काठमाडौं- इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फर्किका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले विज्ञप्ति जारी गर्दै इरानको जेलमा रहेका नेपाली नागरिक गएराति सकुशल स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।
इजरायल र इरानबीच गत १३ जुन देखि शुरु भएको द्वन्द्व पश्चात नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा उनीहरुलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरानको जेलमा ५ नेपाली रहेका थाहा भएपछि मन्त्रालयले आवश्यक कूटनीतिक पहल गरेको र सोही पहल अनुसार उनीहरु स्वदेश फर्किएको विज्ञप्तिमा उल्लेख छ ।
यसका लागि मन्त्रालयले इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास, कतारको दोहास्थित नेपाली राजदूतावास एवम् इरानको राजधानी तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतसँग निरन्तर सम्पर्क र समन्व गरेको विज्ञप्तिमा जनाइएको छ ।
द्वन्द्वको अवधिमै भारतले ‘अपरेशन सिन्धु’ अन्तर्गत भारतीय नागरिकसँगै नौ जना नेपाली नागरिकहरुलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फर्काएको थियो ।
यससँगै इरानको जेलमा रहेका नेपालीलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ५ जना काठमाडौं अवतरण गरेका छन् ।
यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई सरकारले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया