स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान | Khabarhub Khabarhub

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ देखि सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै जिल्लाका विभिन्न सामुदायिक वनमा २७ वटा रिचार्ज पोखरी निर्माण भएका हुन् ।

पछिल्ला चार आर्थिक वर्षमा जिल्लास्थित सामुदायिक वनमा पोखरी निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको जिल्लास्थित डिभिजन वन कार्यालयका वन अधिकृत अम्मरबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार आव २०८१-८२ मा तीन, आव २०८०-८१ मा १२, आव २०७९-८० मा आठ र आव २०७८-७९ मा चार वटा रिचार्ज पोखरी निर्माण गरिएको हो । 

‘एक सामुदायिक वन, एक पोखरी’ अभियान लागू भएसँगै हालसम्म २७ सामुदायिक वनमा २७ वटा पोखरी निर्माण गरेका छौँ’, पराजुलीले भने, ‘आगामी दिनमा पनि अन्य सामुदायिक वनमा यस्तै प्रकृतिका रिचार्ज पोखरी निर्माणलाई निरन्तरता दिँदै जानेछौँ ।’

पछिल्ला केही वर्षयता खोला खोल्सीमा पानीका मुहान सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल फुट्ने, पानीको स्रोत बढ्ने भएकाले यसलाई अभियानका रूपमा सञ्चालन गरिएको उनले बताए।

वन जङ्गलमा वन्यजन्तुलाई पिउनका लागि पानी नहुँदा वन्यजन्तु पानीको खोजीमा जङ्गलबाट गाउँघरतिर आउनेक्रम बढ्दो रहेकाले वन्यजन्तुलाई गाउँतिर प्रवेश गर्न नदिनका लागि पनि यस प्रकारको रिचार्ज पोखरीले महत्त्व राख्ने उनको दाबी छ ।

‘कतिपय ठाउँमा सडक निर्माण गर्ने कार्यले पानीका स्रोतहरू हराउँदै गएका छन्’, वन अधिकृत पराजुलीले भने, ‘माथिल्लो भागमा रिचार्ज पोखरी हुँदा तल्लो तटीय क्षेत्रमा पानीका स्रोत दिगो हुने, वन्यजन्तु तथा चरनका लागि लगिएका पशुचौपायालाई पानी खुवाउन सहज हुने र आवश्यक परेको खण्डमा सिँचाइका लागि पनि प्रयोग गर्न सकिन्छ ।’

 पोखरीको चारैतिर वा आवश्यकता अनुसार पक्की पर्खाल लगाइएको छ भने तल्लो जमिनलाई पुरानै अवस्थामा छोड्ने गरिएको उनको भनाइ छ ।

वनमा निर्माण गरिएका पोखरी बहुउपयोगी रहेका फेदीखोला गाउँपालिका– ४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले बताए। 

‘वनमा निर्माण गरिएका पोखरीलाई उपभोक्ताले बहुउपयोगी तरिकाले प्रयोग गरिरहेका छौँ’, उनले भने, ‘रिचार्ज पोखरीभन्दा तल्लो भागमा पानीको मुहान जोगाइराख्न सहयोग पुग्ने, पशुचौपायालाई खुवाउन, सिँचाइका लागि प्रयोग गर्दै आएका छौँ । वन्यजन्तुले पनि यही पोखरीको पानी खान सक्नेगरी निर्माण गरेका हौँ ।’

पोखरी निर्माणसँगै वन क्षेत्र मनमोहक र सुन्दर देखिन थालेको सुवेदीले बताए। डिभिजन वन कार्यालय स्याङ्जाले प्रतिपोखरी निर्माणका लागि एक लाख उपलब्ध गराएको थियो ।
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ४० बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्