काठमाडौं- कपनको मिलनचोकस्थित गणेश मन्दिरको छेवैमा सानो फार्मेसी सञ्चालन गरेर बसिरहेकी छिन्– प्रिमा घर्तीमगर । उनको फार्मेसी वरपर पसल गरी बस्ने महिलाहरू दिनभर उनको फार्मेसी अगाडि घाम ताप्दै गफिएर बस्छन् । प्रिमा पनि हाँसीखुसी फार्मेसीमा आएका ग्राहकको सेवा गर्दै उनीहरूसँगै दिन बिताउँछिन्
अहिलेको उनको दैनिकी हेर्दा सामान्य लाग्छ । तर यो अवस्थासम्म पुग्न प्रिमाले गरेको संघर्ष भने निकै कष्टकर र आममानिसका लागि प्रेरणादायी छ । उनले भोगेको कष्टपूर्ण जीवन कहानी ।
कहालीलाग्दो कथाव्यथा
विकट पहाडी जिल्ला रोल्पामा जन्मिएँ । मेरा ६ दाजुदिदीमध्ये म कान्छी हुँ । मेरो हजुरबुवालाई कुष्ठरोग लाग्यो रे ! त्यसबेला रोल्पामा त्यस्ता रोगीहरूलाई घरमा बस्न दिइँदैनथ्यो । गाउँमा पञ्चायत बसेरै जंगलमा लगेर छोड्ने निर्णय गरिन्थ्यो । यदि कसैको पनि परिवारले त्यो निर्णय नमाने पूरै परिवारलाई समाजबाट बहिष्कार गरिन्थ्यो ।
त्यही पञ्चायतकै निर्णयअनुसार हजुरबुवालाई पनि जंगलमा लगेर राखियो । आफैँ खाना पकाएर खान सक्ने अवस्थामा भएसम्म भाँडाकुँडा रासन पानी दिने नभए घरबाटै पकाएर खाना दिइन्थ्यो । त्यसबाहेक उनीहरूसँग कुनै सम्बन्ध हुँदैनथ्यो । हजुरबुवाले कुष्ठरोगकै कारण जंगलमै प्राण त्याग्नु भयो ।
हजुरबुवा बितेको केही वर्षमा बुवालाई पनि कुष्ठरोग देखियो । बुवाको पालामा जंगलमै छोड्नुपर्ने अवस्था त थिएन । तर घरभित्र राखिँदैन थियो । घरभन्दा अलिक टाढा पाखो बारीमा सानो झुप्रो बनाएर बुवालाई राखिएको थियो । त्यसबेला औषधी पनि आइसकेको रहेछ । तर बुवालाई औषधीको पहुँचसम्म पुर्याउन सकिएन । बुवा रोगले थलिएपछि आमा अर्कै बिहे गरेर गइन । हामी भाइबहिनी सानै थियौँ ।
बुवा बिरामी भएको केही वर्षपछि मलाई पनि लक्षणहरू देखिन थाल्यो । त्यसबेला म १० वर्षकी थिएँ । घरमा हजुरबुवा र बुवालाई पनि भएकाले मलाई रोग पत्ता लगाउन कठिन भएन र ११ वर्षको उमेरमा कुष्ठरोग भएको पुष्टि भयो । केही आफन्तको सहयोग घरभन्दा निकै टाढा रहेको स्वास्थ्यचौकीबाट मैले औषधी खान सुरु गरेँ ।
आफूले औषधी खान थालेपछि बुवालाई पनि निको हुन्थ्यो कि भन्ने लागेर बुवाको पनि उपचार सुरु गरियो । तर धेरै ढिलो भइसकेकोले औषधीले काम गरेन । अन्तिम अवस्थामा अस्पताल भर्ना गरिएका बुवा त्यहीँ बितेको उनले सुनाइन् ।
मैले औषधी खाइरहेकै थिएँ । गाउँ समाजमा पढेलेखेका मान्छेहरू पनि थिए उनीहरूले दबाई खाइराखेकै छ, निको हुन्छ पनि भन्थे तर मेरो आफ्नै परिवारले नै मलाई घरमा राख्न चाहेन । निको हुने भए त उसको हजुरबुवा बुवाहरू निको भइहाल्थे नि भनेर मैले छोएको पानी समेत नखाने, साना बच्चाहरूलाई छुन नदिने, मलाई पनि कसैले छुँदैनथे । औषधी खाँदै गर्दा मलाई ‘टाइप टु रियाक्सन’ भएपछि अस्पतालमै भर्ना भएरै बस्नुपर्ने अवस्था आयो ।
आईएनएफ नेपाल नामक संस्थाको सहयोगमा मिसन अस्पताल दाङमा म भर्ना भएँ । १८ महिना अस्पतालमै उपचार गरियो । औषधी त निःशुल्क थियो । मेरो खाने बस्ने सबै खर्च संस्थाले नै बेहोरेको थियो ।
१८ महिनाको अवधिमा मेरो आफन्तका नाममा नाताले दाइ पर्ने र मितेरी साइनोले मामा पर्ने एकजना गरेर जम्मा २ जना मलाई भेट्न अस्पताल आए । त्यसबाहेक मेरो घरपरिवारबाट कोही भेट्न आएनन् ।
१८ महिनाको उपचारपछि निको भएँ । अस्पतालकै कर्मचारीहरू घरमा पुर्याउन गए । उसलाई पूर्ण रूपमा रोग निको भइसक्यो, कसैलाई सर्छ कि भनेर डराउनु पर्दैन भनेर परिवारलाई आश्वस्त बनाउने प्रयास गरे । घरमा आफूसँगै राख्दा हुन्छ भनेर सम्झाई बुझाई कागजसमेत बनाएर फर्किए ।
यति हुँदा पनि घर बस्ने वातावरण भएन । मैले छोएको पानी कसैले खाँदैनथे । कसैलाई छुन पाइँदैनथ्यो । रोग निको हुँदा पनि मलाई पहिलेकै जस्तो व्यवहार हुन थालेपछि बस्नै मन लागेन । त्यसै विषयमा हजुरआमासँग एक दिन सामान्य झगडा परेको निहुँ पारेर मलाई घरबाट निकालियो ।
त्यसपछि मामाघरको हजुरआमा कहाँ गएर सबै कुरा सुनाएपछि दाङसम्म पुग्न २ सय रुपैयाँ भाडा त्यो पनि अरूसँग मागेर दिनुभयो । यसभन्दा पछि हामीले सहयोग गर्न सक्दैनौँ, उतै काम गरेर आफ्नो पेट पालेर बस्नु फर्केर नआउनु भन्नुभयो । त्यसबेला म जम्मा १४ वर्षकी थिएँ ।
खाली पेट भौँतारिँदाको त्रासदी
मामाघरकी हजुरआमाले दिएको गाडी भाडाले दाङ पुगेँ । दाङमा सबैभन्दा पहिले आफूले पहिले उपचार गराएकै मिसन अस्पताल गएँ । अस्पतालले पनि भर्ना भएका बिरामीबाहेक अरूलाई सित्तैमा पाल्ने कुरा भएन ।
दिनभर भोकभोकै गल्ली गल्ली चाहर्दै काम खोज्दै हिँडे । एकदिन एकजना महिलाले ‘मेरो घरमा आऊ बच्चालाई स्कुल पुर्याउने, ल्याउने र घरको काम गर्नुपर्छ’ भनिन् । हुन्छ भनेर गएँ । तर तिनको बच्चाले मलाई पिट्ने, कहिले अगाडि हिँड् भन्ने, कहिले पछाडि हिँड् भन्दै अनेक दु:ख दिएर सताउन थालेपछि त्यो काम पनि छोडेँ ।
कहिले इँट्टाभट्टामा त कहिले गिट्टी कुट्ने ठाउँमा काम गर्न जान्थेँ । तर अलिकति गाह्रो काम गर्नेबित्तिकै ज्वरो आउने, जिउ दुख्ने जस्ता समस्या हुन्थ्यो । दिनभर काम खोज्न जाने, रात परेपछि अस्पतालमै गएर बास बस्थेँ । कसैले मायाले केही खानेकुरा दिन्थे, त्यहीँ खान्थेँ । अस्पतालमा त्यसरी बस्न त पाइँदैन थियो । पहिले उपचार गराउँदा त्यहाँका सुरक्षा गार्ड लगायत कर्मचारीहरूसँग चिनजान थियो ।
‘उज्यालो हुनेबित्तिकै निस्किनु है नभए हाम्रो जागिर जान्छ’ भन्दै लुकाई छिपाई मलाई आश्रय दिन्थे । यो रोगको औषधी एकदमै कडा हुन्थ्यो । मलाई रोग निको भए पनि औषधीको मात्रा पुगेको थिएन, खाइरहेकै थिएँ । पोषिलो खानेकुरा खानुपर्ने बेलामा छाक टार्नकै लागि काम खोज्दै हिँड्नुपर्ने अवस्था थियो ।
एक दिन भोकले आत्तिएर खाना खोज्दै गर्दा एउटा होटेलमा पुगेँ । उनीहरूले मेरो बारेमा सोधिखोजी गर्दा नाताले मामा पर्ने रहेछन् । खान बस्न दिन्छौँ यतै काम गर भनेपछि त्यतै बसेँ । दिनभर त ठिकै हुन्थ्यो, राती उनीहरू बुढाबुढी झगडा गर्थे ।
उनीहरूको सानो बच्चा थियो, बिचरा त्यो बच्चा देखेर साह्रै माया लाग्थ्यो । बच्चालाई मार्दिन्छन् कि भनेर रातभर हेरेर बस्थेँ । कहिलेकाहीँ त ठिकै हो तर सधैँ त्यस्तै झगडा गर्न थालेपछि विरक्त लागेर त्यहाँ पनि छोडेँ ।
अन्त जाने ठाउँ कहीँ थिएन । त्यही अस्पताल मात्रै हो, फेरि गएँ । म पढ्न पाएको भए पढ्थेँ कोही सहयोग गर्ने मान्छे छैन भनेर सोधेँ । अस्पतालकै स्टाफले मलाई उपचार गरेकै संस्था आइएनएफ नेपालले विभिन्न तालिम दिन्छ भन्दै पोखरा लगेर गए ।
पोखरा गइसकेपछि पढाउनका लागि उमेर धेरै भइसक्यो, तालिम दिऊँ भने सानै उमेर छ भनेर संस्थाकै बाख्रा फार्ममा काम गर्न लगाइयो । केही समय काम गरेँ फार्ममा धेरै बाख्राहरू थिए । बिहानदेखि बेलुकासम्म तिनीहरूलाई चराउनुपर्थ्यो । कति बाख्राहरू जंगलमै पाठापाठी पाउँथे । एउटै बाख्राले ३–४ वटासम्म पाठा पाउने ती पाठाहरू बोकेर खोरसम्म लान साह्रै गाह्रो हुन्थ्यो ।
त्यो बेलामा मलाई शनिवारको दिन चर्च जान मन लाग्ने । फार्ममा काम गर्दा जान पाइँदैनथ्यो । त्यहाँ काम गर्न पनि मन लागेन छोड्छु भने । नछोड तिमी ठूली भएपछि तिम्रो बिहे गराइदिन्छु, तिम्रो श्रीमानलाई काम दिन्छु, बस्न क्वार्टर दिन्छु भनेर आश्वासन दिन्थे तर मैले मानिनँ । मलाई केही अरु काम गर्न दिनुस् यो सक्दिन भनेँ । त्यसपछि संस्थाकै कर्मचारीले अब तिमी काठमाडौं जाऊ, त्यहाँ स्वरोजगारमूलक तालिम दिन्छन् र पढ्न पनि पाइन्छ भने ।
रोल्पाबाट दाङ पुगेकी म दाङबाट पोखरा हुँदै फेरि काठमाडौं जाऊ भन्दा आफ्नो जिन्दगीदेखि नै दिक्क लाग्यो यति सानो उमेरमा यत्तिका हण्डर खाइसकेँ अझै कति सहनुपर्ने हो कस्तो भाग्य लिएर जन्मेछु भन्दै रोएँ । मलाई यतै बस्न दिनुस् भनेर बिन्ती गरेँ । ठिक छ त भन्दै संस्थाकै सहयोगमा बसेँ ।
बस्ने क्रममा काठमाडौंबाट अर्को एउटा ‘न्यू सेडल’ नामक संस्थाका मान्छेले तिमीलाई हामी माया गर्ने, सीप सिकाउने आश्वासन दिएर यता लिएर आए । २०५५ कै माघबाट मैले त्यो संस्थामा काम गर्न सुरु गरेँ । पोखराभन्दा काठमाडौं आइसकेपछि अझै धेरै माया पाएँ ।
महाँकाल पानीट्याङ्कीमा संस्थाको अफिस थियो । केही महिना पेन्टिङ लगायत सजिलो काम गरेँ । त्यसपछि कुचो लगाउने मान्छे कोही छैन तिमी त्यो काम गर भने । मन नलागी नलागी त्यो काम पनि गरेँ । त्यही बेलामा पोखरामा भएको संस्थाको मान्छे भेट्न आए । मलाई कस्तो पोखरा जान मन लाग्यो ।
उनीहरूले सधैँ यसरी हिँड्न हुँदैन भनेर सम्झाई बुझाइ गरेपछि काठमाडौंमै बसेर २ वर्षजति कुचो लगाउने काम निरन्तर गरेँ ।
पछि संस्थाको मान्छे आफैँले तिमीलाई सिलाइमा रुचि रहेछ त्यही काम गर भन्दै टेलर्समा राखे ।
२१ वर्षको क, ख, रा सिकाइ
कामसँगै पढ्न भनेर २०५५ सालमा काठमाडौं आए पनि २०६१ सालमा मात्रै मैले विद्यालय भर्ना हुने अवसर पाएँ । जुनबेला मेरो उमेर २१ वर्ष भइसकेको थियो ।
सामुदायिक विद्यालयमा पढ्न खोज्दा समय मिलेन । त्यसपछि सातदेबाटोमा रहेको प्रेरणा महिला माध्यमिक विद्यालयमा बिहानको समयमा पनि कक्षा सञ्चालन हुने भएकाले भर्ना भएर पढाइ सुरु गरेकी हुँ ।
यो कुरा मैले काम गर्दै गरेको संस्थामा राख्दा तिमीलाई सेवा सुविधा केही दिने होइन । पढाईको कारण देखाएर कार्यालयको कामबाट मुक्ति नपाइने कार्यालय स्पष्ट गर्यो । जस्तोसुकै अवस्थामा पनि पढाई नछोड्ने अठोट गरेँ ।
त्यही संकल्पअनुसार बिहान विद्यालय जाने, दिनभर घोटिएर काम गर्ने गर्थेँ । कहिलेकाहीँ त राति पनि काम गर्थेँ । पढाइ पनि राम्रै भइरहेको थियो । ०६१ सालमा १ कक्षामा भर्ना भएकी थिएँ । ०६२ सालमा एकैचोटी ५ कक्षामा गएँ भने ०६३ मा ६ कक्षा ७ कक्षा नपढी एकैचोटी ८ कक्षा हुँदै विद्यालय भर्ना भएको ६ वर्षमै ०६६ सालमा एसएलसी दिएँ ।
एसएलसीले दिएको ऊर्जा
उमेर घर्किएपछि विद्यालय भर्ना भएर पनि पढाइमा राम्रै प्रगति गरेँ । फस्ट डिभिजनको आश गरे पनि परिणाम सेकेण्ड डिभिजन आयो । यसले मेरो जीवनमा थप उत्साह थप्यो ।
कुष्ठरोग निवारण संघबाट १ कक्षादेखि नै छात्रवृत्ति पाएर अध्ययन गरिरहेकी प्रिमाले त्यसभन्दा पछिको पढाईमा पनि ४५ प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । बाँकी ५५ प्रतिशत आफैँले दुख गरेर कमाएको रकमबाट पढाई पूरा गरिन् । डिप्लोमा इन फार्मेसी गर्दा भने सहज भएन ।
एक त उमेर गएर पढेको त्यसमाथि कक्षा टपेर पढेको हुँदा बेस बनेन । साथै सरकारी विद्यालयमा पढेकोले अङ्ग्रेजी त्यति राम्रो थिएन । एउटै विषयले गर्दा ४ वर्ष लाएर डिप्लोमा इन फार्मेसी पास गरेँ । अहिले त आफ्नै लाइसेन्स भएकाले फार्मेसी चलाएर जीवन गुजारा गरिरहेकी छु । त्योभन्दा अगाडि पनि धेरै पढ्ने मन थियो । पढ्ने रहर पुगेकै छैन के गर्नु , उमेर पनि भयो । पढ्न छोडेकै १० वर्ष जति भइसक्यो । अब त पढ्न सक्दिन प्रिमा भन्छिन् ।
विहेबिनै खुसी हुने प्रयास
उमेरले ४० कटेपछि यस विषयमा सोच्न पनि कठिन लाग्दो रहेछ । उमेर छँदा बिहेको बारेमा सोचिदिने, कुरा गरिदिने, जिम्मेवारी लिइदिने कोही पनि भएनन् । आफैँ गर्नका लागि केही ठाउँबाट प्रस्ताव त आएको हो । तर आँट नै आएन, बिहे भनेको एकदमै ठूलो निर्णय लाग्थ्यो भोलि के होला कसो होला सोचेजस्तो हुन्छ कि हुँदैन भन्ने भएर आफैँ निर्णय गर्न सकिन ।
विद्यालय भर्ना हुनुभन्दा अगाडि १९–२० वर्षकै उमेरमा बिहे गरेको, घरपरिवार भएका यस्ता बिरामीका लागि मैले काम गरिरहेकै संस्थाले घर बनाइदिने पनि गर्थ्यो । मलाई पनि संस्थाले तिमी चाहन्छौ या कोही केटा साथी छ भने भन घर बनाइदिन्छौ भन्ने कुरा सरहरूले गर्नुभएको थियो । तर त्यो बेलामा मेरो कुनै केटा साथी पनि थिएन । फेरि मलाई पढ्ने साह्रै रहर भएकाले बिहे-बिहे भन्दा पढ्छु भन्ने लाग्यो र पढ्न थालेँ ।
अब त उमेर नै ढल्कियो, जे भए पनि अहिले मेरो दिनचर्या राम्रो छ । जिन्दगी बिताउन बिहे नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मजस्ता धेरै साथीहरूले बिहे गरेर बसिरहेका छन् । उनीहरूको भन्दा आफूलाई म स्वतन्त्र ठान्छु ।
बुबालाई बचाउन नसक्दाको पछुतो
हजुरबुवाको पालामा कुष्ठरोगको कुनै औषधी नै थिएन र उपचार भएन । अरूलाई सर्छ कि भन्ने डरले जंगलमा छोडियो । तर बुवाको पालामा त औषधी भएर पनि पहुँचमा पुर्याउन सकिएन । ४० वर्षकै उमेरमा ज्यान गुमाउनुपर्यो । घरपरिवार समाजले जस्तो व्यवहार गर्यो मैले नि त्यस्तै व्यवहार गरेँ । कुष्ठरोगको कष्ट आफूले भोगपछि मात्रै थाहा पाएँ । त्यसबेला धेरै ढिलो भइसकेको थियो ।
बाल्यकालमै कुष्ठरोग निको भइसक्दा पनि घरबाटै निकालिएकी मलाई अहिले कसैले तिमी कुष्ठरोगी हौ हाम्रो घरमा बस्न पाउँदिनौ कसैले भन्दैन । स सम्मानका साथ बाँचिरहेकी छु । घृणा गर्ने आफन्तहरू अहिले मेरै कोठामा आएर बस्छन् ।
रोगले थला पर्दा पोसिलो खाना, राम्रो स्याहार सुसार र परिवारको माया चाहिने बेलामा घृणा र तिरस्कार पाएर बाँच्नुपर्ने अवस्था जुन मैले भोगेँ, त्यो निकै पिडादायी अवस्था हो । सहरमा जति चेतना फैलिए पनि ग्रामीण समुदायमा अवस्था अझै उस्तै छ ।
स्थानीय जनप्रतिनिनिधहरुले सहयोग गर्दा केही राहत भए पनि बिरामीलाई नछुने, उसले छोएको खानेकुराहरू नखाने, घृणा गर्ने प्रवृत्ति अहिले पनि बीसको उन्नाइस भएको छैन ।
विभिन्न एनजिओ आइएनजिओ र संघ संस्थाहरू पनि सहरमुखी छन् । रोल्पा जस्ता धेरै दुर्गम गाउँ बस्तीका रोगीहरूबारे कसैले सोधीखोजी गर्दैन । म आफ्नै संघर्षले अनेक दुख कष्ट सहेर यहाँसम्म पुगेँ । मैले भोगेको जस्तो दुख अबका बिरामीहरूले भोग्न नपरोस् । यसतर्फ सरकार लगायत विभिन्न सरोकारवाला निकायको ध्यान जाओस् ।
प्रतिक्रिया