म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु « Khabarhub

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो ।

हिउँद सुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए । ‘ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्’, उनले भने, ‘खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम सुरु हुुन्छ ।’

म्याग्दी नदी किनारमा एक सय ६५ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माणका लागि पाँच करोड ९७ लाख ५० हजार ६२४ कुल लागत अनुमान गरिएकामा २०८२ साल वैशाख १० गते चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद आगामी २०८३ असार २० गतेसम्म छ ।

भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भएको छ ।

यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका म्याग्दी, पर्वत र मुस्ताङमा छवटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुरमान श्रेष्ठले बताए ।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाको कुल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा एक सय दुई, रघुगङ्गा गाउँपालिका–३ स्थित गायत्री मन्दिर संरक्षणका ५३ मिटर र पर्वतको जलजला गाउँपालिका–३ बौरस्थित कालीगण्डकी नदी किनारमा ८० मिटर, कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेतस्थित कालीगण्डकी नदीमा एक सय २९ मिटर लामो पर्खाल निर्माण गर्न लागिएको हो ।

मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीमा पनि नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।

नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका प्रमुख श्रेष्ठले बताए । (रासस)

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : १७ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास