सुर्खेत – कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्ग र साइकल मार्ग निर्माण अलपत्र परेको छ ।
पर्यटन पदमार्ग बनाउन कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागी डिभिजन वन कार्यालय मुगुले आर्थिक वर्ष ०७८/०७९ मा ठेक्का लगाएको थियो । साइकल मार्ग बनाउने काम २०७५ सालबाटै थालिएको थियो ।
रारा ताल क्षेत्रमा १४.१ किलोमिटर पदमार्ग बनाउन संघीय सरकार र कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ४६ करोड विनियोजन गरेको थियो । जसमा ४५ करोड २९ लाख १० हजार चार सय ७९ रुपैयाँ ६५ पैसामा निर्माणको जिम्मा लिएको खानी थोदुङ्ग क्याराभान जेभी प्रालिले आर्थिक वर्ष ०७८-०७९ मा निर्माणको जिम्मा पाएको थियो ।
सम्झौताअनुसार १४.१ किलोमिटर लामो पदमार्गमा ढुङ्गा १५ सेन्टिमिटर उचाइमा सिमेन्ट १० सेन्टिमिटर पिसीसी र दैलेखको खानी ढुङ्गाका सिलेटहरु बिच्छाउनु पर्ने थियो। तर हालसम्म ४० प्रतिशत भौतिक प्रगति, २० प्रतिशत वित्तीय प्रगति भएको डिभिजन वन कार्यालय मुगुका कार्यालयका प्रमुख जितेन्द्र महतले बताए ।

‘चिसोका कारण निर्माण गर्न अप्ठयारो भएको निर्माण कम्पनीले जानकारी दिएको थियो,’ उनले भने, ‘यही फागुनबाट काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।’
कर्णाली प्रदेशकै पर्यटन क्षेत्रको गौरवको योजना निर्माणमा ठेकेदार पक्षले ढिलाइ गरेको स्थानीय रजबहादुर शाहीको गुनासो छ ।
‘१४.१ किलोमिटर लामो पदमार्गका पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीलाई मात्र दोष दिनुभन्दा सरकारी निकाय पनि जिम्मेवार देखिँदैन ।’
विगतमा साइकल मार्ग बनाउन जति ढिला भयो, अहिलेको काम हेर्दा पर्यटकीय पदमार्ग बनाउन पनि त्यस्तै ढिलाइ हुने चिन्ता स्थानीयमा रहेको शाहीले बताए ।
रारामा पर्यटकीय पदमार्ग बनाउन अझै ठेकेदार कम्पनीसँग १८ महिनाको सम्झौता बाँकी छ । चाँडो निर्माण गर्नका लागि पहल थालिएको डिभिजन वन कार्यालय मुगुका कार्यालयका प्रमुख महतले जानकारी दिए ।
चार वर्षदेखि अलपत्र साइकल मार्ग
कर्णाली प्रदेश सरकारले रारा तालमा स्वदेशी तथा विदेशी पर्यटक तान्न र उनीहरूको सहजताका लागि साइकल मार्गको परियोजना २०७५ सालमै ल्याइएको हो । साइकल मार्ग निर्माण भएपछि रारालाई परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृश्य अवलोकन गर्न सक्ने कर्णाली प्रदेश सरकारले लक्ष्य राखेको थियो ।
रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने पर्यटकलाई लक्षित गरिएको उक्त परियोजना सुरु गर्न कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले करिब तीन करोड विनियोजन गरेका थिए ।
साइकल लेन बनाउन त्यसबेला शंङ्कर मालिका कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको थियो । रारा पर्यटकीय पूर्वाधार साइकल मार्गको निर्माणको काम २०७७ सालदेखि अलपत्र छ । दुई करोड ८९ लाखमा निर्माण कम्पनीले काम गर्न पहिलो किस्ता एक करोड रुपियाँ पेस्की लिएर काम अलपत्र पारेको छ।
साइकल मार्ग बनाउने बेला ठेकेदार कम्पनीले कोरोना महामारी लगायत समस्या देखाएर मन्त्रालयबाट भुक्तानी लिएको थियो । अहिले पनि यो बहुवर्षीय आयोजना नभएर वार्षिक योजनामा रहेका कारण ठेकेदार कम्पनीलाई कारबाही गर्न नसिकएको कार्यालयका प्रमुख महतले बताए ।
‘यो काम कोरोना महामारी लगायतका अन्य समस्या देखाएर पूरा हुन सकेको छैन,’ उनले भने,‘साइकल मार्गको काम गर्नका लागि अहिले निर्देशन दिने गरेका छौं ।’
रारामा सुविधासम्पन्न होटेल
रारा तालको मुर्माटपमा मोनोरेलसहितको ‘रारा रिसोर्ट’ बन्न लागेको छ । यही माघ ३० गतेबाट रारा तालको मुर्माटपमा मोनोरेल, हेलिप्याडसहित रारा रिसोर्टको निर्माण सुरु भएको छ ।
गत वैशाखमा भएको लगानी सम्मेलनमा मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको थियो । मुगुको छायानाथ रारा नगरपालिका– ९, मुर्माटपमा डेढ अर्ब रुपैयाँ लागतमा रारामा हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण हुन लागेको छ ।
वैशाख महिनामा आयोजित लगानी सम्मेलनमा भएको सम्झौताअनुसार रिसोर्टको बन्न लागेको हो । यो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानी छ । एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्रालिका अध्यक्ष अभिषेकविक्रम शाहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
रिसोर्टमा हुने भिल्लाहरू मुगुका प्राचीन बस्तीको अवधारणामा तयार गरिने लगानीकर्ताले बताएका छन् । कुल ६० कोठा क्षमता रहने रिसोर्टले पहिलो चरणमा ४० कोठा क्षमतामा सञ्चालनमा ल्याउने योजना छ ।
डिजाइनअनुसार रिसोर्टमा एउटा सुइट, ४ डिलक्स र बाँकी ३५ वटा स्टाण्डर्ड रुम हुनेछन् । कुल ८० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टमा पहिलो चरणमा १२ वटा भिल्ला तयार गर्ने योजना छ ।
रिसोर्टमा एक सय जना क्षमताको रेष्टुरेण्ट, एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने शाहले बताए । यस्तै, रेस्टुरेन्ट, मिटिङ हल, साउना, स्टिम, जिम हललगायत लक्जरी रिसोर्टमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने छन् ।
प्रतिक्रिया