काठमाडौं – भाषाको विकास इतिहास, परम्परा र सभ्यताको विकाससँग अन्योन्याश्रित हुन्छ भनिन्छ । भाषाबारे कुरा गर्दा आदरार्थी शब्दको प्रयोगमा पनि केही राजनीतिक तथा सामाजिक परिवर्तन र चेतनाले असर गरेको पाइन्छ ।
राजनीतिक-सामाजिक परिवर्तनले सबै व्यक्तिलाई समान दर्जा दिने लक्ष्य राख्ने हुनाले लोकतान्त्रिक समाजले संरचनागत रूपमा भाषिक विभेद या अहङ्कारलाई महत्व दिँदैन ।
आफूलाई समाजको उपरी संरचनाको हर्ताकर्ता ठान्ने एउटा धारले चाहिँ दैनन्दिन जीवनमा समेत उच्च आदरार्थीको वर्षा गराउँछ ।
पहिले राजामहाराजालाई अति आदर गर्न ‘बक्सियोस्’ शब्द प्रयोग गरिन्थ्यो । राजाले आफैँलाई पनि ‘बक्सिएका छौँ’ लगाएर सम्बोधन गर्थे । राजाले जारी गरेका पुराना संविधानमै ‘गरिबक्सेका’ शब्दको प्रयोग हुन्थ्यो । वि.सं. २०४७ को संविधानमा राजासँग ‘गरिबक्सनेछ’ वा ‘सकिबक्सनेछ’जस्ता शब्द जोडिएको छ ।
राजतन्त्र अन्त्य भएर संविधान सभाले गणतान्त्रिक संविधान निर्माण गर्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीजस्ता अति उच्चपदाधिकारीको सन्दर्भमा ‘गर्नेछ’ वा ‘सक्नेछ’ भन्ने व्यक्तिबोधक शब्दको प्रयोग गरी सामान्य आदरार्थी शब्द प्रयोग गरेको छ ।
मुलुकमा भएको ठूलो राजनीतिक परिवर्तनले सामाजिक तथा भाषिक क्षेत्रमा प्रभाव पारेको छ। त्यसै मेसोमा वर्तमान संविधानले अति विशिष्ट पदाधिकारीलाई समेत अति आदरार्थी शब्दको सट्टा सामान्य आदरार्थी शब्दको प्रयोग गरेको छ ।
औपचारिक रूपमा लेखनमा प्रयोग नभए पनि ‘सम्भ्रान्त’ वर्गका कानुन व्यवसायीले अझै पनि यदाकदा न्यायाधीशलाई बहसका क्रममा ‘बक्सियोस्’जस्ता अति आदरार्थी शब्द प्रयोगका साथ सम्बोधन गरेको पाइन्छ । न्यायाधीशले पनि त्यस्ता अति आदरार्थी शब्दको प्रयोग स्वीकार गरेको देखिन्छ ।
विशेषगरी प्रहरी प्रशासनमा अत्यन्त धेरै उच्चआदरार्थी शब्दको प्रयोग देख्न सकिन्छ । प्रहरी सेवाको सम्बन्धित नम्बरमा फोन गरेर माथिल्लो ओहदाका कर्मचारीबारे कुरा गर्ने हो भने तल्लो कर्मचारीले उच्च आदरार्थी शब्द नै प्रयोग गरिरहेको सुनिन्छ ।
प्रहरी सेवा अन्य सेवा भन्दा निकै फरक छ। अनुशासनको हिसाबले पनि यहाँ कडाइ छ। प्रहरी राज्यको सुरक्षा प्रदायक संस्था हो । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो ।
राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलाप प्रत्यक्ष रूपमा जोडिन्छ। त्यस हिसाबले पनि कडा अनुशासन नीति अपनाइएको हुनसक्छ ।
तर हाकिमकै दयामायाले जागिर खाएको जस्तो उक्त संगठनमा उच्चआदरार्थी शब्दको प्रयोग देख्न सकिन्छ । सरकारका उच्च अधिकारीको निजी सहायक यस्तै उच्चआदरार्थी शब्दमा अभ्यस्त छन् ।
भाषा आन्दोलनका अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल डरका कारण कार्यालयमा हाकिमलाई उच्च आदरार्थीको प्रयोग भइरहेको बताउँछन् ।
आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘हाइस्कुलको हेडमास्टर हुँदा कुनै विद्यार्थीको घरमा जाँदा ल हाउ हाम्रो हेडसर आयो ल हेडसर आएछ, सुकुल तानेर बस भने। त्यही ठाउँमा प्रहरी आए । पुलिस सर आउनुभयो, सर आउनुभयो भने ।’
त्यो समयमा प्रहरीसँगको डरले उच्चारार्थी शब्द मुखमा आएको उनी बताउँछन्। तर हेडमास्टरलाई अपहेलना नभइ आत्मीय कारण उनीहरुले आफ्नो भाषा प्रयोग गरेको लुइटेलको भनाइ छ । ‘प्रहरी र सेनामा त्यो चल्नु पनि त्यही डरको कारणले हो । आदरपूर्वक प्रयोग हुने शब्द पनि जाति विशेष तथा भेग अनुसार पनि फरक हुन्छ । औपचारिक रुपमा प्रयोग धेरै अन्यथा मान्नुहुन्न । तर एकथरिले संभ्रान्त वर्गको भाषालाई चाकरीकै रुप हो भन्ने भाष्य निर्माण गरेका छन् ।’
‘आइबक्सियोस् शब्दलाई अझै छोट्याएर अथवा सजिलोका लागि ‘आइसियोस्’ बनाइएको छ । यो एकदम ठूलो यसको र उसको भाषा भनेर भन्नु आवश्यक छैन । कर्तामा प्रयोग भएपछि क्रियामा प्रयोग स्वाभाविक हो’, उनी थप्छन्, ‘नेपालीमा आदरार्थी विभिन्न प्रकारका छन् । अंग्रेजीको एकै शब्द नेपालीमा विभिन्न अर्थमा प्रयोगमा आउँछ। नेपालीमा त तिमी तपाईं, हजुर, मौसुफ निम्नदेखि उच्च आदर छ। यो नेपाली भाषाको छुट्टै विशेषता हो । कर्ताको रुपमा आएकोलाई क्रियाको रुपमा त्यसको रिफ्लेक्सन हुन्छ ।’
भाषाको हिसाबले वर्गीय विभेद गर्न जरुरी नभएको उनले टिप्पणी गरे। ‘संभ्रान्त वर्गलाई पनि विभेद गर्न भएन नि ! यो प्रयोगमा आउँदा ठूलै विपत्ति निम्तिँदैन । नेपालीमा निम्नदेखि उच्च आदरार्थी शब्द छन् । अन्ततः यो नेपाली भाषा नै हो’, लुइँटेलले भने ।
अर्का भाषाशास्त्री शरच्चन्द्र वस्ती भने औपचारिक र अनौपचारिक रुपमा कुन शब्दको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिको रुचिको विषय भएको बताउँछन् ।
उनी भन्छन्, ‘कार्यालयमा सामान्यर्थी शब्दको प्रयोग गर्नु भनेर संविधानमै उल्लेख छ, तर शब्द चयन व्यक्तिलाई नै छोडिदिनु उपयुक्त हुन्छ । तर आजको व्यवस्थामा कार्यालयको भाषामा उच्च आदरार्थी शब्दको प्रयोग चाकरी नै हो। उनीहरु कहिले परिवर्तन हुन नचाहनेहरु हुन् । बुझ्नेहरुले बुझिसकेका छन् । नबुझ्नेहरुले जति बुझाए पनि बुझ्दैनन्।’ साथै, उनले भाषाको विषयममा बोल्दा–बोल्दा आफू थाकिसकेको गुनासो गरे ।
त्यसैगरी, औपचारिक रुपमा आइस्योस र गइस्योस शब्दको प्रयोग उचित नभएको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्य बताउँछिन् । उनी भन्छिन्, ‘भाषा भनेको सञ्चार र सम्प्रेषणको माध्यम हो । यसले व्यक्तिको पहिचान, सोचाइ र सामाजिक हैसियतलाई प्रतिनिधित्व गर्छ । तर यसो भन्दैमा कुनै निश्चित समुदाय वा जातिको भाषा कार्यालयमा प्रयोग गर्नु राम्रो होइन ।’
उनी हिजो राणातन्त्र र राजतन्त्रमा गलत भनेर हटाएका शब्द अहिले बोल्नु उचित नहुने बताउँछिन् ।
‘ठकुरी र राणाको भाषा बोलेर आफूलाई उच्च देखाउन खोज्दा यदाकदा त्यही व्यवस्थामाथि सहमति जनाउनु हो । हिजो राणाशासन र राजतन्त्रमा ठीक छैन भनेर हटायौं । तर उनीहरुकै मातृभाषालाई राष्ट्रियकरण गर्नु भनेको त्यो तन्त्रको समर्थन गर्नु हो’, आचार्य भन्छिन्, ‘बाहिरी भाषाको स्वीकृति भनेको आफ्नो भाषाप्रतिको आत्मसम्मानको कमी र अवमूल्यन हो ।’
भाषा प्राकृतिक र आत्मीय हुनुपर्ने आचार्यको भनाइ छ।
‘कुनै व्यक्तिले बोलेको हाउभाउ, उपस्थिति र शब्द चयन पहिचान हो । नेपाली समाजमा सामाजिक प्रतिष्ठा र भाषाबीचको सम्बन्धलाई लिएर थुप्रै बहस भएका छन्’, उनी थप्छिन्, ‘आइबक्सियोस्को अपभ्रंश आइस्योस् बनाएका छन् । यो जो प्राकृतिक रुपमा नबोल्नले बनाएका हुन्। तर कृत्रिम रुपले प्रयोग गरेर आफूलाई उच्च स्तरको देखाउन खोज्नु गलत हो ।’
‘नेपालमा यो शब्द ठकुरी जातिको मातृभाषा हो । तर अहिले शहरमा जुनसुकै जातिले पनि आफूलाई उच्चस्तरको देखाउन यो मानार्थ प्रयोग गरेको पाइन्छ । घरपरिवारमा प्रयोग गरे पनि औपचारिक रुपमा यो भाषा उचित छैन। अहिले विद्यालयमा स–साना बालबालिकालाई पनि यसै मानार्थ शब्द प्रयोग गरिएको देखिन्छ जुन अत्यन्त गलत छ’, उनले भनिन् ।
प्रतिक्रिया