काठमाडौं – यतिबेला काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल पस्मिना अन्तरराष्ट्रिय एक्स्पो’ चलिरहेको छ । नेपाल पस्मिना उद्योग संघले बिहीबारदेखि शनिबार (आज)सम्म एक्स्पो आयोजना गरेको हो ।
एक्पोमा १५० भन्दा बढी स्टल राखिएको छ । ४० भन्दा बढी स्टल त नेपाली पस्मिनाले नै भरिएका छन् । आयोजकले जानकारी दिएअनुसार; नेपाली पस्मिनाका १०० भन्दा बढी भेराइटीहरू एक्स्पोमा राखिएको छ ।
नेपालमा पहिलोपटक लागेको पस्मिना एक्पोमा ३५० रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका पस्मिना राखिएको छ । एक्स्पोमा नेपाली पस्मिनाप्रति राम्रो प्रतिक्रिया आएको व्यवसायीहरूले बताएका छन् ।
पस्मिनामा च्याङ्ग्राको रौँभित्रको भुवा प्रयोग गरेको खण्डमा गुणस्तर ९९ प्रतिशतसम्म सुनिश्चित हुने पस्मिना संघका उपाध्यक्ष चिरञ्जीवी काफ्लेले बताए । संसारमै नेपाली पस्मिनामात्र सक्कली हुने काफ्लेले जानकारी दिए ।
‘पस्मिना भनेको च्याङ्ग्राको भित्री भुवाबाट बनाएको कपडा हो’, काफ्लेले भने, ‘नेपालमा सयौँ वर्षदेखि पस्मिना प्रयोग हुँदै आएको रहेछ ।’
पस्मिना न्यानो, नरम र हल्का हुने भएकाले अधिकांश ग्राहको रोजाइमा पर्ने गरेको काफ्ले बताउँछन् ।
एलिजाबेथले प्रयोग गरेपछि विश्वव्यापी माग
नेपालको पस्मिना ब्रान्डिङ गरी विश्वबजारमा पुर्याउन बेलायती महारानी एलिजाबेथको ठूलो योगदान छ । एलिजाबेथले नेपालको पस्मिना प्रयोग गरेपछि विश्व बजारमा नेपाली पस्मिनाको माग बढेको जानकारहरू बताउँछन् ।
उपाध्यक्ष काफ्लेका अनुसार एलिजाबेथले सन् १९९७ मा नेपाली पस्मिना लगाएकी थिइन् । ‘सन् १९९७ ताका बेलायती महारानी एलिजाबेथले नेपाली पस्मिना लगाएको तस्बिर फोर्ब्स म्यागेजिनमा प्रकाशन भएपछि चर्चा पाएको हो’, काफ्लेले भने, ‘त्यसपछि विश्व बजारमा नेपाली पस्मिनाको माग थप बढेको हो ।’
नेपालमा वि.सं. २०२८ सालदेखि पस्मिनाको व्यापार हुँदै आएको उपाध्यक्ष काफ्ले बताउँछन् ।
‘हामीले पाएको जानकारी अनुसार २०२८/३० सालदेखि नेपालमा पस्मिना बनाएर यसैको पसल राखेका साथीहरू हुनुहुन्छ । पहिला चाहिँ कटनको तान लगाएर त्यसैमा बनाउने गरिएको रहेछ’, काफ्लेले भने, ‘पछि आएर हामीले व्यवसायिक रूपमा रेशमको धागोमा बनाउन थाल्यौँ । पछि १०० प्रतिशत नै पस्मिना प्रयोग गरी बनाउन थालियो ।’
‘कश्मिरलाई जोडेर पनि पस्मिनाको व्याख्या गर्ने गरेका छन् नि ! त्यो के हो ?’ भन्ने खबरहबको प्रश्नमा काफ्ले भन्छन्, ‘भारतको काश्मिरमा पाइने सललाई जोडेर काश्मिरे सल भनिएको हो । तर, काश्मिरमा पाइने सल ऊनबाट बनाइन्छ । उहाँहरूले हातको प्रयोग गरी कानी भन्ने डिजाइनमा बनाएर बेच्नुहुन्छ । खास पस्मिना नेपालीमात्र हो ।’
एउटा च्याङ्ग्रा उत्पादन हुनै ४/५ वर्ष लाग्ने र त्यसको भुवा एक वर्षमा १०० देखि २०० ग्राममात्र निस्किने काफ्ले बताउँछन् । लाखौँ च्याङ्ग्राबाट निकालिएको भुवाबाट पस्मिनाका सलहरू बनाउने गरिएको उनको भनाइ छ ।
क्रयशक्ति कम भएकाले गर्दा नेपालीहरूलाई पस्मिना महँगो लाग्ने काफ्लेको बुझाइ छ । ‘पश्मिनाको एउटा स्वेटरकै मूल्य १० हजार रुपैयाँ पर्छ । पस्मिनाको एउटा ब्ल्याङ्केट विदेशमा दुई लाख रुपैयाँसम्ममा बिक्री हुन्छ’, काफ्लेले भने, ‘पछिल्लो समयमा चाहिँ नेपालीहरूले पनि पस्मिनाका सामान प्रयोग गर्न थालेका छन् ।’
विदेशी बजारमा नेपालको पस्मिना भनेर नक्कली पस्मिना बेच्ने काम भएको, पस्मिना संघले चाहेर पनि रोक्न नसकेकाले यसलाई नियन्त्रण गर्न राज्य नै लाग्नुपर्ने काफ्लेले बताए ।
संघले हालसम्म ४७ देशमा नेपाली च्याङ्ग्रा पस्मिनाको ट्रेडमार्क दर्ता गराइसकेको छ । काफ्लेले भने, ‘ती देशहरूमा अरू कसैले च्याङ्ग्रा पस्मिना बेच्दैनन् । च्याङ्ग्रा पस्मिना किन्ने जो कोहीले नेपाली ब्राण्ड भनी थाहा पाउने अवस्था बनेको छ ।’
पस्मिना व्यवसायीले व्यक्तिगत रूपमा धेरै काम गरेका, तर सरकारको तर्फबाट कुनै सहयोग नपाएको भन्दै उपाध्यक्ष काफ्ले दुखेसो पोख्छन् ।
‘हामीलाई अनुदान छुट्याएको बजेट समेत राज्यले रोकेर राख्ने गरेको छ, त्यो बजेट दिए पनि पस्मिना व्यवसायी धेरै माथि पुग्ने अवस्था बन्छ’, काफ्लेले भने ।
पूर्वाधारहरूको कमी हुँदाहुँदै पनि राज्यको सहयोगबिनै निजी प्रयासबाट पस्मिना उत्पादन र रोजगारी सृजना गरी निर्यातमा योगदान गर्न पाएकोमा भने काफ्ले गर्व गर्छन् ।
‘अहिले भने उद्योग मन्त्रालयले सहयोग गरेका कारणले गर्दा मेला आयोजना गर्न सम्भव भएको हो’, काफ्लेले भने, ‘अझ सहयोग गरेको खण्डमा हामी धेरै फड्को मार्न सक्छौँ ।’
नेपालदेखि विदेशसम्म उत्तिकै खपत
नेपालमा उत्पादन भएको पश्मिाना नेपालदेखि विदेशसम्म खपत हुने गरेको छ ।
एउटा उद्योगीले औषतमा वार्षिक पाँच करोड रुपैयाँसम्मको पस्मिना विदेशमा निर्यात गर्ने गरेको गुरु काश्मिर एण्ड ब्लेन्ड्स्का सञ्चालक हरिकृष्ण अधिकारी बताउँछन् । अधिकारीले १६ वर्षदेखि पस्मिना उद्योग सञ्चालन गरिरहेका छन् ।
‘निर्यात गर्न सजिलो छैन, तै पनि हामीले वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको पस्मिना निर्यात गरेका छौँ’, अधिकारीले भने ।
पस्मिना नेपालमा भन्दा बढी विदेशमा निर्यात हुने गरेको अधिकारी बताउँछन् । ‘अहिले हाम्रो पस्मिना पाँचदेखि सात देशमा निर्यात भइरहेको छ’, अधिकारीले भने, ‘जर्मनी, यूएई, युरोप, जापान र चीनमा पस्मिना निर्यात गर्ने गरेका छौँ ।’
अहिले नेपालमै उत्पादन शुरू भए पनि आफूले प्रायः चीन र मङ्गोलियाबाटै कच्चापदार्थ ल्याएर पश्मिना बनाउने गरेको कागेश्वरी मनहरा नगरपालिकामा उद्योग सञ्चालन गरिरहेका अधिकारी बताउँछन् ।
उद्योगीहरूका अनुसार; न्यानो बनाउने पस्मिनाको कपडा लगाउँदा त्यसले तातोपना आफैँ पैदा गर्छ । नेपालमा च्याङ्ग्राको भुवा त्यति धेरै उत्पादन भने हुन सकेको छैन ।
अहिले नेपालका १० वटा जिल्लामा पस्मिनाका कच्चापदार्थ उत्पादन हुन थालेको अधिकारी बताउँछन् । ‘त्यहाँ बाटोघाटोका कारण कच्चापदार्थ सङ्कलन गर्न अलिक कठिन हुने गरेको छ’, अधिकारीले भने, ‘प्रशोधनमै बढी खर्च हुने भएकाले नेपाली पस्मिना महँगो पर्छ ।’
आफूले ३५ ग्रामदेखिका सल र तीन किलोग्रामसम्मका ब्ल्याङ्केट बनाउने गरेको अधिकारी बताउँछन् ।
मण्डला पस्मिना एण्ड हेन्डिक्राफ्ट उद्योगकी सञ्चालक राम्चे पेमा लामा शेर्पा भने आफूले उत्पादन गरेका पस्मिनाका कपडा नेपालमै बढी खपत हुने गरेको बताउँछिन् ।
‘हामीले उत्पादन गरेको पस्मिना खासगरी ठमेल, बौद्ध र पोखरास्थित आफ्नै आउटलेटबाट बिक्री हुन्छ । विदेशमा पनि केही परिमाणमा निर्यात हुन्छ’, शेर्पा भन्छिन्, ‘धेरैजसो पस्मिना ठमेलको आउटलेटबाटै बढी मात्रामा बिक्री हुने गरेको छ ।’
आवश्यक कच्चापदार्थ चीनबाट ल्याउने गरेको सोह्रखुट्टेमा पस्मिना उद्योग सञ्चालन गरेकी शेर्पा बताउँछिन् । ‘हामीले खासगरी मफलर, सल र स्वेटरहरू बनाउँछौँ’, शेर्पाले भनिन्, ‘बाहिरबाट कच्चापदार्थ ल्याउँदा कर तथा भन्सार र बनाउँदा ज्याला महँगो लाग्छ, त्यसैले पस्मिना महँगो हुने गरेको हो ।’
एक्पोमा आउँदा आफ्नो व्यवसायप्रति राम्रो प्रतिक्रिया प्राप्त गरेको शेर्पाले बताइन् । ‘पस्मिना बिक्री पनि भएको छ, पस्मिनाबारे बुझाउनसकिएको छ’, शेर्पा भन्छिन्, ‘धेरैजसोले महँगो भयो भन्ने गर्नुभएको छ ।’
आफ्नो उद्योगमा ३५० देखि आठ हजार रुपैयाँसम्मको पस्मिना पाइने शेर्पा बताउँछिन् ।
‘हाम्रोमा ३५० रुपैयाँको पस्मिना पनि पाइन्छ, तर त्यसमा मिसावट हुन्छ’, शेर्पाले भनिन्, ‘पस्मिनाको सलको मूल्य बढीमा ७५०० रुपैयाँसम्म पर्छ, जो पुरै पस्मिनाले मात्रै बनेको हुन्छ ।’
(तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी ।)
प्रतिक्रिया