संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी « Khabarhub

महाधिवेशनले रोकेन एमालेको कलह

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी



काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेलसँग संवाद गरेका छैनन् ।

एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका तत्कालीन वरिष्ठ उपाध्यक्ष पोखरेल समूहलाई ओलीले शपथमा पनि बेवास्ता गरिदिए । यसबाट ओलीले आफूविरुद्ध उत्रिएका नेताहरूलाई अपमान गरेको इतर पक्षले टिप्पणी गरेको छ।

गत मसिर २७ गतेदेखि काठमाडौँमा भएको महाधिवेशन पुस ३ गते मात्रै सम्पन्न भयो। महाधिवेशनपश्चात् ओली र उनी पक्षका नेताहरूले आफूहरूसँग कुनै संवाद नगरेको महासचिवमा पराजित नेता सुरेन्द्र पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार पुस ३ गते ओलीले नेताहरूलाई शपथ ग्रहण गराएको कार्यक्रममा पनि पोखरेल समूहलाई निम्ता थिएन ।

‘हामीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गरेका थियौँ । पुस १ गतेको मतदान भोटिङ सिस्टममा समस्या आएको भन्दै सारेर पुस २ गते सकिएको थियो। हामीले यी सबै कुरा स्वीकारेरै अगाडि बढेका हौँ,’ पाण्डे भन्छन्, ‘मतपरिणाम सार्वजनिक भएको पुस ३ गते हो। त्यहाँबाट हामीलाई पार्टी नेतृत्वले सामान्य खबरसमेत गरेको छैन । संवाद त परको कुरा ।’

फरक विचारलाई बन्देज ?

एमालेको एघारौं महाधिवेशनपछि ओली झन् शक्तिशाली भएका छन् । पार्टीमा उनको ९५ प्रतिशत पकड बनेको छ। सचिवालयमा एकछत्र बहुमत बनाएका छन् । ओलीले दशौँ महाधिवेशनमा पनि आफूविरुद्ध उठेका भीम रावललाई पार्टीबाट निकाले ।

एघारौं महाधिवेशनमा आफूविरुद्ध उठेका पोखरेल लगायतलाई त्यही व्यवहार गर्न सक्ने अनुमानलाई उनका सुरुवाती गतिविधिले बल दिएका छन् ।

महाधिवेशनपछि नयाँ कार्यसमितिका गतिविधिमा पोखरेल समूह छुटेका छन् । उता पोखरेल समूहले धन्यवाद सभा आयोजना गर्दा ओलीनिकट नेता खनिएका छन् । महासचिव नपाएपछि केन्द्रीय सदस्यमा बसेका प्रदीप ज्ञवालीले पोखरेल समूहको सभालाई आपत्तिजनक नै भने ।

पोखरेलसँगै उनी पक्षीय कुनै नेतालाई ओलीले संवादमा बोलाएका छैनन् । ५० वर्ष लामो सक्रिय राजनीतिपछि बिदा भएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत नेतालाई पनि ओलीले सम्पर्क गरेका छैनन् ।

यसमा सचिव पद्मा अर्याल भन्छिन्, ‘अध्यक्षज्यूले शपथमा नियतवश नबोलाएको होइन। कमी कमजोरी भयो होला, हतार भएको थियो । ईश्वर कमरेड पार्टीमा लामो समय योगदान दिएको र सङ्घर्ष गरेको मान्छे हो । उहाँ केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको छ, स्थायी कमिटीसम्म ल्याउने प्रयत्न गरिरहेका छौँ। उहाँहरूको शपथ हुन्छ ।’

पोखरेल समूहका अन्य नेता पनि पराजित हुनुभएको छ नि भन्ने प्रश्नमा भन्छिन्, ‘हामी उहाँहरूलाई पार्टीबाट रोक्ने वा भूमिकाविहीन बनाउने काम गर्दैनौँ । उहाँहरूलाई कतै न कतै एडजस्ट गराउने तयारी गरिरहेका छौँ ।’

उनी दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलको जस्तो अवस्था पार्टीमा कसैको नहुने दाबी गर्छिन् । एमालेको लोकतान्त्रिक पद्धति र मूल्य मान्यतालाई अङ्गीकार गर्दै अध्यक्ष ओली अगाडि बढ्ने उनको भनाइ छ ।

ओलीका गल्ती कमजोरीमा आत्मालोचना गर्नुपर्दैन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘आत्मालोचना गर्ने ठाउँ पार्टी कमिटी हो। पार्टी कमिटी र बैठकहरूमा उहाँले आत्मालोचना गर्नुभएकै होला।’

एघारौँ महाधिवेशनमा पोखरेल प्यानलबाट निर्वाचित उपमहासचिव योगेश भट्टराई गुटबन्दी र काखापाखा गर्ने काम भए डटेर प्रतिवाद गर्ने बताउँछन्।

‘विपक्षी प्यानलको संख्या कति आयो भन्ने हिसाबले पार्टी चल्ने छैन । ईश्वर कमरेडलाई मात्रै होइन, अरूलाई पनि काखापाखा गर्ने प्रवृत्ति आए हामी प्रतिवाद गर्छौँ’, भट्टराई भन्छन्, ‘पार्टीमा आफ्नै विधि, सिद्धान्त र कार्यदिशा छ । फरक विचारलाई सम्मान गर्नुपर्छ । प्रतिशोधका रुपमा हेर्नु हुँदैन। महाधिवेशन एउटा प्रक्रिया हो। स्वस्थ ढङ्गले प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धाबाट पराजित साथीहरूलाई व्यवस्थापन गरेर एमाले अगाडि बढ्छ।’

नेताहरूको दाबी : पार्टी फुट्दैन

स्वतन्त्र रुपमा उपाध्यक्षमा निर्वाचित रघुजीपन्त पनि एमाले विधि पद्धति र मूल्य मान्यताअनुसार अगाडि बढ्ने बताउँछन्। नेता–कार्यकर्तालाई व्यवस्थापन गर्न आवाज उठाउने उनी बताउँछन् ।

उनी एमालेमा दुई लाइन सङ्घर्ष नहुने बताउँछन् । ईश्वर पोखरेल पक्षले पार्टी फुटाएर जाने अवस्था नभएकाले एमाले एकमन र एकचित्त भएर अगाडि बढ्न उनी बताउँछन्।

ओली समूहबाटै उपाध्यक्षमा निर्वाचित पृथ्वी सुब्बा गुरुङले खबरसँगको अन्तर्वार्तामा ईश्वर पोखरेल पक्षले पार्टी फुटाएर जाने अवस्था नआउने बताएका थिए।

पोखरेल पक्षलाई एमालेले सम्मानपूर्वक ठाउँ दिएर अगाडि बढाउने उनले बताएका थिए । महाधिवेशनपछि यो र त्यो पक्ष भनेर पार्टी नचल्ने उनको तर्क थियो ।

‘महाधिवेशनपछि यो या त्यो भन्ने पार्टीमा अहिले छैन, ईश्वर कमरेड पार्टीमा लामो समय सङ्घर्ष र बलिदान गरेको मान्छे हो। उहाँले एमाले विभाजित गर्ने काम कहिले गर्नुहुन्न । उहाँलाई सम्मानपूर्वक स्थान दिएर अगाडि बढ्छौँ,’ गुरुङले अगाडि भने, ‘पार्टीमा दुई लाइन सङ्घर्ष गर्ने स्थिति नआउन हामी बोल्छौँ। पार्टी एकचित्त भएर अगाडि बढ्छ ।’

तर अध्यक्ष ओलीका गल्तीमा आत्मालोचना नगरेकोमा पोखरेल पक्षको गुनासोबारे उनी भन्छन्, ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै राख्ने हो। पार्टीभित्र यसको समीक्षा हुन्छ, भइरहेकै पनि छ ।’ एघारौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठक एक पटक बसेको छ ।

प्रतिवादको तयारी

महाधिवेशनको परिणामलाई आफूहरूले स्वीकारेको जनाउँदै पोखरेल पक्षले भेदभाव भए प्रतिवाद गर्ने निर्णय गरेको छ । यो समूहले पुस ५ गते काठमाडौँमा भेला गरेर मतपरिणाम स्वीकारेको जनाउँदै पार्टीमा काखापाखा गर्ने प्रवृत्ति देखिए प्रतिवादमा उत्रिने नेताहरूले बताएका थिए।

पार्टीमा फरक विचार राख्ने उपलब्ध केन्द्रीय कमिटीका नेता तथा सचिवालय सदस्यसँगको बैठकमा जबजको विधि र मान्यताअनुसार पार्टी अगाडि बढाउन दबाब दिने निर्णय गरेका छन्।

यो बैठकमा महाधिवेशनको समीक्षा गरिएको थियो। समीक्षाका क्रममा मतदान पुस १ गते नै भएको भए पदाधिकारीमा योगेश भट्टराई र गोकर्ण विष्टसहित अन्य नेता पनि विजयी हुने सम्भावनाबारे चर्चा गरिएको थियो ।

‘विद्युतीय भोटिङ सिस्टममा समस्या हुँदा हामीलाई थप क्षति भएको हो । पुस १ गते नै भोटिङ गर्न पाएको भए मतपरिणाम बेग्लै आउने थियो। पुस १ गते राति चलखेल भएकोे विश्लेषण गरेका छौँ’, पदाधिकारीमा उठेका एक नेताले बैठकबारे भने, ‘जे भए पनि हामी परिणाम स्वीकार्छौँ । तर आगामी विभेद भए त्यसको डटेर सामना गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ ।’

पोखरेललाई साथ दिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा समानान्तर कमिटी बनाउने सम्भावनाको पनि चर्चा छ । तर ओलीको एकछत्र रहेकाले अहिले उनले त्यो आँट गर्ने दृश्य देखिएको छैन ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : २३ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते