कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।
शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन । रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गरेको घटनाको भर्त्सना गरेको छ।
रास्वपा कार्यकर्ताहरूले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली, गलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतीत भएको विज्ञप्तिमा उल्लेख छ।
‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर अराजक समूहको अगाडि निरीहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ।
अराजक कार्यकर्ताहरूले सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पु¥याउने कुकृत्यप्रति आपत्ति जनाएको छ।
यस्ता कार्यमा संलग्नलाई कारवाहीका लागि कानुनी बाटो खोजिने विज्ञप्तिमा भनिएको छ। विदाको दिन प्रदेश सभा सचिवालबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले गइरहेका बेला अनावश्यक रूपमा योजनाबद्ध ढंगले उछृङखल समूहले बाटो छेकेर अमानवीय व्यवहार प्रदर्शन गरेको रावलको सचिवालयले जनाएको छ।
घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ।
प्रतिक्रिया