काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधारका लागि महत्वाकाङ्क्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सात नीति अन्तर्गत ८८ कार्यक्रम समेटेर बोर्डले यो आर्थिक वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेका हो ।
देशको धितोपत्र र बस्तु विनिमय बजारको नियामकले सार्वजनिक गरेको वार्षिक कार्यक्रम तत्कालका लागि शेयरमा लगानी गरेकाहरू र दीर्घकालका लागि बस्तु विनिमय बजार (कमोडिटी मार्केट) मा लगानी अवसर कुरिरहेकाहरूका लागि विशेष चासोको विषय हो ।
बोर्डले सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयनबाट नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने, लगानीकर्ताको संरक्षण गर्ने, बजारमा पारदर्शीता ल्याउने र नयाँ धितोपत्र औजारहरूको विकास गर्ने लक्ष्य राखेको छ ।
सूचना–प्रविधिको प्रयोग बढाएर बजारलाई आधुनिक बनाउने र लगानीकर्ताहरूमा वित्तीय साक्षरता बढाउन पनि बोर्डले जोड दिएको छ ।
अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानुनी व्यवस्था
बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी कानुनी व्यवस्थालाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्डको अनुरूप बनाउने जनाएको छ ।
यसअन्तर्गत धितोपत्रसम्बन्धी ऐन, २०६३ र वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ अन्तर्गतका नियमावली र निर्देशिकाहरूमा समसामयिक परिमार्जन र सुधार कार्य अगाडि बढाउने लक्ष्य छ ।
सामूहिक लगानी कोष नियमावली, २०६७, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लाई समयानुकूल संशोधन गर्ने कार्यक्रम बोर्डले अघि सारेको छ । यसका साथै धितोपत्र बजार सञ्चालन नियमावलीमा संशोधन गरी धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजीमा एकरूपता कायम गर्ने र प्राथमिक निष्काशनको व्यवस्था गर्ने बोर्डको लक्ष्य छ ।
क्रेडिट रेटिङ्ग नियमावली, २०६८ मा आवश्यक संशोधन गरिने र वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्योट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरू तर्जुमा गर्ने बोर्डको वार्षिक कार्यक्रममा उल्लेख छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा प्राथमिक सेयर निष्काशनमा सुधार र सूचीकृत सङ्गठित संस्थाको लेखापरीक्षकको योग्यता तोक्ने विषयहरू समेटी संशोधन गर्ने योजना बोर्डले अघि सारेको छ ।
निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पु¥याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रकृया सरलीकरण गरिने बोर्डले ल्याएको कार्यक्रममा उल्लेख छ ।
गैर आवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था मिलाउने पनि बोर्डले जनाएको छ ।
संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा जोड
बोर्डले धितोपत्र बजारसम्बन्धी सेवा प्रदायकको संस्थागत सुधार तथा क्षमता अभिवृद्धिमा जोड दिएको छ ।
बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत पुनः संरचनामा सहजीकरण गर्ने बोर्डको लक्ष्य छ ।
पुँजी बजार विकास तथा सुधारसम्बन्धी विषयमा बोर्ड, नेपाल सरकार, अर्थ मन्त्रालय एवम् वित्तीय क्षेत्रका अन्य नियामक निकायहरूबीचको कार्यगत समन्वय तथा सहकार्यको संयन्त्र विकास गर्ने बोर्डले जनाएको छ ।
बोर्डको कामकारबाही र बजारको विकास तथा सुधार कार्यलाई योजनाबद्ध तथा प्रभावकारी बनाउन चार वर्षीय रणनीतिक योजना २०८२/८३–२०८५/८६ तर्जुमा गरी कार्यान्वयनमा ल्याउने पनि बोर्डले जानकारी दिएको छ ।
बोर्डको संस्थागत सुदृढीकरण गर्ने, बोर्डको कार्यालयको लागि घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने, बोर्डबाट प्रदान गरिने सेवाहरू इलेक्ट्रोनिक वा अनलाइन माध्यमबाट छिटो छरितो रूपमा दिने बोर्डले बताएको छ ।
बजारको प्रभावकारी नियमन र सुपरिवेक्षण
धितोपत्र बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गरी बजारमा हुन सक्ने कानून विपरीतका गतिविधि तथा अभ्यासलाई कम गरी कसूरदारलाई कारबाहीको दायरामा ल्याइने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलेन्स गरिने बोर्डले जनाएको छ ।
सूचक संस्थालाई सम्पत्ति शुद्धीकरण, आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण तथा लक्षित वित्तीय कारबाहीसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिने बोर्डको योजना रहेको छ । धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत अनुगमन गर्ने चालु आर्थिक वर्षको बोर्डको योजना रहेको छ ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) र क्रेडिट रेटिंग कम्पनीहरूमा समेत कम्तिमा १५ प्रतिशतको स्थलगत अनुगमन गर्ने बोर्डको योजना रहेको छ । बोर्डमा दर्ता सामूहिक लगानी कोष व्यवस्थापक तथा विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरूको पनि १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गरिने बोर्डले सार्वजनिक गरेको छ ।
सरकारी ऋणपत्र दोस्रो बजारमा कारोबार
पुँजी बजारको विस्तारका लागि क्षेत्रगत तथा औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको विकास तथा विस्तार गर्न सहजीकरण गरिने बोर्डले बताएको छ । सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण विकास गरिने बोर्डले आफ्नो कार्यक्रममा समावे गरेको छ । सरकारी संस्थानहरूमा सरकारले ऋणपत्र मार्फत लगानीको लागि वित्तीय साधन परिचालन गर्ने सहजीकरण गरिने बोर्डले जनाएको छ ।
धितोपत्र कारोबारको लागि धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन गरी सुधार गरिने बोर्डले कार्यक्रममा समावेश गरेको छ । इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ्गसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्ने बोर्डको योजना छ ।
अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिटभ्स् औजारहरूको सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने, इक्यूटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गर्ने बोर्डको भनाइ छ ।
लगानीकर्ता हित संरक्षणमा विशेष ध्यान
बोर्डले लगानीकर्ता हित संरक्षणमा विशेष ध्यान दिएको छ । धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवद्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाइने बोर्डले बताएको छ । मर्चेण्ट बैङ्कर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत सङ्गठित संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गरिने बोर्डको भनाइ छ ।
जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गरिने बोर्डको भनाइ छ । दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने बोर्डको भनाइ छ । लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक समन्वयात्मक कार्य गरिने बोर्डको भनाइ छ ।
धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण व्याकअपको प्रभावकारी व्यवस्था भए नभएकोसम्बन्धी अनुगमनको व्यवस्था गर्ने बोर्डले जानकारी दिएको छ ।
सूचना–प्रविधि पूर्वाधारको आधुनिकीकरण
बोर्डले सूचना प्रवधिलाई आधुनिकीकरण गर्ने भएको छ । धितोपत्र बजारमा सूचना–प्रविधिका पूर्वाधारको विकास गर्दै यसको प्रयोगलाई स्तरीय, प्रभावकारी र गतिशिल बनाउने बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
पुँजी बजारमा प्रयोग हुने सूचना–प्रविधिको प्रयोग अन्तर्राष्ट्रिय सिद्धान्त तथा स्तरको हुने गरी गुणस्तरिय र विश्वसनिय बनाउन आवश्यक अध्ययन गर्ने बोर्डको योजना रहेको छ ।
बजारमा सूचना–प्रविधिको व्यवस्थित एवम् सुरक्षित प्रयोग र स्तरीयता अभिवृद्धि गर्न जोखिम न्यूनीकरण तथा साइबर सुरक्षा सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र व्यवसायीका लागि सचेतना तथा अभिमुखीकरणसम्बन्धी कार्यक्रम गर्ने समेत बोर्डको याजना हरकेो छ ।
बोर्डको वेभसाइटलाई समयानुकुल परिष्कृत गरी अझ व्यवस्थित र सूचनामूलक बनाउने, बोर्डमा मौजुदा तथ्याङ्ग एंव जानकारीहरूको प्रभावकारी तरिकाले दिने बोर्डले सर्वजनिक गरेको कार्यक्रममा उल्लेख छ ।
वित्तीय साक्षरता र क्षमता विकासमा निरन्तरता
बोर्डले वित्तीय साक्षरता र क्षमता विकासमा समेत जोड दिने कार्यक्रममा उल्लेख गरेको छ । बजारसम्बन्धी अध्ययन÷अनुसन्धान गर्नुका साथै लगानीकर्ताको सशक्तिकरण गर्न देशव्यापीरुपमा पुँजी बजारसम्बन्धी शिक्षा, सचेतना तथा साक्षरता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जानकारी गराएको छ ।
विशिष्टीकृत लगानी कोषको हालको अवस्था, सुधारको क्षेत्र, अन्तर्राष्ट्रिय असल अभ्यास, भावी कार्यदिशा लगायतका विषयमा अध्ययन गर्ने बोर्डको भनाइ छ ।
पुँजी बजारसम्बन्धी समसामयिक विषय शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने बोर्डको योजना छ । साथै, बजार तथा वस्तु विनिमय बजारसँग आवश्यकता अनुसार सम्बन्धित शिक्षा, सचेतना, साक्षरता एवम् क्षमता अभिवृद्धिको लागि विषय विज्ञ, विश्वविद्यालय, शोध तथा अनुसन्धान केन्द्र, धितोपत्रसम्बन्धी अन्तर्राष्ट्रिय नियामकका तालिम प्रतिष्ठानसँग सहकार्य गरी पाठ्यक्रम विकास र तालिम, छलफल तथा अन्तरक्रिया कार्यक्रम संचलन गर्न आवश्यक अध्ययन÷अनुसन्धान गरिने बोर्डले सर्वजनि गरेको कार्यक्रममा उल्लेख छ ।
नेपाल उद्योग वाणिज्य महासंघसंगको सहकार्यमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमा भित्र्याउन सहजीकरण कार्यक्रमहरू सञ्चालन गर्ने बोर्डको योजना रहेको छ ।
धितोपत्र बजारका लगानीकर्ता, विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणलाई धितोपत्र बजार सम्बन्धमा सुसुचित गर्न बोर्ड स्वयं वा बजारसम्बद्ध संस्थाहरू तथा वित्तीय क्षेत्रका नियामकहरूसँगको सहकार्यमा देशव्यापी रुपमा धितोपत्र बजारसम्बन्धी शिक्षा, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन ल्याउने बोर्डको भनाइ छ ।
विश्व लगानीकर्ता सप्ताह र विश्व वित्तीय सप्ताह अन्तर्गत बालबालिका तथा युवा लगायत धितोपत्र बजारका लगानीकर्ता एवम् अन्य सर्वसाधारणहरूलाई देशव्यापी रूपमा सेमिनार, साक्षरता अभिवृद्धि प्रशिक्षण, रेडियो, टि.भी. कार्यक्रम एवम् हाजिरी जवाफ तथा निबन्ध प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गर्ने बोर्डले जानकारी दिएको छ ।
नियमित सेवा प्रवाहमा निरन्तरता
बोर्डले आफ्ना नियमित कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
जसमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम धितोपत्र बजार, वस्तु विनिमय बजार, केन्द्रीय निक्षेप सेवा, धितोपत्र व्यापारी, धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, निक्षेप सदस्य, आस्वा सदस्य, क्रेडिट रेटिङ संस्था, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, सामुहिक लगानी कोष सुपरीवेक्षक, योग्य संस्थागत लगानीकर्ता लगायत धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र, दर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्ने लगायतको काम हुने उल्लेख छ ।
यस्तो छ बोर्डको वार्षिक नीति तथा कार्यक्रमः
प्रतिक्रिया