चिकित्सकको चेतावनी- मानसिक स्वास्थ्य बिगार्न सक्छ, आयुर्वेद भन्छ– मिलाएर खाए ओखती | Khabarhub Khabarhub

गाँजा र स्वास्थ्य

चिकित्सकको चेतावनी- मानसिक स्वास्थ्य बिगार्न सक्छ, आयुर्वेद भन्छ– मिलाएर खाए ओखती


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । लागु औषध नियन्त्रण ऐन २०३३ दफा (४ क) ले गाँजाको खेती, खरिद, बिक्री–बितरण, निकासी वा पैठारी, ओसार–प्रसार, सञ्चय वा सेवन गर्न नपाइने भनेको छ ।

तर, नेपालमा लुकीछिपी यसको प्रयोग तथा बिक्री वितरण भइरहेको पाइन्छ । शिवरात्रीको अवशरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा त झन् प्रसादका रुपमा खुलेआम बिक्री वितरण तथा प्रयोग हुन्छ ।

हुन त परापूर्व कालदेखि नै गाँजाको आफ्नै महत्व छ । आयुर्वेदले गाँजालाई औषधीका रुपमा लिएको छ । विश्व जगतमै यसको वैज्ञानिक महत्व पनि रहेको दाबी गरिन्छ । गाँजाबाट धेरै प्रकारका औषधी बनाउने अभ्यास विश्वभर चलिरहेको छ ।

गाँजामा पाइने टीएफसी नामक रसायनले लागु औषधको काम गर्छ भने यसबाट धेरै रसायन निकाल्न सकिन्छ । औषधीजन्य काममा यसको प्रयोग हुन्छ । जुन अभ्यास अमेरिका लगायतका देशहरूमा भइरहेको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरूका अनुसार गाँजाबाट बनाएको औषधी दुखाई कम गर्न प्रयोग गरिन्छ । भोक नलागेको अवस्था, नशासम्बन्धी समस्याका बिरामी, छारेरोगका बिरामीहरूमा गाँजाजन्य औषधीको प्रयोगले राम्रो परिणाम दिएको छ ।

तर, नेपालमा भने औषधीको रुपमा प्रयोग भएको छैन । गाँजाबाट विभिन्न सामाग्रीहरू बनाउन सकिने भएकाले गाँजाको प्रयोगलाई वैधानिकता दिनुपर्ने भन्ने विषयमा आवाज उठिरहे पनि कार्यान्वयन भइसकेको छैन ।

नेपालमा यसको उपयोग भन्दा दुरुपयोग धेरै भएको पाइएकाले गाँजा सेवनले तात्कालीन र दीर्घकालीन रुपमा हाम्रो स्वास्थ्यमा धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

गाँजाको प्रायोगले हुने मानसिक असर

ललितपुरस्थित पाटन मानसिक अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट साइक्याष्ट्रिक डा. वासुदेव कार्की गाँजाबाट दीर्घकालसम्म मानसिक असर पर्न सक्ने बताउँछन् ।

‘गाँजाका कारण तत्कालीन स्वास्थ्य समस्यासँगै दीर्घकालीन मानसिक समस्या पनि निम्तिन सक्छ’, उनले खबरहबलाई भने ।

गाँजालाई नियमित प्रयोग गर्न थालेपछि यसको लत बस्ने र नखाएसम्म निद्रा नलाग्ने, छटपटी हुने, एकदमै तनावमा हुने जस्ता लक्षणहरू देखिन्छन् । ती तनाव हटाउन फेरि गाँजाको सहारा लिँदा भविष्यमा यसले कडा खालका मानसिक समस्या-जस्तै साइकोसिस, एञ्जाइटी जस्ता जटिलता निम्त्याउने डा. कार्की बताउँछन् ।

डा. कार्कीले शिवरात्रीको अवसरमा वर्षेनि धेरै युवायुवतीहरू गाँजाको सेवन गर्ने गरेको बताउँछन् । ‘यसले चिन्ता, डर, छटपटी हुने, मुटु ढुकढुक हुने, आफू कहाँ छु ? के गर्दै छु ? भन्ने थाहा नहुने, भ्रममा पर्ने जस्ता क्षणिक समस्या देखिन्छन’, उनले भने, ‘केही समयपछि आफैँ हटेर जान्छन् । तर कतिपयका लागि यसको प्रभाव अप्रिय हुनसक्छ ।’

उनका अनुसार पहिलेदेखि नै मानसिक रोगको जोखिममा रहेका व्यक्तिहरूमा यसको प्रभावले झन् कडा रुप लिने एञ्जाइटीको सुरुवात हुनसक्ने सम्भावना हुन्छ । त्यस्तै अर्का मनोरोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले मानिसको मानसिक अवस्थामै गाँजाले असर गर्ने बताउँछन् । भन्छन्–गाँजाले मानसिक स्वास्थ्यमा प्राय नकारात्मक असर नै गर्छ ।

उनका अनुसार गाँजा सेवन गरिसकेपछि आँखा रातो हुने, मुख सुख्खा हुने, एकदमै डर लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखिन्छन् । त्यस्तै, मान्छेले कस्तो अवस्थामा गाँजा खाएको छ, त्यसमा धेरै कुरा भर पर्ने उनको तर्क छ । कसैले एकदमै उदास भएर खाएको छ भने उदास भइरहने हुन्छ भने खुशी हुँदै खाएको छ भने खुशी हुने हुन्छ ।

‘थोरै थोरै मात्रामा प्राय खाइरहने मान्छेलाई यसले खासै असर गर्दैन’, उनले भने, ‘कसै कसैलाई एक दुईपटक मात्रै खाँदा पनि साइकोसिस र एञ्जाइटीको समस्या निम्त्याउन सक्छ ।’

यसबाहेक गाँजाले कहिलेकाहीँ डिप्रेशन गराउने, सिजोथेर्मिया (जुन साइकोसिसकै कडा रुप) पनि हुन्छ । नियमित गाँजा सेवनले यस्तो समस्या देखिने एउटा अध्ययनले देखाएको छ ।

गाँजा सेवनले बौद्धिक क्षमतामा असर गर्ने गर्छ । युवा पुस्ताहरूको पढाइमा असर गर्ने, गरिरहेको काम प्रभावित हुने, सवारी दुर्घटना भएर अङ्गभङ्ग तथा मृत्युसम्म हुने सम्भावना रहेकाले मानसिक रुपमा सकारात्मकभन्दा नकारात्मक असर धेरै गर्ने चिकित्सकहरूको भनाइ छ ।

त्यस्तै गाँजा खाने मान्छेहरूलाई अन्य लागुपदार्थको लत लाग्ने सम्भावना पनि धेरै हुने उनले बताए ।

गाँजाबाट बनेका सामान

शिवरात्रीमा गाँजाको प्रयोग

डा. कार्की भन्छन्– शिवरात्रीमा गाँजा सेवनकै कारण मानसिक समस्या निम्तिएर धेरै बिरामी हाम्रो इमर्जेन्सीमा आउँछन् । कतिपयलाई त भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था पनि आउँछन् । उनका अनुसार पहिलो पटक सेवन गरेका व्यक्तिहरू धेरै आउँछन् ।

गाँजाको विषयमा हाम्रो समाजमा धेरै फरक मत छन् । चिकित्सकहरूले आवश्यकता अनुसार प्रशोधित गरिएको गाँजामा औषधीय गुण हुने बताउँछन् । ‘तर चाडबाडमा आवश्यक नपरी युवायुवतीहरूले रमाइलोका लागि खाँदा स्वास्थ्यका लागि राम्रो गर्दैन’, उनले भने ।

प्रशोधन नगरी प्रयोग गरिने गाँजाले लागु औषधको काम गर्ने उनी बताउँछन्।

गाँजाबारे आर्युवेद के भन्छ ?

सिंहदरवार वैद्यखानाका औषधी उत्पादन अधिकृत डा. हरिदेव यादवले गाँजाबाट धेरै प्रकारका औषधी बनाउन सकिने बताएका छन् ।

वैद्यखानाले विगतमा गाँजाबाट असह्य दुखाई हुने, खाना नरुच्ने, टाउको दुख्ने, कान दुख्ने चिन्ता, नैराश्य, मानसिक समस्याको समाधानमा प्रयोग हुने तेल र औषधी बनाउँथ्यो । सरकारले प्रयोगमा प्रतिबन्ध लगाएपछि अहिले यसबाट औषधी उत्पादन हुँदैन ।

त्यस्तै विश्वमा दुखाई कम, मधुमेह नियन्त्रण गर्ने औाधीहरू अहिले पनि बनिरहेका डा. यादवले बताए । पहाडी क्षेत्रमा गाँजाको दाना मकैसँगै भुटेर खाने प्रचलन थियो, जसले गर्दा यसले दिनभरिको थकान मेटाउन र शरीरको दुखाई कम गर्न सहयोग पुर्‍याएर निद्रा लगाउँथ्यो ।

‘तराई क्षेत्रमा अहिले पनि होलीको अवसरमा गाँजा मिसाएर गोला तथा कुश्मा नामको पेयपदार्थ बनाएर खाइन्छ । जसले शरीरलाई स्वास्थ बनाउने र मनलाई पनि राहत दिन्छ’, उनले भने ।

त्यस्तै जहाँ गाँजाको खेती गरिन्छ, त्यो ठाउँमा लामखुट्टे लगायत विषालु किरा फट्याङग्राहरू लाग्दैनन् भन्ने विश्वास रहेको उनले बताए । ‘सही रुपमा प्रयोग गर्यो भने गाँजाबाट धेरै फाइदा लिन सकिन्छ । अहिले विश्वमा जति पनि दुखाई कम गर्ने औषधी बनिरहेका छन् । ती सबैमा गाँजा र अफिमको प्रयोग भएको पाइन्छ’, डा. यादवले भने ।

गाँजा पकौडा बनाएर वा अन्य खानामा मिसाएर खाँदा त्यति असर गर्दैन । तर यसलाई धूमपानका रुपमा सेवन गर्दा असर गर्ने उनी बताउँछन् ।
‘पकौडा बनाएर खाँदा पनि बोटबाट सिधै टिपेर प्रयोग गर्ने होइन, त्यसको पातलाई पहिले तातोपानीले धुने । त्यसपछि घिउमा भुटेर खाने गर्नाले हाम्रो पाचन प्रणालीमा फाइदा पुर्‍याउँछ । यसका साथै जिउ दुख्ने तथा अन्य शारीरिक समस्याहरूमा फाइदा पुग्छ’, उनले भने ।

औषधीका रुपमा कहिलेकाहीँ प्रशोधित गरेर खाएमा धेरै फाइदा गर्छ । जस्तै- खाना पचाउने, भोक लगाउने, निद्रा लगाउने, काम गर्छ । धेरै खाए असर गर्न सक्ने उनी बताउँछन् । ‘तर गाँजा खाएको मान्छे मारपिट जस्ता आपराधिक क्रियाकलापमा संलग्न हुँदैन । साधु सन्तले पनि प्रयोग गरिरहेकै हुन्छन्’, डा. यादवले भने, ‘त्यसैले प्रसादका रुपमा ठिक्क मात्रा खाँदा यसले खासै असर गर्दैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : १७ बजे

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पोखरा र भैरहवा

शिक्षकलाई यातायात मजदूरको प्रश्न– भूइँमान्छेको पेटमा लात्ती किन हानेको ?

आन्दोलनको बीसौं दिन सधैँ झैँ शिक्षकहरू पुरै सडक अवरुद्ध गरेर

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा– रूपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको

एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र

काठमाडौं– एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर