बेनी–दरबाङ सडक : छ वर्षमा पनि योजना अधुरै | Khabarhub Khabarhub

बेनी–दरबाङ सडक : छ वर्षमा पनि योजना अधुरै


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सात किलोमिटर लामो सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डमा तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र सकिएको कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। ढाडखर्क, दरबाङ बजारमा स्ट्रक्चर तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  

म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए। 

‘रणवाङ–तोलावाङ खण्डमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि गत वर्ष कालोपत्र भएपनि तोलावाङ–दरवाङ खण्डमा अधुरै छ’, उनले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । 

निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौतालगत्तै कोरोना महामारी, विपद्लगायतका कारणले ढिलाई भएको बताए। 

पहिरो प्रभावितबाहेक ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने थकालीले बताए। गत आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप रु एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो । चालु आवमा रु चार करोड विनियोजन भएको छ । 

मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए। 

‘आव २०८०र०८१ मा काम सम्पन्न गर्न पुग्ने गरी रु पाँच करोड विनियोजन गर्दा ठेकेदारले काम गरेन’, उनले भने, ‘गत वर्ष बिनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाएका थियौँ ।’

यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई छिटो पूर्णता दिनुपर्ने बताए। 
 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : २१ बजे

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको