सुनसरी– केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवासहित जिल्लाका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कनका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।
चिसोका कारण दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाको भनाइ छ ।
चिसोलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले यसबाट जोगिन नागरिकलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
सीमा क्षेत्रमा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले चिसोका बेलामा आगो ताप्नका लागि लौकही, घुस्की, देवानगञ्ज लगायतका क्षेत्रमा दाउरा वितरण गरेको उहाँले जानकारी दिए ।
प्रतिक्रिया