युवा संघमा सुमन पुरीको चुनौतीले केपी ओलीको निर्देशन अलपत्र पर्ने डर | Khabarhub Khabarhub

युवा संघमा सुमन पुरीको चुनौतीले केपी ओलीको निर्देशन अलपत्र पर्ने डर

क्षितिज थेवेलाई टीको लगाइदिन नेताहरूको रस्साकस्सी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एक सूत्रीय निर्देशन छ, ‘सबै २३ वटा जनवर्गीय संगठनमा चुनाव नगराउनू, सर्वसम्मतिले नेतृत्व चयन गर्नू ।’

अचेल ओलीले दिएको भन्दै यही एक बुँदे निर्देशन सुनाउँदै हिँडिरहेका छन् एमालेको जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल । अहिलेसम्म भएका एमालेका ११ वटा जनवर्गीय संगठनमा एमालेले लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध गरेर नेतृत्व छानेको छ।

त्यही क्रम एमालेले पोखरामा राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा पनि दोहोर्‍याउन चाह्यो । त्यसकै लागि जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत र युवा संघका इन्चार्ज राजीव पहारी पनि खटिएका छन् ।

तर, पोखरामा उनीहरूले सोचे जस्तो सहज भएन । ओलीले नेताहरूलाई यस पटक क्षितिज थेवेलाई नै अध्यक्षमा दोहोर्‍याउन निर्देशन दिए । त्यो पनि चुनाव होइन, सर्वसम्मतिबाट ।

तर, ओलीको उक्त निर्देशनमाथि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले प्रश्न उठाए । उनीहरूले सर्वसम्मतिका नाममा प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै बन्दसत्र हलमै नाराबाजी गरे ।

खासमा युवासंघको अध्यक्षका लागि सुमन पुरी पनि दौडमा छन् । तर थेवेले ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकोसमेत आशिर्वाद लिएर दोहोरिन चाहेका छन् ।

यसअघि ११ वटा जनवर्गीय संगठनमा टीको लगाएर नेतृत्व चयन गरिसकेको एमालेका लागि युवा सघंको महाधिवेशन निल्नु न ओकल्नु भएको छ। शनिबार बन्दसत्र हलमा पुरी पक्षका प्रतिनिधिहरूले निर्वाचन माग्दै नाराबाजी गरे । त्यसक्रममा ओलीसहितका नेताहरूको पनि त्यहाँ विरोध भयो ।

नाराबाजी भएपछि पनि एमालेका नेताहरू पुरीलाई गलाउन जोडतोडले लागेका छन् । त्यसका लागि ढकाल, बस्नेत र पहारीले पुरी र उनीनिकटहरूलाई गलाउने सबै प्रयास गरिरहेका छन् । थेवेलाई टीको लगाइदिने पक्षमा रहेका युवासंघका इन्चार्ज पहारी अहिले पुरीलाई गलाएर पछि हटाउने अभियानमा लागेका छन् ।

थेबेलाई अध्यक्ष बनाउन नवौँ महाधिवेशनमा नेतृत्वको दाबी गर्नेहरूलाई किनारा लगाउन मिति नै सारिएको थियो । त्यसबेला उमेर हदसहितका उपाय झिकेर थेबेलाई अध्यक्ष बनाएर अन्य दाबेदारलाई हटाइएको थियो ।

यस पटक अघिल्लो महाधिवेशन गर्दा किनारा पारिएका अध्यक्षका दाबेदाहरू पुरीको पक्षमा लागिरहेका छन् । थेबेलाई अध्यक्ष बनाउन उमेर हदसहितका उपाय झिकेर महाधिवेशन मिति नै त्यसबेला सारिएको थियो ।

‘त्यसबेला अध्यक्षको लाइनमा रहेर हटेकाहरू अहिले सुमन पुरीको पक्षमा लागेका छन् । थेबेको पालामा युवासंघलाई नेतृत्वको चाकडीको हतियार बनाइएको आरोप पनि लागिरहेको छ’, एकजना नेताले भने, ‘संघले आफूलाई ओलीलाई रिझाउन मात्रै सक्रिय बनाएको तर सिर्जनात्मक हुन नसके आक्षेप थेबेमाथि छ ।’

स्रोतका अनुसार थेबेलाई ओली र पूर्वराष्ट्रपति भण्डारीको आशिर्वाद मिल्दा पुरीलाई महासचिव शंकर पोखरेलले मौन समर्थन गरेका छन् । उता प्रधानमन्त्रीकै सचिवालयका केही सदस्यले पुरीको पक्षमा उभ्याएको स्रोतले उल्लेख गरेको छ ।

सुमन पुरीलाई सहानुभूति दिने पार्टीको एउटा ठूलो समूह भए पनि खुलेर लागेको छैन । त्यहीकारण उनका समर्थकहरू अलमलमा परेका छन् । पुरी पक्षलाई गलाउने कोसिस अहिले पनि जारी छ । यदि उनी पछि नहटेमा चुनाव हुने सम्भावना बलियो रहेको एकजना नेता बताउँछन् । त्यसो भएमा महाधिवेशन भएका एमालेका जनसंगठनमध्ये युवा संघ चुनावमा जाने पहिलो संगठन हुने छ ।

एमाले अध्यक्ष ओलीबाटै निर्देशन आएमा मात्रै पछि हट्ने अडानमा आफू रहेको पुरीले निकटस्थसँग बताएका छन् । उनले पार्टीतिर लगेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने अवस्था भए पछि हट्न सकिने सन्देश दिएका छन् ।

युवासंघले अहिले पनि महेश बस्नेतकै पालादेखिको उधारो र ऋण नतिरेको आरोप पनि लागिरहेको छ । उक्त कुरा महाधिवेशनस्थलमै पनि उठेको छ। यस्तोमा केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गरेर थेबेसहितले व्यक्तिगत फाइदा लिएको आरोप पनि लागिरहेको छ । केपी ओली कपको रकम व्यक्तिगत प्रयोजन र सवारीसाधन खरिदमा पनि लगाइएको कुरा युवा संघको एउटा पक्षले उठाइरहेको छ ।

शनिबार ढकालसहितका नेताहरू थेवेलाई दोहोर्‍याउने जोड गर्न थालेपछि पुरी पक्षले आपत्ति जनायो । पुरी पक्ष खुलेर विरोधमा उत्रिएपछि अरूले पनि प्रदर्शन र नाराबाजी गरे । त्यहीकारण शनिबार मतदाता नामावली प्रकाशन रोकियो ।

शनिबार ढकाल, बस्नेत र पहारीले युवा संघको नयाँ नेतृत्व भन्दै महासचिव पुरीसामु एउटा खाका प्रस्तुत गरेका थिए । तर पुरीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन् ।

थेवेलाई टीको लगाइदिने जोडबलमा नेताहरू लागेपछि अध्यक्षका अरू दाबेदार पनि विरोधमा उत्रिए । वर्तमान कमिटीका उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङले पनि निर्वाचनको मागसहित प्रदर्शन गरे । उता युवा संघलाई लामो समयदेखि आफ्नो निजी संगठन जस्तै बनाइरहेका महेश बस्नेत र पहारीसहितले निर्वाचनमै जाने भन्दै थेवेको प्यानल बनाउन थालेका थिए ।

यो महाधिवेशनमा पूर्वगृहमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पनि सक्रियता देखाएका छन् । उनी एमालेमा महासचिव शंकर पोखरेल नजिकका नेता हुन् । उनले महासचिव पोखरेलनिकट वर्तमान महासचिव पुरीलाई सघाउने सन्देश शनिबार नै दिएका छन् । यसका कारण सर्वसम्मतिका नाममा टीको लगाएर नेतृत्वको छान्ने ओलीको निर्देशन शनिबार कार्यान्वयन भएन ।

आइतबार पुरीलाई जसरी पनि गलाउने अभियानमा नेताहरू सक्रिय छन्। पुरीसहित वर्तमान उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङलाई गलाएर थेवेलाई नै अध्यक्षमा दोहोर्‍याउने योजना नेताहरूको छ । थेवेले पनि चुनाव नै लड्न तयार रहेको भन्दै आफूपक्षीय कार्यकर्तालाई नाराबाजी गर्न लगाइरहेका छन् ।

११ वटा संगठनमा टीको

नेकपा एमालेका २३ वटा जनसंगठनमध्ये ११ वटाको महाधिवेशन भइसकेको छ । ती संगठनले फागुनयता महाधिवेशन गरिसकेका छन् ।

अब बाँकी १२ वटा जनसंगठनको महाधिवेशन एमालेले आगामी चैत मसान्तसम्म गरिसक्ने तयारी गरेको छ । त्यसमध्ये ६ वटा जनसंगठनको निर्वाचन यही जेठमा गर्दै छ । जसमा युवा संघ नेपाल पनि हो ।

एमाले जनसंगठन प्रमुख भानुभक्त ढकालका अनुसार ०८१ र ०८२ को वर्षमा जनसंगठनका निर्वाचन गरिसक्ने कार्यतालिका छ ।

फागुनयता भएका ११ वटै जनसंगठनका पदाधिकारी एमालेले सर्वसम्मत चयन गरेकाले त्यसपछि १२ हुने वटाका पनि पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ । अर्थात् नेताहरूले सर्वसम्मतका नाममा निर्वाचनलाई पूरै निषेध गर्न थालेका छन् । एमालेमा विस्तारै प्रतिस्पर्धा हराउँदै गएको छ ।

त्यहीकारण सर्वसम्मत नेतृत्वका नाममा कम्युनिस्ट पार्टीमा ‘टीके प्रथा’ हाबी भएको भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठिरहेको छ ।

एमालेले जनसंगठनहरूमा नेतृत्व छान्न निर्वाचनलाई अंकुश लगाउँदा लोकतान्त्रिक प्रक्रिया भने मर्न थालेको छ । कतिपय संगठनका नेताहरू प्रतिस्पर्धा गर्न नपाउँदा निराश छन् । नेतृत्वमा आउन चाहेका उनीहरूलाई पार्टीको माथिल्लो तहबाट हस्तक्षेप गरेर छेकिएको छ । सहमतिका नाममा प्रतिस्पर्धा निषेध गरिँदा कतिपय सक्षम नेता कार्यकर्ता निरशा भएर पाखा लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै जनवर्गीय संगठनको महाधिवेशन सहमतिमै गर्न निर्देशन दिएका छन् । उनको यो निर्देशनले जनसंगठनका नेताहरूको भावनामा खेलबाड गरेको गुनासो छताछुल्ल छ ।

पार्टी नेतृत्वले ढकाललाई पनि सर्वसम्मत महाधिवेशन गराउन निर्देशन दिएको छ। यसअघि विराटनगरमा भएको प्रेस चौतारीको महाधिवेशनमा उनले त्यही कुरा मञ्चबाट सुनाउँदै निर्वाचन कार्यक्रम नै नराखिएको घोषणा गरे ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफू अनुकूलका मान्छे जनसंगठनमा आफ्नो पकड बलियो बनाउन चाहेको एमाले नेताहरू बताउँछन् । तर ढकाल भने यसलाई अस्वीकार गर्छन्, ‘सर्वसम्मत नेतृत्व आउँदा कतिपयलाई टाउको दुखेको छ । पार्टीले हस्तक्षेप गरेको छैन । उहाँहरू आफैँ तयार हुनुभएको हो ।’

तर ०८१ चैत ११ गते विराटनगरमा भएको एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औँ महाधिवेशनमा प्रतिस्पर्धालाई पूरै निषेध गरियो ।

पदाधिकारीमा निर्वाचन नगरेर सर्वसम्मतिको बाटो रोज्दा चौतारीसम्बद्ध नेताहरूले महाधिवेशनस्थल नै छाडेका थिए । त्योबेला अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई दाबेदार थिए । तर पार्टीले हस्तक्षेप गरे पाण्डेलाई सर्वसम्मतका नाममा टीका लगाइदिएर अध्यक्ष बनायो ।

पछिल्लो पटक जेठ ८ मा भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चयन भए ।

यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मतरुपमा दोश्रो कार्यकालका लागि अध्यक्ष बने । यस संगठनमा पनि एमालेले चुनावी प्रक्रियालाई महत्व दिएन ।

समाजको उपाध्यक्षमा मैना अच्छामी र निर्मल देउला चयन भए । महासचिवमा अनुभूतिबम नेपाली चयन भए । नेपाली यसअघि उपाध्यक्ष थिए । त्यस्तै, उपमहासचिवमा सोमनाथ पोर्तेल, सचिवहरूमा टेक घतानी, तेजकुमार विके, कल्पना बराल र मानदेव हजरा चयन भए ।

महाधिवेशन भएका जनसंगठन र नेतृत्व

०८१ फागुनयता एमालेका ११ वटा जनसंगठनको महाधिवेशन भएको छ । ढकालका अनुसार कुनै पनि जनसंगठनको महाधिवेशन नेतृत्व चुन्न मतदान भएको छैन ।

१.मानवअधिकार तथा सामाजिक न्याय मञ्च : विदुर सुवेदी
२.नेपाल उद्योग व्यवसाय महासंघ : भगिरथ सापकोटा
३.प्रगतिशील इन्जिनियर्स एसोसिएसन : डा. भेषराज थापा
४.राष्ट्रिय अपाङ्गता संगठन नेपाल : जगदीश प्रसाद अधिकारी
५.नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन : विनोद पाण्डे दोस्रो कार्यकाल
६.नेपाल मुस्लिम इत्तेहाद संगठन : हारून हलवाई कादरी
७.प्रेस चौतारी नेपाल : गणेश पाण्डे
८.राष्ट्रिय जनसाँस्कृतिक महासंघ : भूमिका सुब्बा
९.भूमि अधिकार तथा श्रमिक संगठन नेपाल : इन्द्र तामाङ
१०.रिटर्नी फेडरेसन नेपाल : उत्तम अधिकारी
११. नेपाल उत्पीडित जातीय मुक्ति समाज : मनोहर विश्वकर्मा पौडेल

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : १० बजे

रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको

सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’

काठमाडौं– बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्‍को परिसंवादमा वक्ताहरूले

गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु

रसुवा–  गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने