दोलखा – पछिल्लो समय बजारमा किवीको माग बढिरहेको छ। मंसिरपछि बजारमा किवीको माग धेरै हुने गर्दछ ।दोलखामा पछिल्लो समय दर्जनौं किसानले व्यवसायीक रूपमा किवी खेती गर्दै आएका छन् ।
जिल्लामा एउटै किसानले एक हजारदेखि दशौ हजार केजीसम्म किवी फलाउन थालेका छन्। शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गरेको सुनाए।
उनले उत्पादन गरेको किवी प्रायः सबै काठमाडौं लगेर स्टोर गरेर बिक्री गर्ने गरेको बताए। जिल्लामै लाखौं खर्चेर निर्माण गरिएको शैलुङको कोल्डस्टोर प्रयोगविहिन बन्दा केजीमै ५ रुपैयाँ शुल्क तिरेर पाँच हजार केजी किवि काठमाडौंको लगनखेल महालक्ष्मी स्थानको कोल्डस्टोरमा राखेर बिक्री गर्दै आएको उनले बताए।
कार्कीले गत वर्ष पनि काठमाडौंकै विभिन्न स्थानका चिस्यान केन्द्रमा किवी राखेको सुनाए।लाखौं लगानी गरेर निर्माण गरिएको गाउँको कोल्डस्टोर प्रयोगमा आउन नसक्दा अफसिजनसम्म किवी राख्नको लागि काठमाडौंमा महंगो शुल्क तिर्नु पर्ने उनको गुनासो छ ।
उनि भन्छन् ‘केही वर्ष अघिनै निर्माण सम्पन्न भएको जिल्लाकै ठुलो ३ सय मेट्रिक टन क्षमताको शैलुङ सितभण्डार सञ्चालन गर्न स्थानीय सरकार तथा सरोकारवालाले चासो नदिँदा वर्षौनि हजारौं रुपैयाँ काठमाडौंका सितभण्डारलाई किवी राखेबापत बुझाउनु परेको छ।’
शैलुङमा आफु जस्तै लाखौंको किबि तथा आलु उत्पादन गर्ने किसान छन्।तर करिब ७ करोड खर्चेर निर्माण गरिएको सितभण्डार प्रयोगविहीन छ। पटकपटक उक्त स्टोर भण्डारलाई प्रयोगमा ल्याउन स्थानीय सरकारलाई भनेपनि कुनै सुनाइन् नभएको कार्कीले बताए।
कार्कीले वर्षौंदेखि खाली रहेको दुई हेक्टर पाखो बारीको सदुपयोग गरेर सात सय बोट किवी लगाएका छन्। उनले लगाएको करिब तिन सय पचास बोटबाट वार्षिक २० लाख बराबरको किबि उत्पादन हुँदै आएको बताए।
शैलुङका किवी किसान कार्कीको जस्तै दुखेसो दोलखाकै अर्का किसान जिरी–२ एलुङका पासाङ तेन्जी शेर्पाको पनि रहेकोे छ। शेर्पा जिरीका एक सफल किवी किसान तथा व्यापारी हुन्। शेर्पाले दोलखामै गुणस्तरीय किवी उत्पादन गर्दै आएका छन्।उनले वार्षिक हजारौं केजी किवी उत्पादन गर्दै आएका छन्।
शेर्पाले पनि अफसिजनको लागि काठमाडौं किवीभण्डार गर्दै आएका छन्। जिल्लामा किबि खेती गर्ने किसान बढेपनि किबि राख्ने सितभण्डार नभएको उनले सुनाए। केही निर्माण भएका सितभण्डार पनि प्रयोग बिहिन बन्दा आफुजस्तै किबि व्यवसायीहरूले ठुलो समस्या भोग्नुपरेको उनले बताए।
दोलखाका विभिन्न स्थानमा निर्माण भएका सितभण्डार किसानलाई पाएक पर्ने ठाउँमा छैनन् कतिपय निर्माण भएर थन्किएर बसेका छन्। जिल्लामा किवीको बजार छैन। उत्पादित किबिको माग काठमाडौं लगायतका ठुला बजारमै राम्रो भए पनि दोलखाको किबिलाई अफसिजनसम्म राख्न काठमाडौं नै पुर्याउनु पर्ने बाध्यता रहेको शेर्पाले बताए।
शेर्पाको सर्वाखास कृषि फार्ममा उत्पादन भएको किवी पछिल्लो समय देशभर लोकप्रिय र स्वादिष्ट बन्दै गएको छ। अन्य साना किसानले भदौ देखिनै किवीलाई बजारमा ल्याउने गरेपनि आफ्नो फार्मबाट कात्तिक–मंसिर पछिको समयमा मात्रै बजारमा किबि जाने गरेको बताए।
बजार पाउने आसमा कतिपय किसानले काचो किबिलाई बजार पुर्याउदा कात्तिक अघिको किबी अमिलो र कम स्वादिलो हुने हुँदा सिङ्गो जिल्लाको किबिलाई निर्यातकर्ता तथा ब्यापारीले एउटै ठानेर जिल्लाको किबिलाई महत्त्व दिन छाडेको बताए।
उनले हाल एक हजार नौ सय बोट किबि लगाएका छन्। शेर्पाले ग्राहकको रोजाइ अनुसारको गुणस्तर र साइज अनुसारको किबि मात्रै गृड वर्गीकरण गरेर बजार लाने गरेको सुनाए।
काठमाडौंमा मासिक प्रतिकेजी ५ रुपैयाँ तिरेर असारसम्म जिरीको किबिलाई कोल्डस्टोर राखेर पोखरा,जनकपुर,गुल्मी तथा इन्डियासम्म पठाउने गरेको शेर्पाले सुनाए।
शेर्पाले यस वर्ष १२ सय केजी किबि भारत निर्यात गरेको समेत सुनाए।राज्यले भारतबाट आउने बस्तुलाई जस्तै गरी नेपालमा उत्पादित फलफूल तथा तरकारीलाई सहज रूपमा भारत लगायतका देशमा पठाउन दिए अझ सहज हुने समेत शेर्पाको भनाइ रहेको छ।
यता जिल्लाका अन्य किसानले भने,राज्यले करोडौं लगानी गरेर निर्माण गरेको तीन सय मेट्रिक टन भण्डारण क्षमताको शैलुङ सितभण्डारलाई प्रयोगमा ल्याउन सके दोलखामा उत्पादन हुने आलु,किवि, काउली र तरकारीहरु अफसिजनमा पनि सहजरूपमा राख्न सकिने किसानहरु बताउछन्।
२०७८र०८९ सालमै ६ करोड ४५ लाख लगानी गरेर निर्माण भएको उक्त सितभण्डार अझै प्रयोगमा आउन नसक्दा जिल्लाका किसानले महगो यातायात ढुवानी सहित कोल्डस्टोर शुल्क तिर्नुपर्ने बाध्यता रहदै आएको छ।शैलुङ लगायत अन्य क्षेत्रमा निर्माण भएका चिस्यान केन्द्रलाई नियमित प्रयोगमा ल्याउन सके जिल्लाका स्थानीयतहको आन्तरिक आम्दानी वृद्धि हुनेसमेत किसानहरु बताउछन्।
प्रतिक्रिया