आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान | Khabarhub Khabarhub

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । 

ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । 

सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताए। 

‘सामान्य दिनमा २०० जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदाको दिनमा ५०० नाग्ने गर्दछ’, उनले भने, ‘यो तिहारको बेलामा त यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा मानिस आएका थिए ।’ 

ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका नेपालको भनाइ छ । 

यस क्षेत्रमा पर्यटकको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भसहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा दृश्यावलोकन स्तम्भ निर्माण अलपत्र परेको नेपालले बताइ। यद्यपि यहाँ स्थानीय भूतपूर्व सैनिकहरूको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उनले बताए। 

‘ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै वनभोजका लागि आउने गरेका छन्’, उनले भने, ‘पार्कभित्र वनभोज स्थलसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’

पार्क नजिकै रहेका होटलमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय हुमनाथ उपाध्यायले बताए। 

‘यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रूपन्देहीबाट मानिसहरू घुम्न आउने गरेका छन्’, उनले भने, ‘यहाँ एकपटक आएका मानिस यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।’

यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिसहरू आउन थालेका भन्दै उपाध्यायले यस क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रको रुपमा विकास हुने सम्भावना रहेको बताए। 

मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित वनभोज आउनुभएकी सरस्वती महतोले यहाँको दृश्यावलोकनका कारण आफूहरूलाई आकर्षित गरेको बताए। 

‘हामी परिवारका सदस्य भेला भएको बेला चार-पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ’, उनले भने, ‘घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन् ।’ 

घरबाट नजिकै पारिवारिक रुपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुम्न आएको महतोले बताए। गैँडाकोटबाट पहिलोपटक साथीहरुसँग यहाँ आएका सुजन पाण्डेले ठाउँ राम्रो भए पनि यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताए। 

पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उनले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताए। ‘नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ’, उनले भने, ‘नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।’ 

व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो बनाउने गरेको दृश्य देखिएको भन्दै पाण्डेले यसलाई सुरक्षित पार्न स्थानीय सरकार लाग्नुपर्ने बताए। 

जेनजी समूहका पाण्डेले आफ्नो समूहका मानिसलाई प्रकृतिसँग रमाउने यो ठाउँ उपयुक्त स्थान भएको भन्दै यसलाई सुधार गरेर व्यवस्थित पार्न सकेमा बाह्य पर्यटकसमेत यस स्थानमा आउने बताए। 

‘ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन भनेर भन्न सकिन्छ’, उनले भने, ‘अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।’

पूर्वपश्चिम राजमार्गको डण्डाबाट करिब नौ किलोमिटर दक्षिणमा पर्ने ब्रम्हस्थान प्राकृतिक रुपमा सुन्दर रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको यस स्थानमा आवश्यक संरचना निर्माण गर्दै पर्यटकले फाल्ने प्लाष्टिकजन्य फोहरलाई सही रुपमा व्यवस्थापन गर्न सके देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । 
 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १२ : ५४ बजे

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा