गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ? « Khabarhub

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि पुरस्कार भएको दाबी गरे ।

‘हामीले गाजाको युद्ध तुरुन्तै रोक्नैपर्छ’, ट्रम्पले मङ्गलबार न्युयोर्कमा विश्व नेताहरूलाई सम्बोधन गर्दै भने । उनले आफू युद्धविरामको लागि गहिरो रूपमा संलग्न भएको पनि बताए ।

ट्रम्पले गाजामा रहेका बन्दीहरूलाई घर फर्काउनु पर्नेमा जोड दिए । ‘हामीले यो गर्नैपर्छ । शान्तिका लागि वार्ता गर्नुपर्छ । हामीले बन्धकहरू फर्काउनु पर्छ । हामीलाई सबै २० जना फर्किनुपर्छ’, उनले भने । यो सन्दर्भ ४८ मध्ये अझै बाँचेका २० कैदीसँग सम्बन्धित थियो ।

शान्तिलाई समर्थन गर्नेहरूले बन्धकहरूको तत्काल रिहाइ माग्नैपर्ने उनले महासभालाई आग्रह गरे ।

महासभाको छेउमा ट्रम्पले साउदी अरेबिया, कतार, युएई, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेतासँग गाजाबारे छलफल गरे । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले बैठकलाई धेरै फलदायी भनेका छन् । उनले संयुक्त घोषणा जारी हुने समेत जनाएका छन् ।

‘यो निकायका केही सदस्यहरूले एकतर्फी रूपमा प्यालेस्टिनीको मान्यता दिन खोजिरहेका छन् । यसले हमासका आतङ्ककारीहरूलाई अकल्पनीय पुरस्कार दिनेछ’, ट्रम्पले भने । तर, राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले भने यो प्यालेस्टाइनहरूको राज्यत्व अधिकार हो, पुरस्कार होइन भनेर प्रतिवाद गरेका छन् ।

कतारस्थित हामद बिन खलिफा विश्वविद्यालयका प्राध्यापक सुलतान बाराकतका अनुसार ट्रम्पले युद्ध तुरुन्त रोक्न भने पनि कसरी भन्ने कुरा भने बताएनन् । ‘युद्ध निरन्तर हुनुको मुख्य कारण उनले आफैँ दिएको समर्थन हो’, बाराकतले भने ।

गाजामा युद्धविराम प्रस्ताव
ट्रम्पले इजरायललाई कम मात्र आलोचना गर्दै युद्धविराम वार्ता असफल हुनुको कारण हमासलाई ठहराए । हमासले पटक–पटक शान्ति प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ ।

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भने अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि युद्धविराम वार्ता तोडेको आरोप लाग्दै आएको छ । गत मार्चमा उनले युद्धविराम तोडेर गाजामाथि पूर्ण नाकाबन्दी गर्दै भोकमरी निम्त्याएका छन् ।

यसै महिनामा इजरायलले कतारको राजधानी दोहामा बसेका हमास नेताहरूलाई लक्षित आक्रमण गर्‍यो ।

हमासले भने युद्ध रोक्ने वार्ता विफल हुनुमा आफूहरूको कुनै हात नभएको दाबी गर्दै नेतान्याहु मात्र अवरोधक भएको बताएको छ । ‘हामीले कहिल्यै सम्झौता अवरुद्ध गरेका छैनौँ । सबैलाई थाहा छ कि नेतान्याहु नै एक मात्र बाधक हुन्’, वक्तव्यमा भनिएको छ ।

हमासले युद्धविराम, बन्धक र प्यालेस्टाइनी कैदीहरूको आदानप्रदान र इजरायली सेनाको गाजाबाट पूर्ण फिर्तीको माग राखेको छ । तर नेतान्याहुले पूर्ण फिर्ती अस्वीकार गर्दै गाजा सिटी कब्जा गर्न स्थलगत आक्रमण थाले, जसले सयौँ प्यालेस्टाइनीको ज्यान लिएर हजारौँलाई विस्थापित गर्‍यो ।

युद्ध सुरू भएदेखि अहिलेसम्म ६५ हजार भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । संयुक्त राष्ट्रसंघको एक आयोगले यस युद्धलाई नरसंहार सरह भनेको छ, तर अमेरिका भने अझै इजरायललाई हतियार आपूर्ति गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

इरानबारे कठोर चेतावनी
भाषणको एक भागमा ट्रम्पले ईरानलाई आतङ्कवादको पहिलो प्रायोजक भन्दै उसले कहिल्यै आणविक हतियार नपाउने दाबी गरे ।

‘तीन महिना अघि ‘अपरेसन मिडनाइट ह्यामर’ अन्तर्गत सातवटा अमेरिकी बी–२ बमवर्षकले इरानका प्रमुख आणविक केन्द्रहरूमा ३०,००० पाउण्ड (१३,६०० किलो)का बमहरू खसालेर पूर्ण रूपमा ध्वस्त गर्‍यो । संसारमा अरू कुनै देशले यस्तो गर्न सक्दैन’, उनले भने ।

तर, अमेरिकी रक्षा मूल्याङ्कन अनुसार उक्त आक्रमणले इरानको आणविक क्षमता केही महिनामात्र ढिलाइ गराएको हो ।

‘नोबेल शान्ति पुरस्कार’
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अधिनायकवाद र वातावरणीय विनाशको विरोध गर्दै भाषण गरेपछि मञ्चमा आएका ट्रम्पले आफ्नो कार्यकाललाई सातवटा युद्ध अन्त्य गर्ने उपलब्धिसँग जोड्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरे ।

‘सबैले भन्छन् मलाई नोबेल शान्ति पुरस्कार पाउनुपर्छ । तर मलाई पुरस्कार होइन, ज्यान बचाउनु महत्त्वपूर्ण छ’, उनले भने ।

राष्ट्रसंघ प्रतिपनि आक्रमण गर्दै ट्रम्पले भने, ‘मलाई युद्ध अन्त्य गर्नुपर्‍यो, तर संयुक्त राष्ट्रसंघ भने आफ्नो सम्भावना पूरा गर्न टाढा छ।’

युक्रेन युद्धबारे बोल्दै उनले भने, ‘म राष्ट्रपति भएको भए युद्ध सुरु नै हुने थिएन ।’ उनले भ्लादिमिर पुटिनसँग आफ्नो सम्बन्ध राम्रै रहेको उल्लेख गरे । तर, रूसको आक्रमणले ‘रूसलाई राम्रो देखाएको छैन’, भने ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ४६ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि