक्षका एक हजार दुई सय जनाको ज्यान गएको सरकारी अभिलेखहरुले नै पुष्टि गरेको छ।

यो विद्रोह दमनका लागि चैनपुर पुगेका गोरखाली भारदार बख्तावरसिंह बन्स्यात पछि केही समय त्यहाँको हाकिम भएर बसेका थिए। त्यहाँ बस्दा उनले हिटी चौतारा, पाटीपौवा तथा बगैँचाहरु निर्माण गरेका थिए। यसबारे प्रशस्तै ऐतिहासिक पत्रहरु उपलब्ध छन्। उनले बनाएको पाटी अझै छ।

पछि उनको गाथा गाउँदै उनका सन्ततिहरुले पाटीमा राखेको शिलालेखमा वि.सं. १८४८ मा लिम्बूहरुले गरेको विद्रोह र यसको दमनबारे उल्लेख गरिएको छ। डा. सोमप्रसाद खतिवडाले “अभिलेख” पूर्णाङ्क ३१ (२०७०:२४–२५) मा उल्लेख गरेअनुसार शिलालेखमा “सम्वत् १८४८ सालमा पूर्व देसका पल्लो किरातमा : वैरिले कुल गर्दा १ सर्दार कहर सिंह बस्न्यातका कान्छा छोरा बषतबार सिंह बस्न्यातलाई कुंपनि लि र्ग कुल ग-यो वैरीलाई मारी तेस मुलुकको वन्दोवस्त गरी आ : भनी हुकुमगरी वक्संदा प्रभुको हुकुम सिर चह«इ कंपनि लिगै सिधिपुरमा वैरिसँग लडाञी ग-याः लडाइँ जितुम भने कुल गन्र्या बैरी जोजो हुन् तिनलाई मारी मुलुकको वन्दोवस्त गरी आनन्द पुर्वक वस्याका थिया” भन्ने परेको छ।

यो शिलालेख बख्तावरसिंह बस्न्यातका सन्ततिले आफ्ना पुर्खाको गाथा गाउँदै खोपाएको यो शिलालेख वि.सं. १९०२ यहाँ स्थापना गरेका हुन् (खतिवडा, २०७०:२५)।

मुर्दा बनाएर हतियार ओसारपसार
यो विद्रोह दबाउन गोरखाली पक्षले बल मात्रै होइन छल पनि प्रयोग गरेको थियो। यस्तो छलकपटबारे इतिहासकार रमेशकुमार ढुङ्गेलले “प्राचीन नेपाल” (भदौ-असोज २०४६:१०–११)मा बडो गजबले उल्लेख गरेका छन्। ढुङ्गेलका अनुसार गोरखाली पक्षधरहरुलाई विद्रोहीहरुले अरुण नदी कटाएका थिए। तर उनीहरुले विद्रोहीसँग कुरा मिलाई गोरखा पक्षका मानिस मरेमा चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी बहाना पारी त्यसका निम्ति भोटे र सिक्किमी सेनासँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै चैनपुरको वनभित्र गाड्ने चलाखी गरे। विजयपुर र काठमाडौं केन्द्रसमेतका सैनिक सहयोग गर्न आएपछि उक्त हातहतियारको प्रयोग गरेर विद्रोहीहरूलाई परास्त गरियो । यस्तो भूमिका निर्वाह गर्ने क्षेत्री बाहुनहरूमा आशा खत्री, मनोहर डागी, बालु ढकाल र विश्राम राउत थिए। तीमध्ये आशा र मनोहरले केही सुविधा र अधिकारसमेत पाए।

विद्रोह कहिले भएको थियो ?
यो विद्रोह वि.सं. १८४८ मा भएको थियो भन्ने स्पष्ट छ। तर कुन महिनामा भएको थियो ? यसको प्रष्ट जवाफ चाहिँ प्रमाणप्रमेय यस लेखमा प्रस्तुत गरिएको छ।

इतिहास शिरोमणि आचार्यले “पूर्णिमा”को पूर्णाङक ६३ (चैत्र २०४१:१३) मा उल्लेख गरेअनुसार तिब्बत र चीनसँगको युद्धका क्रममा गोरखालीहरूले डिगर्चाका मठहरू लुटेपछि भोटका लामा र चीनका अम्बाहरूले डिगर्चाबाट फर्किएका गोरखाली सेनाको संहारका लागि सिक्किमलाई गुहारे। सिक्किमका सेनापति युक्सथुकले भोटिया र लेप्चा सेना जम्मा गरी सिद्धपुर (चैनपुर) ल्याइपु-याए। उनीहरूसँग त्यहाँका याक्थुङ्वा (लिम्बू) पनि मिले। यो देखेर तिब्बतको टिंग्रीबाट फर्किएका गोरखाली सरदार बदलसिंह बस्न्यातको सैन्य समूह र पूर्णानन्द उपाध्यायको सैन्य समूह मिलेर आक्रमण गर्दा पाँच सयजति शत्रु सेना फेब्रुअरी अर्थात् फागुन महिनामा मारिए। त्यसपछि युक्सथुकले आफ्ना सेनालाई बडो होसियारीपूर्वक विकट भेगको सिद्धपोखरीमा पु-याए। त्यहाँ काठमाडौंबाट पुगेको देवदत्त थापाको नेतृत्वमा रहेको गोरखाली सेनाले आक्रमण गरिदिँदा सेनापति युक्सथुकसहित ६ सय विद्रोही मार्च अर्थात् चैत महिनामा मारिए भन्ने आचार्यले उल्लेख गरेका छन्।

वि.सं. १८४८ को लिम्बू विद्रोह उल्लेख भएको चैनपुरको मेजर पाटीको शिलालेख (स्रोतः अर्जुनबाबु माबुहाङ)।

आचार्यको दावीअनुसार यो विद्रोह वि.सं. १८४८ को फागुन र चैतमा भएको हो । आचार्यले आफ्नो यस्तो दावीमा कुनै स्रोत भने खुलाएका छैनन्। उनको यो दावी गलत छ।

चैनपुरमा लिम्बूहरूले गरेको यो भयानक विद्रोह दबाइएपछि यहाँका लिम्बू सुब्बालाई थमौती गरिदिएका रुक्काहरू गोरखाली राजा तथा काजीबाट जारी गरिए। यस विद्रोहलाई पुष्टि गर्ने केही रुक्काको व्यहोरा यहाँ प्रस्तुत गरिएको छ। यी रुक्काहरू यो लेखकले लिम्बू इतिहास र संस्कृतिविद् साहित्यकार टंक वनेमबाट प्राप्त गरेको हो।

विद्रोहलगात्तै मैवाखोला थुमका लिम्बू सुब्बा सिर्देउ रायको नाममा रणबहादुर शाहले एक रुक्का जारी गरी विद्रोह गरे पनि कुनै दण्ड जरिवाना नगरिने र अघि गरिएका मोहरअनुसार किपट थमौति गर्ने गरी आश्वस्त तुल्याएका थिए। वि.सं. १८४८ भाद्र बदी २ रोज २ मा जारी रुक्कामा ‘…तिमीहरूले अघि सिक्किमसित मिली कुल गरे पनि हारेउ सुवाहरूले डंड लिया कुल गरेको ससना ग-याको छैन येस साल फिरि पूर्वतिर काज आघ्वि सवै लीम्वुको नाउमा मोहर जान्छ…’ भन्ने ब्यहोरा परेको छ। सिर्देउ रायकै नाममा विद्रोहको चार वर्षपछि वि.सं. १८५२ भदौ सुदी ७ रोज ६मा अर्को रुक्का जारी गरेर विद्रोहका समयमा भागेका लिम्बूहरुलाई बोलाएर बस्ती बसाउने आदेश पनि राजा रणबहादुर शाहले दिएका थिए। रुक्कामा
‘…सिर्देउराईके. तेरो वावु. वराज्युका पालादेषिको किपटजिमिन. तेरा भाई विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागि. ठडियाका. प्रजा. थामिबक्स्यौं. भोट. मधेश गयाका. झिकि. बस्ति बसाई. भोग्य गर…’ भन्ने परेको छ।

विद्रोहलगात्तै वि.सं. १८४८ भदौ सुदी ३ रोज ४मा काजी श्रीकृष्ण शाहले पनि सिर्देउ राय र जयकर्ण रायको नाममा ‘…तेरो पिछा हामीले लियाको छ मेरो बन्याको दिन तेरो ज्या विग्य्राको छ म बनाइदिऊँला षातिर्जामा बस…’ भन्ने उल्लेख गरी एक रुक्का जारी गरिदिएका थिए।

रुक्का पाउने सिर्देउ र जयकर्ण वि.सं. १८३९मा गोरखालीसँग मिल्ने मैवाखोलाका फागो वनेम लिम्बू हुन्। त्यसबेला गोरखालीसँग मिले पनि वि.सं. १८४८ को विद्रोहमा उनीहरु सामेल भएका थिए भन्ने प्रमाण उनीहरुले पाएको रुक्काहरुले स्पष्ट पार्छ।

यी ऐतिहासिक तथ्यबाट इतिहास शिरोमणि आचार्यले भनेजस्तो वि.सं. १८४८ को फागुन चैतमा नभई यो विद्रोह सोही वर्षको भदौ महिनाअघि भएको थियो भन्ने ऐतिहासिक स्रोतबाट प्रमाणित हुन्छ।

विद्रोहमा मेन्याङ्वो र थेवेहरु
उक्त विद्रोहमा चैनपुरनजिकैको ताप्लेजुङको पश्चिमी क्षेत्र मैवाखोलाका फागो वनेमहरु मात्र नभई पूर्वी क्षेत्र सिकैचाका मेन्याङ्बो तथा सिनामका थेवे लिम्बूहरु पनि संलग्न थिए। विद्रोहमा सामेल भएको चार वर्षपछि उनीहरुलाई किपट थामिदिएको पत्रको प्रतिलिपी इतिहास तथा संस्कृतिविद् भागवतनरसिंह प्रधान (काठमाडौँ)बाट यो लेखकले प्राप्त गरेको छ। वि.सं. १८५२ असोज वदी १३ मालाखानन्द मेन्याङ्वो र सिरिउन्दा थेवेको नाममा जारी मोहरले उनीहरु वि.सं. १८४८ को विद्रोहमा सक्रिय भएको स्पष्ट पार्छ।

उक्त मोहरको ब्यहोरा यस्तो छः
आगे मेयाङ्वु लाषानन्द राई थेवे सिरिर्उन्दा राईको थावा सामम्या हिलिफाया होङवुक्ताम्माके चीनिञा आर्उदा. मिचिमा परिकुल गर्नामा पस्यौ र. काटियौ मासियौ तेस दिन कुल ग-याको. गन्र्या सासना गरि हिजै माफ वक्स्याको छ. तिम्रा वावु वराजुदेषि षाई आयाको. पगरि जिमिजगा भाई विरादर प्रजा अघि पनि मोहर वक्स्याको हो आज पनि तसै वमोजिम. तिम्रो जिमि जगा भाई विरादर प्रजा. सुव्वाई पगरि सुवा मान्नु गरि वाहाली थामि वक्स्यौ वावन सालमा लिम्वुहरुलाई लाग्याकी रिति. तिरि आपु जीमि जगाको भोग्य गर लाग्याको टहलमा सोझो भै रुजु रह मीति आश्विन वदी १३ रोज।

विद्रोहको चार वर्षपछि मेन्याङ्वो र थेवे लिम्बूहरुको सुवांगी थामिदिएको वि.सं. १८५२ को मोहर (स्रोतः भागवतनरसिंह प्रधान)

वि.सं. १८३१ मा लिम्बूवानमा गोरखाली आधिपत्य हुनुअघि थुम थुममा स्वायत्त रहेका लिम्बू हाङ (सुब्बा)हरुमध्ये कतिपयले सिक्किमलाई र कतिपयले विजयपुरलाई केन्द्र सरकार मान्थे। हालः पाँचथर जिल्लामा पर्ने स्याबरुम्वा त्यसबेला सिक्किम राज्यअन्तर्गत पथ्र्यो (इमानसिंह चेम्जोङ, “किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास”-२०५९:६७)। यस्तै हाल मैवाखोला गाउँपालिका भित्र रहेको साविकको फाकुम्बा गाउँको संलुप्पा पनि गोरखालीहरुको आधिपत्यअघि सिक्किममा राज्यमा पथ्र्यो भन्ने प्रमाण “प्राचीन नेपाल”सङ्ख्या ९० (कात्तिक मंसिर २०४२:३१) मा प्रकाशित राजा गीर्वाणयुद्धविक्रम शाहकालिन एक मोहरले स्पष्ट पार्छ। मिंहित रायलाई गरिदिएको वि.सं. १८६९ वैशाख सुदी ५ को मोहरमा ‘… तेरा वावु वराजु देषि षाई विहोरी आयाको किपटजिमिन संलुप्पा तस्को साँध सुवेलं ढुङ्गो देषि पुर्व लाया रुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्न पारि भिन्ना पारि सुवाँगि गरिदियाको रहेछ हाम्रा प्रतापले मिच्यापछि–१ वाट पनि मोहर गरि भिन्न सुवांगि थामि वक्सनु भयाको रहेछ आज हामीले पनि फागुको अलाक गरी सुषिंमले दियाको वमोजिम सुवागी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं…’ भन्ने परेको छ।

यसरी सिक्किमले दिएको अनुसार नै मिंहित रायको सुवांगी थामिदिएको प्रङ्ग परेको संलुप्पा फाकुम्बा गाउँमा पर्छ। त्यहाँ नेयोङ लिम्बूहरुको मुख्य आवादी रहेको छ।

त्यसबेला खासगरी तमोर नदीदेखि पूर्वका आङ्देम्बे र नेम्वाङहरुले विजयपुरलाई केन्द्र सरकार मान्ने गरेको ऐतिहासिक पत्रहरु उपलब्ध छन्। खासगरी पाँचथर र ताप्लेजुङको पूर्वी क्षेत्र र इलामका पुरै लिम्बूहरुले सिक्किमलाई केन्द्र सरकार मान्थे।

त्यसबेला थेवे र मेन्याङ्वोहरुले पनि सिक्किमलाई नै केन्द्र सरकार मान्थे। सिक्किम पसेका लिम्बूहरुलाई वि.सं. १८४३ मा राजा रणबहादुर शाहले आफ्नो थातथलोमा फर्केर आउने आह्वान गर्दा थेवेहरु पनि परेको प्रसङ्ग माथि परिसकेको छ। पहिले सेनहरुलाई केन्द्र सरकार मान्ने वनेम लिम्बूहरु र सिक्किमलाई केन्द्र सरकार मान्ने मेन्याङ्वो र थेवे लिम्बूहरु विद्रोहमा सामेल भएको स्पष्ट देखिएको छ।

तर गोरखाली आधिपत्यअघि विजयपुरका सेन राजासँग मात्रै आफूहरुको निकटता र बफादारिता थियो भन्ने जो जो लिम्बूहरुमा जरोकिलो गाडिएजस्तै धारणा स्थापित भएको छ, त्यो एउटा ठूलो भ्रमबाहेक केही होइन।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ११ : ०९ बजे

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्

‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’

लेखनाथ– गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन

पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजेका लागि पत्रकार

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ