यस्तो छ दक्षिणपूर्वी एशियामा तनाव बढ्नुको कारण | Khabarhub Khabarhub

कम्बोडिया–थाइल्यान्ड विवाद

यस्तो छ दक्षिणपूर्वी एशियामा तनाव बढ्नुको कारण


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणपूर्वी एशियामा तनाव बढ्दै गएको छ । बिहीबार थाइल्याण्ड र कम्बोडियाका सैनिकबीच सीमा क्षेत्रमा आक्रमण प्रत्याक्रमण भएका छन् । घटनामा १२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा थाइल्याण्डका उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ ।

सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गेका हुन् ।

स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको जनाएको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।

कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।

उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताएका छन् ।

नोमपेन पोस्टका अनुसार उनले ‘कम्बोडिया सधैँ शान्तिपूर्ण रूपमा मुद्दाहरूको समाधान गर्न कटिबद्ध रहेको तर यस अवस्थामा हामीसँग यस सशस्त्र आक्रमणको विरुद्ध बलपूर्वक जवाफ दिनु बाहेक कुनै विकल्प नभएको’ बताएका छन् ।

यसैबीच, कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाइल्यान्डले अत्यधिक सङ्ख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाको क्षेत्र जबरजस्ती कब्जा गर्ने प्रयासमा हवाई आक्रमण गरेको आरोप लगाएको छ ।

बिहीबार देखि लागु हुने गरी बुधबार सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल बुन्सिन पाडक्लाङले सीमा बन्द गरी सुरिनको मन्दिरका भग्नावशेषहरू बन्द गर्न आदेश दिएको बैङ्कक पोस्टले जनाएको छ । बुधबार थाई सरकारले कम्बोडियाका राजदूत हुन सारोउनलाई निष्कासन गरी थाई राजदूतलाई फिर्ता बोलाइएको बैङ्क पोस्टले जनाएको छ ।

सीमाको थाईतर्फका क्षेत्रका गाउँलेहरूलाई यस क्षेत्र खाली गर्न आदेश दिइएको छ ।

थाइल्यान्ड र कम्बोडियाका सेनाहरूले तुलनात्मक रूपमा सानो तर विवादित सीमा क्षेत्रमा एकअर्का विरुद्ध गोलीबारी गरेपछि मे महिनामा विवाद भड्किएको थियो । उक्त क्षेत्रलाई दुवै मुलुकले आफ्नो भनी दाबी गर्छन् ।

दुवै पक्षले आत्मरक्षाका लागि आवश्यक कदम चालेको दाबी गरेका छन् । उक्त घटनामा एक कम्बोडियाली सैनिक मारिएका थिए ।

त्यसबेला दुवै मुलुकले पछि स्थिति शान्त बनाउन सहमत भएको भने तापनि कम्बोडियाली र थाई अधिकारीहरूले तनाव उच्च बनाउँदै सशस्त्र बल बाहेकका उपायहरू लागू गर्न वा धम्की दिन जारी राखेका थिए ।

घटनापछि थाइल्यान्डले कम्बोडियासँगको सीमामा कडा प्रतिबन्धहरू लागू गरेको छ । प्रतिबन्धसँगै विद्यार्थी, चिकित्सा बिरामीहरू र आवश्यक आवश्यकताहरू भएका अन्य बाहेक लगभग सबैलाई सीमा क्षेत्रमा रोकिएको छ । बिहीबार थाई अधिकारीहरूले सीमा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन् ।

कम्बोडियाले पनि थाई चलचित्र र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ भने थाई इन्धन, फलफूल र तरकारीहरूको आयात पनि रोकेको छ र आफ्ना छिमेकीका केही अन्तर्राष्ट्रिय इन्टरनेट लिङ्क र विद्युत आपूर्ति पनि ठप्प पारेको छ ।

घटनापछि दुवै मुलुकमा राष्ट्रवादी भावना उर्लिएको छ । यससँगै स्थिति थप उत्तेजित बन्न पुगेको छ ।

गत महिना कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सिनेटका वर्तमान अध्यक्ष हुन सेनले थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रासँगको विवादित सीमासम्बन्धी कुराकानी चुहावट गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई प्रधानमन्त्रीबाट निलम्बन गरेको थियो ।

उक्त फोनवार्तामा पेटोङ्टार्नले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन् । उनले फोन कलमा थाई सैन्य नेतृत्वको आलोचना समेत गरेको जनाइएको छ । उक्त टिप्पणीलाई आलोचकहरूले राष्ट्रिय सार्वभौमसत्ताको अनादरका रूपमा प्रस्तुत गरेका थिए ।

सन् २०२३ मा हुन सेनका उत्तराधिकारीका रुपमा एवम् उनका छोरा हुन मानेट नेता भएका थिए । तर सिनेट अध्यक्षका रूपमा अझै पनि हुन सेन प्रभावशाली छन् । हुन सेन पेटोङ्टार्नका बुबा, लोकप्रिय तर विवादास्पद पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका लामो समयका मित्र हुन् । तर, सीमा विवादलाई लिएर अहिले दुई नेताबीच विवाद शुरु भएको छ ।

चुहिएको फोनवार्ताले व्यापक आक्रोश र विरोधलाई निम्त्याएको थियो । आफ्नो दोस्रो ठूलो साझेदार, भुमजाइथाई पार्टीले कम्बोडियाप्रति उनको नरमपनलाई कारण देखाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पेटोङ्टार्नको फेउ थाई पार्टीको नेतृत्वमा रहेको गठबन्धन पनि कमजोर भएको थियो ।

पेटोङ्टार्नले माफी मागेकी छिन् । आफ्नो टिप्पणी वार्ताको रणनीति भएको उनको तर्क छ । उनका सहयोगी तथा पूर्वरक्षामन्त्री फुमथम वेचाचाईलाई हाल थाइल्याण्डको कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको छ ।

दुई मुलुकबीच निकै लामो समयदेखि सीमा विवाद कायम छ । सीमा विवादको मुद्दाले दुई छिमेकीबीच कहिलेकहीँ तनावलाई जन्म दिने गरेको छ । दुई मुलुकबीच आठ सय किलोमिटरभन्दा लामो सीमा रहेको छ ।

कम्बोडियामा फ्रान्सेली औपनिवेशिक शासनकालमा सन् १९०७ मा बनाइएको नक्साका कारण विवाद उत्पन्न भएको विश्वास गरिन्छ । उक्त नक्सा कम्बोडियालाई थाइल्यान्डबाट अलग गर्न प्रयोग गरिएको थियो । कम्बोडियाले आफ्नो सार्वभौमिकता दाबी गर्न सन्दर्भका रूपमा नक्साको प्रयोग गर्दै आएको छ भने थाइल्यान्डले उक्त नक्सा गलत भएको तर्क गर्दै आएको छ ।

हाल दुई मुलुकबीच एक हजार वर्ष पुरानो प्रेह विहार मन्दिर आसपास झडप चर्किएको छ । सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले मन्दिर क्षेत्रमा कम्बोडियाको सार्वभौमिकता कायम रहने फैसला सुनाएको थियो । यो निर्णयसँगै द्विपक्षीय सम्बन्धमा तिक्तता निम्तिएको छ ।

सन् २०११ मा पनि दुई मुलुकबीच तनाव चर्किएको थियो । सन् २०११ मा कम्बोडिया र थाई सेनाबीच भएको झडपपछि कम्बोडिया फेरि अदालत पुगेको थियो । उक्त झडपमा करिब २० जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।

अदालतले सन् २०१३ मा कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो । कम्बोडिया फेरि सीमा विवाद समाधान गर्न अन्तर्राष्ट्रिय अदालतमा पुगेको छ तर थाइल्यान्डले भने अदालतको क्षेत्राधिकारलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ४ : ५५ बजे

दशैँ : कति बजे छ टीकाको साइत ?

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति