कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ  | Khabarhub Khabarhub

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लामो समयदेखि प्रतिक्षामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम चाडै शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

२०७६ सालबाट प्रसारण लाइनको कामको थालनी भएको भए पनि जग्गा विवाद र बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको रुख कटानका कारणले ढिला भएको आयोजनाको काम दशैंसम्म सकिने शाक्यले बताएका हुन् ।  

२०७६ मा शुरु भएको काम साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना रुख कटान र स्थानीय अवरोधका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन । निकुञ्जको रुख कटानको अनुमति पाएका कारणले काम शुरु भएको छ ।

तर, बाँकेस्थित बैजनाथ गाउँपालिका–१ बानियाँभारमा हाइटेन्सन टावर निर्माणका लागि स्थानीयले जग्गा नदिएपछि काम अलपत्र परेको छ । त्यसका लागि विगत लामो समयदेखि जग्गा मुआब्जा विवाद समस्या हुँदा काम शुरु भएको छैन । 

लामो समयदेखि अवरोध रहेको कोहलपुर–सुर्खेत प्रसारण लाइनको कामका विषयमा चासो राख्दै निर्देशक शाक्य आफैँ आयोजनास्थलको निरीक्षण गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आयोजनाको काम छिटोमा समस्या समाधान गर्न भनेका कार्यकारी निर्देशक शाक्यले कोहलपुर सुर्खेतको १३२ केभी प्रसारण लाइन छिटो सक्न आयोजनाका प्रमुखलाई काम चाँडो सक्न निर्देशन दिएका हुन् । 

कर्णाली प्रदेशमा नियमित विद्युत् अवरोध हुने समस्या रहेको यसको समाधानका लागि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन रहेको र स्थानीयका समस्या बुझेर काम गर्न निर्देशन दिएका छन् ।

‘स्थानीयका समस्या के छन् । त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत् पुर्‍याउनु छ,’ उनले भने,‘स्थानीयका समस्याका कारणले कर्णालीको विद्युत् त अवरोध हुनु भएन । त्यसको कसरी हुन्छ समस्या निकाल्न भनिएको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी, स्थानीय राजनीतिक दलका नेतृत्वहरूलाई अनुरोध गरिएको उनले बताए । ‘मन्त्रालयका सचिवज्यू पनि आउनु भएको थियो  । बानियाँभार बाहेक एक दुई ठाउँमा समस्या रहेको छ,’ उनले भने,‘त्यो पनि समस्या समाधान गर्नका लागि निर्देशन दिएका छौँ ।’ 

दशैंसम्म कर्णालीको बत्ती नियमित हुने र पुरै कर्णालीलाई पनि विश्वसनिय विद्युत् पुर्‍याउन सकिने उनको भनाई छ । ‘सुर्खेतबाट दैलेख–कालिकोट हुँदै जुम्लासम्म छिटो विद्युत् पुर्‍याउँछु भन्ने लागेको छ,’ उनले भने,‘२०६७ सालमा मैले यहाँ काम गरेर गएको थिए । मुगुको गमगढीमा उज्यालो पुर्‍याएको थिए । ग्रिडकै बिजुली गमगढी पुर्‍याउँछु भन्नेमा छु ।’ 

कुनै पनि काम विस्तारै हुँदै जाने र एउटाले बाटो छिचोल्नुपर्ने उनले बताए । ‘जगदुल्लाले रिम्ना–छिन्चु हुँदै लमहीमा जोडिन्छ । त्यो केही समय लाग्ला,’ उनले भने,‘त्यसभन्दा पहिला हामी यताबाट लैजान्छौँ ।’ 

एउटा हाइड्रो पावर बन्नका लागि ६, ७ वर्ष लाग्ने र त्यतिबेला त झिलिमिलि कर्णालीमा भइहाल्ने उनले बताए । ‘त्यो भन्दा पहिला कोहलपुर–सुर्खेत १३२ केभी लाइन निर्माणको क्रममा नै रहेको छौँ,’ उनले भने,‘पहिलो प्राथमिकता रहेको छ ।’

के हो बाँकेको समस्या 

बानियाँभारका स्थानीयले विभिन्न विकल्प हुँदाहुँदै गाउँको बीचबाट प्रसारण लाइन लैजाँदा आफूहरूको उठिबास लाग्ने बताउँदै आएका छन् । कर्णाली प्रदेश सरकारले भने लुम्बिनी प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरी काम सुचारु विगतमा प्रयास गरेको थियो । तर, त्यो अस्थायी रूपमा मात्रै काम हुँदै आएको छ । 

स्थानीयले सरकारले तोकेभन्दा बढी मुआब्जाको माग गर्दै काममा अवरोध गर्दै आएका छन् । आयोजनाअन्तर्गत एक सय ६२ वटा टावरहरुमध्ये एक सय ५३ वटा टावर निर्माण भइसकेका छन् । अब नौ वटा टावर निर्माण सकिएपछि आयोजनाले पूर्णता पाउनेछ ।

बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्मको लाइन विस्तार गर्ने गरी २०७७ असारमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले सुरुमा २४ महिनाको लागि ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४ पटक म्याद थपिसकेको छ । अन्य खण्डमा काम नियमित भए पनि उक्त खण्डमा काममा समस्या भएको थियो ।

बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । बाँकेको दुई क्षेत्र र सुब्बाकुनामा मात्रै विवाद देखिएको छ । आयोजनाको मुख्य सवस्टेशन बन्ने क्षेत्र सुर्खेतको सुब्बाकुनाका केही नागरिकले काममा अवरोध गर्दै आएका छन् । 

स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत् लाइन विस्तार गरेका थिए । ३७ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै होइन विद्युत् विस्तार भएका जिल्लाका नागरिकहरूले लो भोल्टेजसँगै अघोषित लोडसेडिङको मार खेप्नु परिरहेको छ । 

सुर्खेतबाट नै कर्णालीका दैलेख, कालिकोट, जुम्ला र मुगुको विद्युत् प्राधिकरणको ३३ केभी केन्द्रीय प्रसारण लाइन जोडिएको छ । ३३ केभी प्रसारण लाइनका कारणले अहिले यी जिल्लाका बासिन्दाहरूले नियमित विद्युत्को समस्या झेल्नु परेको छ । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ३० बजे

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि

नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड

काठमाडौं– नेपाल–रसियाका वैज्ञानिकहरूबीचको सम्बन्ध सुदृढ बनाउन ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा

मधेशमा तनाव : बाहिर नाराबाजी, भित्र मुख्यमन्त्री यादवको पदभार

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण

फुटेको चार वर्षपछि मिल्न खोज्दै दुई राजावादी दल, लिङ्देन र थापाबीच एक्ला-एक्लै वार्ता

काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलबीच मूलधारका दलहरूको चुनौती बढेका बेला दुई राजावादी