जहाँ संकट, त्यहाँ आशिका | Khabarhub Khabarhub

जहाँ संकट, त्यहाँ आशिका

अभिभावक पाउँदा घाइतेहरू दंग



काठमाडौं– नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्‍यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक उमेर समूहका मानिस उक्त दिन सडकमा आएका थिए । 

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वरसम्म पुग्यो । जेन–जीको विरोध र्‍यालीमा देशभक्ति तथा पप गीतहरू बजिरहेको थियो । आधा दिनसम्म कन्सर्ट जस्तो देखिएको आन्दोलनमा गोली चलेपछि एकाएक माहौल बिग्रियो । 

स्कुल र कलेजको ड्रेसमा आन्दोलनमा आएका विद्यार्थीहरूमाथि गोली बर्सियो । जसमा ७४ बढीले ज्यान गुमाइसकेका छन् । त्यसैगरी चार सय बढी घाइते भएका छन् । दुई सय जना अझै उपचारत छन् । आन्दोलनमा शीर्षसहित विभिन्न नेताहरूको घर जल्यो । ठूला व्यापारिक घरानाहरु समेत आन्दोलनको सिकार बन्न पुगे । सामान्य आंकलन गरिएको आन्दोलनले सरकार ढाल्यो ।

इतिहास हेर्दा राजनीतिक व्यवस्था विरुद्धको हरेक आन्दोलनमा गाउँ, मध्यम तथा निम्न वर्गले सडकमा उपस्थिति जनाएको देखिन्छ । जेन–जी आन्दोलनमा पनि अधिकांश बाहिर जिल्लाबाट काठमाडौंमा पढ्न आएका विद्यार्थीको उपस्थिति थियो । विद्यार्थी सँगसँगै कामको सिलसिलामा आएकाहरू आन्दोलनमा सहभागी थिए । 

अधिकांश घाइतेहरू काठमाडौंमा एउटा कोठा भाडामा लिएर बसिरहेका छन् । यस्तो बेलामा नागरिकले अभिभावकको रूपमा सरकारलाई सम्झिन्छ । तर सरकार उनीहरूको अवस्था बुझ्नसम्म पुगेको छैन । के खाएका छन् ? के लगाएका छन् ? औषधोपचार के भएको छ ? घाइते तथा उनीहरूको परिवारलाई दिनुपर्ने परामर्श के हो ? आधारभूत स्तरको सहयोगसमेत बोकेर सरकार पुगेको छैन । 

तर यस्तो संकटको अवस्थामा घाइतेहरूको कोठा–कोठा र अस्पतालको वेडसम्म समाजसेवी आशिका तामाङ पुगेकी छिन् । खाना, नाना, पैसा र करुणा एकसाथ जुटाएर उनी पीडितहरूको दैलोमा पुगेकी छिन् । 

मायाले भरिएको लवज ‘भाइ कान्छा’ आत्मीयताले ओतप्रोत बोली र करुणाले उनले घाइतेहरूको मनोबल बढाएकी छिन् । किन आत्तिएको ? म दिदी छु त भनेर ढाडस दिएकी छिन् । सामाजिक सञ्जालमा लेखेर बिरामीहरूप्रति सद्भाव लेख्न सबैले सक्छन् । तर सबै थोक लिएर पीडितहरूको कोठा–कोठा पुग्न त्यति सजिलो छैन । 

घाइतेहरूको कोठा पत्ता लगाएर चामल र दालका बोरा बोकेर आशिका पुगेकी छिन् । उनी आफू पनि दुई सन्तानकी आमा हुन् । तर अहोरात्र उनी घाइतेहरूको सेवामा पुगेकी छिन् । आफ्नो व्यक्तिगत जीवन भुलेर खटिएकी छन् । बिरामीहरूका लागि खटिने मदर टेरेसाको झल्को दिने गरी गरेको उनको सेवा वास्तवमै सम्मान योग्य छ । 

मोरङकी एक किशोरी जो ट्रमा सेन्टरको वेड नम्बर ४३३ मा कोही भेट्न नआएपछि आशिकासँग भक्कानिएकी छिन् । उनको आँखाको आँसु पुछिदिँदै म दिदी छु नि भनेर हौसला दिएकी छन् । दिइराखेका पैसामा अझै थपिदिऊँ भनेर मनोबल बढाएकी छिन् । 

जोरपाटीमा बस्ने मोरङकी समिता कार्की एकल महिलालाई पनि आन्दोलनमा गोली लागेको छ । सम्बन्धविच्छेद नभए पनि श्रीमान्सँग अलग्गै बसेर एक छोरी हुर्काइरहेकी छिन् । छोरी स्कुल भएको फुर्सदको समयमा उनी आन्दोलनमा सहभागी भएकी थिइन् । उनी आफू पनि जेन–जी नै हुन् । 

कोठाभाडामा बसेर छोरी पठाएकी छिन् । ९१ हजार रुपैयाँ उनले समितालाई सहयोग गरेकी छिन् । आर्थिक सहयोग मात्रै नभएर उनले भोलि फेरि आउने आडभरोसा समेत बाँडेकी छिन् । 

त्यसैगरी, कपनमा बस्ने ललितमान तामाङको कोठामा उनी चामलका बोरा आफैँ बोकेर पुगेकी छिन् । उनका दुई बच्चा छन् ।  श्रीमती ८ महिनाको गर्भवती रहेकी छिन् । २४ गतेको आन्दोलनमा गौशालामा ललितलाई खुट्टामा गोली लाग्यो । एक कोठा भाडामा लिएर परिवारका सदस्य बस्दै आएका छन् । 

उनले हरेक कोठामा बस्ने घाइतेहरूलाई कोठा भाडासमेत सोधेकी छिन् । एक हजार १५ सय पनि लिन नमिल्ने कोठाहरूको ५ हजारदेखि ७ हजार भाडा लिएकोमा तामाङलाई पिरलो छ । टिनको छानो भएको कोठाको ७ हजार भाडा लिएर घरबेटीले श्रमिक मजदुरहरुमाथि अन्याय गरेको उनको भनाइ छ । 

केटाकेटीलाईसमेत उनले मायाले सुम्सुयाएकी छिन् । बर्खामा बाढी पस्ने कोठामा उनीहरू स–साना लालाबाला लिएर बसेका छन् । उनले ललितलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । 

त्यसैगरी, गोरखाका पारस विकलाई नयाँ बानेश्वरमा २३ गते जेन–जी आन्दोलनमा गोली लाग्यो । उनको घाँटीमा गोली लागेको छ । गोली घाँटीमा वारपार भएको छ । उनको घाँटीको आधा भाग प्यारालाइसिस जस्तो भएको छ । तर सरकार उनलाई हालखबरसम्म सोध्न पुगेको छैन । सहयोग गर्न कोही पुगेको छैन ।

आशिकाले पारसलाई ४० हजार रुपैयाँ सहयोग गरेकी छिन् । आन्दोलनमा पारसलाई किशोरी कार्कीले बाइकमा हालेर अस्पताल पुर्‍याएकी थिइन् । उक्त दिन किशोरीले गोली लागेकाहरूलाई मोटरसाइकलमा हालेर अस्पताल पुर्‍याउन सहयोग गरेकी थिइन् । आशिकाले हरेक घाइतेहरूलाई कोठा भाडासमेत सोधेकी छिन् । दुई महिना भाडा तिर्न सहयोग हुन्छ भनेर उनले पैसा दिएकी छिन् । केही परे फोन गर्न भन्छिन् । 

रातोपुलमा बस्ने सोहन दाहाललाई २४ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उनको हात र खुट्टामा गोली लागेको छ । नाक पनि चिरिएको छ । उनको दिसा पिसाबसम्म ओछ्यानमै गराउनुपर्ने भएपछि अस्पतालले आलो घाउमै डिस्चार्ज गरिदिएको छ ।

सोहनलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । उनले फेरि सहयोग लिएर आउने आश्वासन दिएकी छिन् । सबै घाइतेकोमा पुगेको तर झनै धेरै नाजुक अवस्थामा भएको सोहनलाई भेट्न आउन ढिला गरेकोमा उनले माफीसमेत मागेकी छिन् । आशिकाले घाइतेहरूको फोन नम्बर सामाजिक सञ्जालमा राखेर सहयोगको लागि अपिल गरेकी छिन् । 

विकास यादवको आन्दोलनमा गोली आँखाभित्र लागेर दुवै आँखाको ज्योति गुमेको छ । उनले यादवको बहिनीका हातमा ५५ हजार थमाइदिएर फेरि आउने वाचासहित फर्किएकी छिन् । अस्पतालबाट निस्कने बेला यादवको अवस्था देखेर उनी भक्कानिएकी छिन् । युवावस्थामा आँखाको ज्योति गुमाएका युवकको अवस्थाले उनलाई द्रवित बनाएको छ । 

प्युठानका सुजल विकलाई पेटमा गोली लागेको छ । परिवर्तनको लागि लड्दा यस्तो भयो भनेर सम्झाएकी छिन् । विभिन्न संघसंस्थाबाट सहयोग जुटाएर आशिकाले घाइतेहरूको घाउमा मलम लगाउने प्रयास गरेकी छन् । सुजललाई ३५ हजार दिएकी छिन् । 

यस्ता सयौँ घाइतेहरूका लागि ‘आशिका दिदी’ साक्षात देवी बनेर पुगेकी छिन् । उनको कामलाई लिएर सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । चाहना भयो भने एक व्यक्तिले यति धेरै काम गर्न सक्छ भन्ने उनी एक उदाहरण बनेकी छिन् । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : ५८ बजे

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रिय दलित आयोगले जनसङ्ख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका

जेन-जी आन्दोलन : मृतक नेपाली नागरिकका परिवारलाई जनही १५ लाख निकासा गरिने

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली