‘नेताको सम्पत्ति छानबिन र स्वघोषणाको विकल्पले नेपालको संकट टार्न सक्छ’ | Khabarhub Khabarhub

‘ग्रे लिस्ट’

‘नेताको सम्पत्ति छानबिन र स्वघोषणाको विकल्पले नेपालको संकट टार्न सक्छ’



काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ) ले नेपाललाई खैरो सूची (‘ग्रे लिस्ट’) मा दोस्रो पटक राखिसकेको छ । एफटीएफले नेपालले मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण उपायहरूको कार्यान्वयन नगरेको भन्दै यसमा सुधार चाहिएको कुरा पनि औँल्याएको देखिन्छ ।

नेपाल ‘ग्रे लिस्ट’मा परेपछि यसबारे अहिले सम्बन्धित र सरोकारवाला तहमा विभिन्न कोणमा छलफल भइरहेका छन् । सरकारले तोकिएको समयभित्र ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन एफटीएफसँग आफ्नो कार्ययोजना पनि प्रस्तुत गरिसकेको छ । ‘ग्रे लिस्ट’बाट निस्किने र दीर्घकालीन रुपमा आर्थिक पारदर्शिता अपनाउँदै अगाडि बढ्ने उपायका विषयमा अर्थविद् गोविन्द नेपालसँग खबरहबले गरेको कुराकानी :

नेपाल दोस्रोपटक ‘ग्रे लिस्ट’मा परेको छ, यसलाई कसरी हेर्नुभएको छ ?

देश ‘ग्रे लिस्ट’मा परिसकेपछि केही कुराहरूलाई असर गर्छ । यसले नेपालका द्विपक्षीय र बहुपक्षीय दाताहरूको मनोविज्ञानमा असर गर्छ । नेपालमा हुने विदेशी लगानीमा पनि यसले असर गर्न सक्छ ।

पछिल्ला वर्षहरूमा बजेटमा विदेशी सहायताको अंक राख्दै गए पनि वास्तविक प्राप्तिको अवस्था निकै कम पाइन्छ । त्यस्तै, विदेशी लगानीको अवस्था पनि निकै नगन्य छ । औसतमा हामीले राम्रो विदेशी लगानी ल्याउन सकेका छैनौँ ।

‘ग्रे लिस्ट’ले हाम्रो अन्तर्राष्ट्रिय व्यापारमा पनि असर गर्छ । हिजोको दिनमा १० प्रतिशत मात्रै रकम बुझाएर बाँकी बैंक ग्यारेन्टी राखेपछि सामग्री आउने अवस्था थियो । अब त्यो प्रतिशत बढाउनपर्ने अवस्था सिर्जना हुनसक्छ । यसले भुक्तानीमा पनि आशंका बढाउन सक्छ ।

नेपालको अर्थतन्त्र त्यसै पनि समस्यामा रहेको छ । ‘ग्रे लिस्ट’मा परेपछि समस्या थपिन सक्ने भएकाले समाधानका लागि थप प्रयास गर्नुपर्ने अवस्था आएको छ । नेपाल ‘ग्रे लिस्ट’मा पर्छ भन्ने कुरा सरकारले नबुझेको होइन । तर, हुन्डीबाट रकम पठाउने जुन अभ्यास छ, यसमा नेपाली र सीमित समुदाय मात्रै सहभागी छ भन्ने लाग्दैन । नेपाल सरकारसँग धेरै सूचना छ । हुन्डीको कारोबार कहाँ, कसले गरिरहेको छ भन्ने कुरा थाहा नपाउने अवस्था छैन । यहाँनेर केही स्वार्थ समूह छन्, जसले यो कारोबार भइरहेको छ ।

अहिले वैदेशिक रोजगारीमा गएका रेमिट्यान्स पठाउने दाजुभाइहरू धेरै छन् । तर, सो संख्याको अनुपातमा रेमिट्यान्स नआएको भन्ने पनि छ । त्यो पैसा कहाँ गएको छ ? कसले प्रयोग गरिरहेको छ भन्ने अध्ययनको विषय भएको छ । सरकारले एफटीएफमा सुधार गर्छौं भनेर प्रतिबद्धता जनाएको अवस्था छ । तर, गर्छ कि गर्दैन हेर्नुपर्ने छ ।

एफटीएफले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्दैगर्दा आगामी दिनमा यी ७ वटा बुँदामा काम गर्न भनेको छ । जसमा एउटा बुँदा सम्पत्ति शुद्धीकरणको मात्रात्मक वृद्धि भन्ने छ । अहिले राजनीतिक नेतृत्वमा देखिएको आर्थिक अपारदर्शिता छानबिनको माग उठेको छ । के यी विषयलाई पनि गम्भीर रूपमा लिएको हुन्छ ?

यस्तो विषयमा उक्त निकायले ठ्याक्कै तोकेर त भन्दैन । उसले फ्याक्ट्सहरू (तथ्य)को आधारमा कतिपय डिस्क्लोज गर्ला, कतिपय नगर्ला तर, यी कुराहरू पनि उसले नोटिसमा लिएको हुन्छ । सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्नेबारे समय–समयमा आवाज उठेको छ । तर, अहिले यो विषय कार्यान्वयनमा गइजला भन्ने मलाई लाग्दैन ।

तर, एउटा स्तरको, थ्रेसहोल्ड माथिको अथवा विभिन्न भ्रष्टाचारकाण्डसँग सम्बन्धित व्यक्तिलाई हेर्न सकिन्छ । भ्रष्टाचार र अनियमितता काण्डसँग जोडिएको व्यक्तिलाई सफाइको लागि पनि प्रक्रियामा जाँदा सबैको इज्जत रहने अवस्था हुन्छ । किनभने कतिपय व्यक्तिहरू यसै आरोपित हुनसक्छन् वा त्यसै भ्रम फैलाइएको हुनसक्छ । यो भ्रम हो वा वास्तविकता भन्न पनि न्यायिक प्रक्रियामा लैजानु राम्रो हुन्छ ।

तपाईंले नै भनेअनुसार राज्यसँग आर्थिक अपारदर्शिता, भ्रष्टाचार, हुन्डी, करछली लगायतको सूचना पर्याप्त छ । तर तिनलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तदारुकता नदेखाउने राजनीतिक नेतृत्व वा अरु हुन् त ?

एक प्रकारले राजनीतिक नेतृत्वको इशारा नभई यसमा संलग्न समूह सक्रिय भइरहेको छैन भन्ने आइरहेको छ । जो–जो शक्तिशाली छन्, उनीहरूको सतही छानबिन गरेर उन्मुक्ति दिएको कुरा कुरा आइरहेका छन् ।

मलाई के लाग्छ भने हामीले संवैधानिक र अन्य निकायलाई स्वतन्त्र हिसाबले काम गर्न दिएका छैनौँ । त्यसो हुँदाको बेफाइदा के भयो भने आज एउटा शक्तिमा हुँदा उसले भनेजस्तो हुन्छ, भोलि अर्को आउँदा उसले भनेजस्तो होला ।

अनुसन्धान गर्ने निकायले धेरै मिहेनत गरेर सूचना संकलन गरेको हुन्छ, आरोपितलाई समातेको हुन्छ । तर, शक्तिको आडमा अनुसन्धान अलपत्र छाडिदिँदा आत्मग्लानी हुन्छ । हामीले संस्थालाई बलियो बनाउन सकेनौँ ।

तपाईंकै विचार सुन्दा हामीले राज्य सञ्चालन तहका राजनीतिक नेतृत्वलाई पारदर्शी नबनाई राज्यमा आर्थिक पारदर्शिताको सुरुवात गर्न सक्छौँ ?

त्यो सकिँदैन । किनभने राजनीति नै मूलनीति हो । सबै कुरा राजनीतिबाटै निर्देशित हुने हो । सेना, प्रहरीद र व्यूरोक्रेसी चलाउने राजनीतिले हो । राज्यका अरु सबै संयन्त्र चलाउने पनि राजनीतिले हो । राजनीति सङ्लो नभई यी कुरामा पूरै सुधार हुन्छ भन्न सकिँदैन । त्यसैले राजनीतिक नेतृत्वले आफूलाई पारदर्शी बनाउनु पर्छ ।

एफटीएफले हामीलाई सुध्रिन २ वर्ष दिएको छ । अहिले मुख्य दुई ठूला दलको सरकार छ । चर्चा गरिएका ठूला काण्डहरूमा यिनै दलसँग सम्बन्धित व्यक्ति जोडिएको चर्चा छ । के यही सरकारको नेतृत्वमा नेपालले सफाइ पाउला ?

उसले उठाएका सबै सबाल एकैपटक कार्यान्वयन गर्नुपर्छ भन्ने छैन । अहिलेका सुझाव कार्यान्वयन भए पनि लिस्टबाट माथि पुग्न सकिन्छ । कम्तीमा ‘ग्रे लिस्ट’बाट माथि उठ्नु पर्‍यो । अहिले दुई ठूला पार्टीको सरकारले गर्नसक्ने पहिलो काम बाँकी रहेका कानुन निर्माण गर्न सकिन्छ । नियमावलीहरू तत्काल निर्माण गर्न सकिने अवस्था छ ।

त्यस्तै, साना सुधारहरू गर्नुपर्ने छ भने गरिहाल्नु पर्यो । त्यसपछि जुन ठूलो विषयमा गर्नुपर्ने काम छ, त्यसका लागि उनीहरूले त्यसमा एउटा तह र फ्रेमवर्कमा जान भनेर राजनीतिक सहमति पनि गर्न सक्छन् ।

यो व्यवस्था ल्याएको उहाँहरूले नै हो । आर्थिक पारदर्शिता र न्यायपूर्ण काम नभए यो व्यवस्था टिक्न सक्दैन । व्यवस्था टिकाउने मुख्य जिम्मेवारी पनि उहाँहरूकै हो । पक्ष– प्रतिपक्ष घरभित्र हो, यो देशसँग जोडिएकाले सर्वदलीय रुपमा मापदण्ड बनाएर जानुपर्छ ।

यदि हामीले ‘ग्रे लिस्ट’बाट सुधार गरेर माथि जान सकेनौं भने गाह्रो हुन्छ । सुधार नभएर ‘ब्ल्याक लिस्ट’मा पुग्दा त हाहाकार हुन सक्छ । त्यसैले हामी अब सुझबुझ रुपमा जानुपर्छ भन्ने लाग्छ ।

अर्को सन्दर्भमा नेपालको निजी क्षेत्रले लगानीको स्रोत खुलाउनु नपर्ने कुराको वकालत गर्दै आएको छ । एपीजीले नेपालको निजीक्षेत्रले सम्पत्ति शुद्धीकरणको विषय बुझ्न चाहेन भन्ने टिप्पणी गरेको छ । के निजीक्षेत्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र अभ्यासमा वाधक बनेको हो ?

मैले यस्ता विषयमा पहिल्यैदेखि विरोध गर्दै आएको छु । जस्तो, जलविद्युत् क्षेत्रमा लगानी गर्दा स्रोत खोज्नुपर्दैन, आवश्यक छैन भनिएको छ । तर, लगानीको स्रोत सबै ठाउँमा खोल्नु पर्छ । लगानीको स्रोत नखोले कसरी पारदर्शी भयो त ? जहाँ–जहाँ लगानीको स्रोत खुल्दैन, त्यहाँ अवैध स्रोतको पैसा लगानी हुनसक्छ ।

हाम्रो जस्तो देशमा एकदमै चाँडो मान्छे किन धनी हुन्छ ? १०/१२ वर्षमै मान्छे अर्बपति कसरी हुन्छ ? यस्तै चलखेलबाटै सम्भव हुने हो । अरु विकसित देशमा १० वर्षमा के गर्न सक्छ ? त्यहाँ त आम्दानी के हुन्छ, त्यही आधारमा कर तिर्नुपर्छ, त्यसैले त्यहाँ नेपालमा जस्तो सम्पत्ति थुपार्न सम्भव छैन ।

आर्थिक पारदर्शितामा बढाउन निजी क्षेत्रले सम्पत्ति स्वघोषणाको कुरा पनि उठाउँदै आएको छ । यसलाई कसरी जोडेर हेर्न सकिन्छ ?

सम्पत्तिको स्वघोषणा उनीहरूले कुन आशयले गरे भन्ने मुख्य हो । एक वा दुईपटक अन्यत्र पनि गरिएको हो । यो भनेको लुकेको सम्पत्ति बाहिर ल्याएर कर तिर्ने हो । यसो गरेर सम्पत्ति शुद्धीकरण मौका दिनुपर्छ भन्ने जस्तो लाग्छ मलाई ।

यो काम अलिक चाँडै नै गर्नु पर्ने हो । किनकी यो मौका दिएपछि एकाउन्टिङमा आउने हो । अहिले कारोबार चाहिँ भइरहेको छ, एकाउन्टमा आएको छैन ।

यो विषय निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको छ । तर कार्यान्वयनमा लैजान किन राज्य तयार भएन ?

लगानी गर्दा स्रोत देखाउनु नपर्ने नीति लिइर्एको छ । आफ्नो सम्पत्ति घोषणा गरेर राज्यको नीतिअनुसार कर तिर्छु भन्न त पाउन पर्ने हो । होइन भने त्यस्तो पैसा विभिन्न क्षेत्रमा लगानी हुँदै जाँदा वित्तीय असमानता चुलिँदै जान्छ ।

कालोलाई सेतो बनाउने प्रक्रिया हुँदै जान्छ, तर व्यक्तिले राज्यलाई कर त तिर्दैन । सम्पत्तिको लेखा राख्ने चलन हाम्रो समाजमा छैन । कति आम्दानी र कति खर्च भयो भनेर राखिँदैन । अर्को, सरकारले तोकेको र बजारको मूल्य धेरै फरक छ । जुन सम्पत्तिको हामीसँग स्रोत छैन । त्यसैले त्यस्तो सम्पत्तिलाई घोषणा गर्न दिए कर लिन सकिन्छ । साथै, कतिपयलाई माफी पनि दिन सकिन्छ, तर त्यसपछि भने असल अभ्यासमा जानुपर्यो ।

के नेपालको राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनको दायरामा ल्याएर निजी क्षेत्रलाई स्वघोषणा गर्ने अवसर दिने कुरा आर्थिक पारदर्शिताका लागि प्रस्थान बिन्दु हुनसक्छ ?

तपाईंले उठाउनुभएको प्रश्न ठिक हो । यसमा दुवै पक्ष सहमति भएर जाने हो भने नेता गुमाउनु पनि भएन । किनभने नेता बन्न पनि वर्षौं समय लाग्छ । त्यसोगर्दा नेता पनि जोगिन्छन् कर पनि उठ्छ ।

अर्को लुकेको सम्पत्ति बाहिर आउँछ । भोलि कर बढ्न सक्छ । उनीहरूले सम्पत्ति वैधानिक भएपछि आफूले मन लागेको क्षेत्रमा लगानी पनि गर्न सक्ने अवस्था सिर्जना हुन्छ । सम्पत्ति घोषणा गर्ने कुरामा कतिपय अन्तर्राष्ट्रिय क्षेत्रले आपत्ति जनाउँछन् । मुलुकलाई हित हुन्छ भने उनीरूलाई एक तहको विश्वासमा लिएर निर्णय गर्नुपर्छ ।

अर्को कुरा नेपाल सार्वभौम मुलुक हो, हरेक कुरामा अन्तर्राष्ट्रिय शक्तिसँग डराइराख्नु पर्दैन । को आएर यहाँको सरकारलाई कारबाही गर्छ र ? हामीले मुलुक बनाउने हो भने तपाईंले भने जस्तो आँट गर्न सक्नुपर्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : १८ बजे

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का