स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरू | Khabarhub Khabarhub

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरू


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दमक– यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पीताम्बर खड्का हिँडडुल गर्न सक्दैनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् । 

सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाइले पैसा कमाएको देख्दा उनलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो । 

उनी र उनी जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपाङ्गता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरूप लिएको छ ।  समितिले अहिले कमल अर्ग्यानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रूपमा उद्यम सञ्चालनमा छ । 

कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपाङ्गता समितिसँगको समन्वयमा अपाङ्गता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बीउ पुँजीसमेत प्रदान गरेको छ । सो पुँजीबाट ५० जना अपाङ्गता भएकाले व्यावसायिक रूपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पीताम्बर खड्काले जानकारी दिए ।

‘हामी आफैँ के कस्तो आयआर्जनमा लाग्ने ? कसरी उद्यमी बन्ने भन्ने अन्योलमा थियौँ । गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यममा लागियो’, खड्काले भने, ‘यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसँग जोडिन टेवा पुगेको छ, अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोणसमेत फेरिँदै गएको छ ।’

उनकाअनुसार संस्थागत रूपमा अपाङ्गता भएका व्यक्तिले तयार गरेका घरायसी सामग्री पसल तथा हाटबजारसम्म पुर्‍याउन थालिएको छ । उपभोक्तालेसमेत उनीहरूले उत्पादन गरेको सामग्री रुचाएका छन् । गाउँघरमा पाइने तुलसी, निमपातलगायतका प्राकृतिक जडीबुटी सङ्कलन गरी साबुन तयार गरेको र यसैलाई ‘ब्राण्डिङ’का रूपमा विकास गर्न जुटिरहेको उनले बताए । 

कमल अपाङ्गता समितिका सचिव कमल गाउँपालिका–६ निवासी लङ्कबहादुर खड्का पनि सहजै हिँडडुल गर्न सक्दैनन् । आर्थिक अवस्था कमजोर भएका खड्काको अपाङ्गता कारण क्षमता भए पनि समाजले हेर्ने दृष्टिकोण फरक थियो । तर ,पछिल्ला वर्ष उनी हातको सहाराले विद्युतीय सिटीसफारी चलाउँदै आएका छन् । 

सफारी चलाउँदा शारीरिक अपाङ्गताका कारण धेरै यात्रु चढ्न आनाकानी गर्ने गरेको उनको गुनासो छ । सिटीसफारी सञ्चालनसँगै उनी पनि हाल साबुन लघु उद्योगमा जोडिएका छन् । यस उद्यमले अपाङ्गता भएकाले पनि समाजमा आयआर्जन गर्न सक्छन् भन्ने प्रेरणा मिलेको उनी बताउँछन् ।

स्थानीय सरकार  र अपाङ्गताका क्षेत्रमा काम गर्दे आएका विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगका कारण आफूहरूलाई जीविकोपार्जनका क्षेत्रमा जोडिएर स्वरोजगार बन्न हौसला मिलेको उनी बताउँछन् । उनीहरूले दैनिक प्रयोग हुने घरायसी सामग्री अगरबत्ती, कुचो, नरिवलको झाडु, हार्पिक ,फिनेल तथा साबुनलगायत उत्पादन गर्दै आएका छन् ।

त्यसै गरी दमक नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूले पनि विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्न थालेका छन् ।  

पछिल्ला दश वर्षमा यस्ता लक्षित व्यक्ति आर्थिक रूपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिएको दमक–९ की अपाङ्गताको अधिकारका क्षेत्रमा काम गर्दे आएकी पार्वता श्रेष्ठले बताइन् । 

राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल कोशी प्रदेशकी पूर्व अध्यक्षसमेत रहेकी श्रेष्ठले अपाङ्गता भएकालाई स्वरोजगार बनाउन उद्यमशील अपाङ्गता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिइन् । हाल उनको उद्योगमा १२ जनाले रोजगारी प्राप्त गरेको उनी बताउँछिन् । दमक–८ मा उक्त लघु उद्योग सञ्चालित छ ।

दमक–६ मा तीन दशक बढीदेखि ढुङ्गाको सिलौटा, जाँतो बनाउँदै आएका मुकेश सन्तराज अपाङ्गता भएका व्यक्तिका लागि अर्का प्रेरणाको स्रोत हुन् । ‘मुकेश शिलालेख’ खोलेर ढुङ्गाको सिलौटा, जाँतोलगायतका सामग्री तयार गर्दै आएका उनले आफू मात्र नभएर पाँच जनालाई रोजगारी प्रदान गरेका छन् । 

उनको सिङ्गो परिवार यही शिलालेखमा निर्भर रहेको र यसैबाट दमक–७ सयपत्री टोलमा घरजम गरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी भन्छन्, ‘हामी अपाङ्गता भएकालाई दया, माया होइन अवसर दिए अरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने हिम्मत छ ।’

पछिल्लो तथ्याङ्कअनुसार झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार नौ सय ८८ जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै  प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशका संयोजक मदनकुमार बोहोरा बताउँछन् । 

उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिलाई तीनै तहको सरकारले सहयोग गरे पनि नीतिगत रूपमा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चितता नभएसम्म लक्षित समुदाय सबल हुन निकै चुनौती छ ।’

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अपाङ्गता भएकालाई सङ्गठितसँगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरेको बताए । 

अपाङ्गता भएका व्यक्ति बिस्तारै समाजसँग जोडिन थालेको र यसले समाज रूपान्तरणमा सहयोग पुग्ने उनको धारणा छ । उनले भने, ‘समाजमा बहिष्कृत गरिएका यस्ता समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न तथा उद्यमशीलता बनाउन स्थानीय सरकारले विभिन्न पाटोमा सहयोग पुर्‍याउँदै आएको छ ।’

अपाङ्गता भएका व्यक्तिको बाँच्न पाउने अधिकार प्राप्तिका लागि कोशी प्रदेश सरकारले करुणा फाउण्डेशनको सहकार्यमा झापासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सो कार्यक्रममा जिल्लाका स्थानीय तहमा त्यस्ता व्यक्तिको आवश्यकता पहिचान र परिचयपत्र वितरणदेखि प्रत्येक वडासम्म अप्थाल्मोलोजिस्ट/अप्थाल्मो टेक्निसियन (आँखा जाँच गर्न), अडियोलोजिष्ट/ अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियो थेरापिस्ट, क्लिनिकल साइकोलोजिस्टलगायतका प्राविधिकमार्फत स्वास्थ्य परीक्षणसँगै उनीहरूलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताको पहिचानसमेत गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ५८ बजे

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

काठमाडौ‌– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि

अल्लोको कपडाबाट आकर्षक सामग्री उत्पादन

ताप्लेजुङ– ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला

मर्चवार क्षेत्रको ‘सबस्टेसन’ निर्माण तीव्र

लुम्बिनी– रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम

अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी 

धनगढी– अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा