माटो बेचेर दशैँ खर्चको जोहो | Khabarhub Khabarhub

माटो बेचेर दशैँ खर्चको जोहो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् ।

दशहरा (दशैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् । किसानको खेतिपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् ।

दशैँमा कमेरे (सेतो), चिम्टाइलो, पहेँलो) र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलाठूला पोखरीका डिल, नदी किनारको भीर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताए ।

‘पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ’, उनले भने, ‘हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खर्च बनाउँदैछौँ ।’ दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खर्चको जोहो गर्नुपर्ने उनको भनाइ छ । अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गगरिएको उनले बताए ।

ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको  मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताए ।

नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले पाँच हजारको माटो बेचिसेका छन् । अझै दुई–तीन दिन मेहनत गर्दा थप पाँच–सात हजार आम्दानी हुने जनाउँदै उनले यसले पर्व खर्चको व्यवस्थापन हुने बताए ।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् । घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् ।

अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताइन् । उनका अनुसार अहिले जम्मा गरेको माटो दशैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।

मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाइ छ ।

प्रत्येक वर्षको दशैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खर्च जोहो गर्ने अवसर बन्ने उहाँले बताउनुभयो । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् । (रासस)

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : २५ बजे

दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा– नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४

माओवादीको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ

भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन

भोजपुर– जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ

ऐलुङ खोलाले बगाएर एक जनाको मृत्यु

ओखलढुंगा– मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने लक्पा शेर्पाको छोरी १४ वर्षीया निमडोमा शेर्पाको