काठमाडौँ – न्यूरोड (नयाँसडक) लाई सङ्घीय राजधानी काठमाडौँको व्यापारिक मुटु मानिन्छ । व्यवसायका हकमा यति संवेदनशील स्थानमा व्यापार गर्नेले उपभोक्तालाई जिम्मेवार व्यवसायिक विश्वास दिलाउनुपर्ने हो ।
तर, त्यही व्यापारिक मुटुमा ल्यापटप किन्दा मास्टर्स पढिरहेका एक विद्यार्थीले आफू नराम्ररी ठगिएको उल्लेख गर्दै उपभोक्ता अदालतको ढोका ढक्ढक्याएका छन् ।
एक लाख ४० हजार रुपैयाँ तिरेर ल्यापटप किनेका ती विद्यार्थीले आफ्नो उपभोक्ता अधिकार हनन गरिएको भन्दै बिक्रेताबाट सात लाख २० हजार ५०० रुपैयाँ क्षतिपूर्ति मागदावी गरेका हुन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८, ओमनगर स्थायी घर भइ हाल काठमाडौँको कोटेश्वरमा डेरा गरी बस्ने अनिशकुमार गिरीले सिटी कम्प्युटर सिस्टम, न्यूरोड काठमाडौँविरुद्ध उपभोक्ता अदालतमा गएको असार १८ गते ‘क्षतिपूर्ति भराइ पाऊँ’ भनी मुद्दा दायर गरेका छन् ।
प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्रका स्नातकोत्तर विद्यार्थी गिरीले शैक्षिक प्रयोजनकै लागि वि.सं. २०७८ चैत १४ गते सिटी कम्प्युटर सिस्टमबाट एप्पल कम्पनी उत्पादित म्याकबुक एअर एमवन मोडलको ल्यापटप खरिद गरेका थिए ।
उक्त ल्यापटप बिक्री गरेबापत सिटी कम्प्युटर सिस्टमले आफूबाट मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक लाख ४० हजार ५०० रुपैयाँ लिएको गिरीले फिरादपत्रमा जनाएका छन् ।
गिरीका अनुसार; किनेको तीन वर्षपछि गत वैशाख ५ गते उक्त म्याकबुकको आइक्लाउड लक भयो । आइक्लाउड एप्पलको क्लाउड सेवा हो, जहाँ डिभाइस प्रयोगकर्ताले फोटो, फाइल, नोट, पासवर्ड र अन्य डेटा क्लाउडमा सुरक्षित रूपमा भण्डारण गर्छन् ।
आइक्लाउड लक भएपछि गिरीले बिक्रेता सिटी कम्प्युटर सिस्टममा गुनासो गरे । किनकि एप्पलको उक्त ल्यापटप गिरीले सोही कम्पनीबाट खरिद गरेका थिए । ल्यापटप बनाइदिन वा सट्टा भर्ना गरिदिन उनी बिक्रेताकहाँ धाए ।
तर, बिक्रेताले भाका सार्दै झुलाएपछि गिरी आफैँले सिङ्गापुरस्थित केस आइ.डी मा गुनासो राखे । एप्पल कम्पनीले सिटी कम्प्युटर सिस्टम आफ्ना उत्पादनको आधिकारिक बिक्रेता नभएको बताइदियो । साथै, सिटी कम्प्युटर सिस्टमले ल्यापटप खरिद गरेबापत दिएको बिलसमेत आधिकारिक नभएकाले एप्पलले ग्रहण गर्न मानेन ।
महँगो रकम तिरेर किनेको ल्यापटप सम्बन्धित बिक्रेता र कम्पनीबाट ‘पार नलाग्ने’ भएपछि मुद्दा बोकेर उपभोक्ता अदालत पुगेका हुन् ।

अदालतमा चढाएको फिरादपत्रमा लेखिएको छ, ‘विपक्षी (ल्यापटप बिक्रेता सिटी कम्प्युटर सिस्टम) को व्यवहार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप भएको, दफा ६ को छ र ज बमोजिमको प्रकृया पूरा नभएको साथै विपक्षीले दफा ७ बमोजिमको बिक्रेताको दायित्व पूरा नगर्नुको साथै दफा ९ को घ बमोजिम वस्तुको बिबरण समेत उपलब्ध गराउन नसकी मलाई आर्थिक, सामाजिक, मानसिक, भौतिक क्षति पुर्याउनुभएको हुँदा ऐनको दफा ५०, ५१, ५२ बमोजिम क्षतिपूर्ति दिलाई भराई पाउन सम्मानित अदालत समक्ष यो निवेदन सहित प्रस्तुत भएको छु ।’
ल्यापटप बेच्दा बिक्रेताले आफूलाई ‘एप्पल कम्प्युटरको आधिकारिक बिक्रेता हुँ’ भनेको, ल्यापटपको हार्डवेयर र सफ्टवेयरको सम्पूर्ण जिम्मेवारी स्वामित्व एप्पल कम्प्युटरसँगै रहने भनी भ्रममा पार्दै वारेन्टी कार्डसहित आफूलाई बिक्री गरेको गिरीले जनाएका छन् ।
तर, एक्कासी समस्या आइ काम नलाग्ने अवस्थामा पुग्दा विद्यार्थीले अध्ययनको शिलशिलामा गर्नुपर्ने सम्पूर्ण कार्य ल्यापटप नचलेको कारणले अवरोध पुगेको गिरीले दावी गरेका छन् । आफूले बिक्रेताकहाँ ल्यापटप बिग्रेको जानकारी गराउन बिल बिजक र वारेन्टीको प्रमाण लिएर जाँदा केही समयपछि बनाइएदिने आश्वासन दिइ फर्काएको पनि फिरादपत्रमा उल्लेख छ ।
बिक्रेताले गलत सूचना, आफ्नो स्वामित्व नभएको इजाजत लिइ बिक्री गरेको अनुचित व्यापारिक कृयाकलापबाट आफूले अहोरात्र खटेर तयार गरेका सम्पूर्ण अध्ययन सामग्री ल्यापटप बिग्रँदा नष्ट भएको र स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी भएको हुँदा आगामी अध्ययनको लागि पनि उक्त ल्यापटपको कारणले ठूलो अवरोध सृजना भएको गिरीले जनाएका छन् ।
विपक्षीले आई क्लाउड लक समाधान गर्न वा आवश्यक स्वामित्व कागजात उपलब्ध गराउन कुनै सहयोग प्रदान नगरेको, विपक्षीले आफूलाई इजाजत नै नभएको र ऐन बमोजिम आफैँले उत्तरदायित्व तथा समस्या समाधानको जिम्मेवारी लिन नसक्ने सामग्री भ्रममा पारी बिक्री गरेकाले क्षतिको विवरणसमेत उल्लेख गर्दै गिरीले क्षतिपूर्ति भराउन माग गरेका हुन् ।
यस्तो छ क्षतिपूर्ति दाबी
उपभोक्ता अदालतमा गिरीले दायर गरेको फिरादपत्रमा बिक्रेताबाट सात लाख २० हजार ५०० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ । ल्यापटप क्रेता गिरीले बिक्रेता सिटी कम्प्युटर सिस्टमविरुद्ध आधादर्जन विवरणमा आफूलाई उक्त रकम बराबरको क्षति भएको उल्लेख गरेका छन् ।
बिग्रिएको ल्यापटपको मूल्यबापत एक लाख ४० हजार ५००, ल्यापटप किन्न र बिग्रेपछि गुनासो गर्न जाँदाको यातायात खर्च २० हजार, सञ्चार खर्च १० हजार, ल्यापटप नभएको कारणबाट गरिएको अन्य खर्च ३० हजार र तयारी फाइल तथा अन्य सामग्री नष्ट भएबापत २० हजार रुपैयाँ क्षति पुगेको फिरादपत्रमा लेखिएको छ ।

बस्तु तथा सेवा प्रदायकबाट सेवाग्राहीले उचित सेवा नपाउँदा आर्थिक र भौतिकमात्रै होइन, मानसिक पीडा समेत भोग्नुपर्छ । ल्यापटप बिग्रिएपछि आफूलाई परेको मानसिक क्षतिको पनि गिरीले हरहिसाब मागेका छन् । उनले मानसिक क्षतिबापतको खर्च शीर्षकमा पाँच लाख रुपैयाँ दाबी गरेका हुन् ।
ल्यापटप बिक्रेताको बदनियत र त्रुटिबाट आफूले उल्लेखित क्षति भएको हुँदा उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा ५०, ५१ र ५२ बमोजिम क्षतिपूर्ति दिलाइभराइ चलन समेत चलाइ पाउन आफू अदालत पुगेको गिरीको भनाइ छ ।
उपभोक्ता अदालतले यो मुद्दामा भोलि (शुक्रबार) वादी र प्रतिवादीलाई मेलमिलाप निम्ति बोलाएको छ ।
प्रतिक्रिया