पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ | Khabarhub Khabarhub

पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ

प्रतिव्यक्ति न्यूनतम एक लाख सात हजार रुपैयाँ लाग्ने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाइपलाइनमा राखेको छ ।

यी सबै आईपीओ भर्न चाहने एक आवेदकले कम्तिमा एक लाख सात हजार रुपैयाँ रकम धितोपत्र बिक्री प्रबन्धकको खातामा पठाउनेछन् ।

साधारण शेयर (आईपीओ) मार्फत् पुँजी सङ्कलन गर्ने योजनामा ८८ वटा कम्पनीहरूले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । बोर्डले २०८२ वैशाख ४ गते सार्वजनिक गरेको सूची अनुसार ८८ कम्पनीले हाल आईपीओ जारी अनुमति कुरिरहेका छन् ।

यता थप शेयर निष्काशन (एफपीओ) अनुमति कुरेर बसेका कम्पनीको समेत हिसाब गर्दा सर्वसाधारणले शेयर भर्ने कम्पनीको सङ्ख्या अझ बढी छ । धितोपत्र बोर्डले २०८१ चैत १ गते सार्वजनिक गरेको सूची अनुसार चारवटा कम्पनी एफपीओ निष्काशन अनुमति पर्खाइमा छन् ।

अनुमति मागेका सबै आईपीओ जारी भए कम्पनीहरूले सर्वसाधारणबाट ५५ अर्ब ५६ लाख ७९ हजार ५३२ रुपैयाँ रकम सङ्कलन गर्नेछन् । यो मूल्य बराबरको ४० करोड ३९ लाख ७० हजार ६४ कित्ता शेयर निष्काशन हुनेछ ।

जसमा सबै कम्पनीको आईपीओ आएको खण्डमा लगानीकर्ताले एक लाख सात हजार ५८७ रुपैयाँ २० पैसा शेयर बिक्री प्रबन्धकको खातामा पठाउनेछन् । आईपीओ नपरे सर्वसाधारणले रकम फिर्ता पाउनेछन् ।

जलविद्युतका धेरै

आईपीओ निष्काशन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत (हाइड्रोपावर) समूहका छन् । यस्ता कम्पनीको सङ्ख्या ४४ छ ।

२२ महिनायता यो समूहको आईपीओ जारी भएको छैन । सोही कारण आईपीओ निष्काशन पाइपलाइनमा ऊर्जा क्षेत्रका कम्पनी बढी रहेका ऊर्जा व्यवसायीहरू बताउँछन् ।

हाइड्रोका सबै ४४ कम्पनीको आईपीओ जारी हुँदा १९ अर्ब ४८ लाख १६ हजार १९१ रुपैयाँ बराबरको १९ करोड ४८ लाख १६ हजार १९१ कित्ता शेयर सर्वसाधारणमा जानेछ ।

आवेदन दिएका हाइड्रो कम्पनीमध्ये दुई वटाले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन बोर्डसँग अनुमति मागेका छन् । सेन्चुरी इनर्जी लिमिटेडले २७५ रुपैयाँ ११ पैसा प्रतिकित्ता र हिमाल हाइड्रोपावर लिमिटेडले २१८ रुपैयाँका दरले आईपीओ निष्काशन अनुमति मागेको हो ।

जलविद्युत समूहका अन्य ४२ वटा कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन अनुमति मागेका छन् । हाइड्रोका सबै कम्पनीको आईपीओ भर्न एक आवेदकलाई ४६ हजार ६९३ रुपैयाँ १० पैसा लाग्नेछ ।

उत्पादन र प्रशोधन समूहका १७ आईपीओ

आईपीओ निष्काशन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये १७ वटा उत्पादन तथा प्रशोधन समूहका हुन् ।

उक्त समूहका सबै कम्पनीले आईपीओ निष्काशन गर्न पाए सर्वसाधारणबाट २४ अर्ब ४७ करोड ९८ लाख ६२ हजार ३९६ रुपैयाँ रकम सङ्कलन गर्नेछन् । सो रकम बराबरको ११ करोड १६ हजार ५४१ कित्ता शेयर निष्काशन हुनेछ ।

उत्पादन तथा प्रशोधन समूहमा ६ वटा कम्पनीहरूले बुक बिल्डिङ र प्रिमियममा आईपीओ निष्काशन अनुमति माग गरेका छन् । बाँकी ११ कम्पनी भने प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन पर्खाइमा छन् ।

उक्त समूहका सबै कम्पनीको आईपीओ जारी भए सर्वसाधारण एक आवेदकले २६ हजार ३९६ रुपैयाँ १० पैसा बराबरको आवेदन दिनेछन् ।

अन्य समूहका ११ वटा

पाइपलाइन सूची हेर्दा अन्य समूहका ११ वटा कम्पनीले आईपीओ जारी गर्न खोजेका छन् । उक्त समूहका कम्पनीले तीन अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७०० रुपैयाँ बराबरको तीन करोड २४ लाख ३६ हजार ९५७ कित्ता शेयर सर्वसाधारणलाई बेच्न खोजेका हुन् ।

उक्त समूहका ११ मध्ये सातवटा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्न अनुमति मागेका हुन् । बाँकी तीन कम्पनीले भने बुक बिल्डिङ र प्रिमियमबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन् ।

नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड (न्यूज २४ टिभी)ले भने प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ बिक्री गर्ने अनुमति माग गरेको छ ।

होटल तथा पर्यटनका नौ कम्पनी

होटल तथा पर्यटन समूहका नौ कम्पनीले पनि धितोपत्र बोर्डसँग आईपीओ निष्काशन अनुमति मागेका छन् ।

यो समूहका नौ कम्पनीले चार अर्ब १० करोड ७० लाख रुपैयाँ बराबरको चार करोड ३३ लाख २० हजार कित्ता शेयर आईपीओ निष्काशन अनुमति पर्खिएका हुन् ।

आवेदन दिएकामध्ये अकामा होटल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले शेयर आईपीओ बिक्री गर्ने अनुमति मागेको छ । बोर्डले अनुमति दिए बाँकी आठ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणलाई शेयर बेच्नेछन् ।

होटल तथा पर्यटनको सबै आईपीओ जारी हुँदा एक आवेदकले आठ हजार ५०० रुपैयाँ बराबरको शेयरका लागि आवेदन दिनुपर्नेछ ।

यसैगरी, लघु बीमाका तीनवटा कम्पनीले पनि बोर्डसँग आईपीओ निष्काशन अनुमति मागेका छन् । ६ करोड ५७ लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर जारी गर्न यी कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् ।

यो समूहका कुनै पनि कम्पनीले बुक बिल्डिङ र प्रिमियम दरमा आईपीओ जारी गर्न अनुमति मागेका छैनन् । प्रोटेक्टिभ, स्टार र लिबर्टी माइक्रोइन्स्योरेन्स कम्पनीका शेयर भर्न एक आवेदकले तीन हजार रुपैयाँ रकम तिर्नुपर्नेछ ।

प्रतिकित्ता २१० रुपैयाँमा आईपीओ बेच्न खोज्दै शिवम्

लगानी समूहतर्फका पनि तीनवटा कम्पनीले आईपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् ।

शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्ग्स लिमिटेडले प्रिमियममा प्रतिकित्ता २१० रुपैयाँका दरले आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

लगानी समूहतर्फ कूल दुई अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको एक करोड ५५ लाख ५० हजार ३७५ कित्ता शेयर निष्काशन पर्खाइमा छ । तीनवटै कम्पनीको आईपीओ भर्न एक आवेदकले चार हजार १०० रुपैयाँ बराबरको आवदेन दिनुपर्नेछ ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले आठ लाख रुपैयाँ बराबरको ८० हजार कित्ता शेयर निष्काशन अनुमति मागेको हो

निष्काशन कहिलेसम्म ?

बोर्डले २२ महिनादेखि आईपीओ निष्काशन अनुमति नदिँदा थप आयोजनामा लगानी गर्न नसकिएको ऊर्जा उत्पादकहरूले बताउने गरेका छन् ।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे आईपीओ निष्काशनका लागि आवेदन दिएका कम्पनीहरूमाथि क्रमैसँग रिभ्यू (समीक्षा) गर्ने काम भइरहेको बताउँछन् ।

‘कतिपय कम्पनीहरूले आवेदन दिएको लामो समय भइसकेको छ’, घिमिरेले भने, ‘त्यस्ता कम्पनीले पहिले आवेदन दिँदा पेश गरेका कागजात अद्यावधिक गराउनुपर्छ ।’

अहिले पनि धितोपत्र बोर्डले सबै कागजात समीक्षा गरिरहेको र अपुग कागजात ल्याउन कम्पनीलाई क्रमबद्ध रूपमा भनेको घिमिरे बताउँछन् ।

‘अद्यावधिक गरेर पठाएपछि बोर्डले योग्यताका आधारमा ती कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिनेछ’, घिमिरे भन्छन्, ‘लामो समयदेखि आईपीओ जारी गर्न बसिरहेका कम्पनीको समीक्षा र विवरण अद्यावधिक गराउन समय लागेकाले केही ढिलाइ भएजस्तो देखिएको हो ।’

कागजात र कानुनसम्मत प्रक्रिया पुर्‍याएका कम्पनीको हकमा भने आईपीओ निष्काशन अनुमति दिएको घिमिरेले बताए । ‘एकैचोटी सबै कम्पनीको रिभ्यू गर्न सक्ने अवस्था हुँदैन’, घिमिरेले भने, ‘क्रमैसँग एक पछि अर्को गर्दै कम्पनीको रिभ्यू गर्ने हो । त्यसो गर्दा केही समय लाग्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ०८ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको