जसप्रित सिंहका बाबु सन् २००६ मा भारत छाडेर इटाली पुगेका थिए। मिलान भन्दा परको एउटा गाउँमा उनीहरूको बसोबास थियो। संसारमा क्रिकेट सबै भन्दा धेरै लोकप्रिय रहेको भारतको यो आप्रवासी परिवार त्यही इटालीमा पुगेर नयाँ इतिहास रच्न सफल भएको छ।
फुटबलमा चार पटकको विश्वकप विजेता बनी सकेको इटालीका लागि कुनै समय क्रिकेट विश्वकप दन्त्य कथा जस्तो लाग्थ्यो। त्यसै इटालीको विश्वकप सपना अहिले पुरा भएको छ।
इटालीको पहिलो पटकको विश्वकप प्रवेश संसारका खेल पारखीका लागि रोमाञ्चक समाचार बनेको छ। त्यो रोमाञ्चक र सनसनी कथाका अन्य प्रमुख पात्रमा सहायक प्रशिक्षक केभिन ओ ब्रायन र क्रिसान कालुगामागेको पनि त्यत्तिकै भूमिका छ।

कुनै समय एथलेटिक्समा श्रीलङ्काका उनी १५ वर्षको उमेरमा इटाली पुगेका हुन्। सन् २०१२ सम्म त उनी एथलेटिक्समा नै सुखद भविष्य खोजी रहेका थिए। त्यसपछि मात्र उनी क्रिकेटमा आबद्ध भएका हुन्।
ओ ब्रायनको सनसनी पूर्ण प्रदर्शनमा विगतमा आयरल्यान्डले थुप्रै सफलता पाएको थियो। एकदमै कम आँकिएको आयरल्यान्डले विश्वकपमा नै पाकिस्तान र बङ्गलादेशलाई हराइ सकेको छ। यस कारण पनि ओ ब्रायन कुनै पनि खेलमा हार र जितको कथा त्यसै समयमा गरिएको प्रदर्शनमा आधारमा तय हुने हो इतिहासको आधारमा होइन भन्ने कुरामा ढुक्क थिए। यस कारण लगातारको मिहिनेत र टिम भावनाका साथ खेलेमा सम्भव छ भन्ने भावना इटालीमा हरेक खेलाडीमा जगाउन उनी सफल भए।
इटालीलाई यो सफलता दिलाउने प्रशिक्षक जोन डेभिसनले क्यानडाका तर्फबाट सन् २००३, २००७ र २०११ को विश्वकप खेली सकेका छन्। त्यसैगरी अर्का सहायक प्रशिक्षक डाउगी ब्राउनले पनि स्कटल्यान्डको तर्फबाट सन् २००७ को विश्वकप खेलिसकेका छन्। यस कारण यो भन्न मिल्छ इटालीको यो सफलताको कथासँगै धेरै क्रिकेट व्यक्तित्वका निजी जीवन र पारिवारिक पृष्ठभूमिसँग जोडिएका अन्य कथा छन्।

युरोपको कवालिफायर सुरु हुनु भन्दा दुई दिन अघि इटालीको राष्ट्रिय टोली त्यहाँको ओलम्पिक कमिटीमा जम्मा भएको थियो। केही सेसनको समाप्तिपछि घाँसे मैदान नभएको इटालीले रोमा क्रिकेट क्लबको आर्टिफिसियल टर्फमा अभ्यास गरेको थियो। त्यसपछि ससेक्स गएर अबुधाबी टी-१० टोलीसँग अभ्यास खेल खेलेको थियो। नेदरल्यान्ड्स र स्कटल्यान्डमा खेलिएको खेलले पनि इटालीलाई सहयोग गरेको थियो।
युरोपको क्वालिफायरमा जर्सीसँगको खेलमा कुनै नतिजा नपाएको इटालीले स्कटल्यान्ड र गर्नसीलाई हराएको हो। स्कटल्यान्ड भने तीन अङ्कमा सीमित भएको थियो।
सन् २०२३ यता इटालीका टिम मेनेजर पिटर डे भेनुटोले टोलीको हरेक विषयमा साथ दिइरहे। यो यात्राको मुख्य आधार पनि उनी नै थिए।
इटालीलाई दुई वर्ष अघिको स्मरण ताजै छ। स्कटल्यान्डमा आयरल्यान्डसँग सात रनले हारको सामना गरेको थियो। स्कटल्यान्डले पनि इटालीलाई १५५ रनले हराएको हो। त्यस समयमा पनि आयरल्यान्डमाथि सफलता पाउन सकेको भए इटालीले विश्वकपमा प्रवेश पाउने थियो।
यस पटक स्कटल्यान्डसँग भएको छनोट खेलमा एमले गेले २१ बलमा ५० रन प्रहार गरे भने हेरी मानेटीले ३८ बलमा ३८ रन नै प्रहार गरे। प्लेयर अफ द म्याच समेत घोषित उनले ५ विकेट पनि लिए। उनको सोही प्रदर्शनका कारण १६८ रनको लक्ष्य पाएको स्कटल्यान्ड १५५ रनमा सीमित भएको थियो। त्यस भन्दा अघि नै खेलिएको अभ्यास खेलमा इटालीलाई स्कटल्यान्डले ४० रनले हराएको थियो। अभ्यास खेलपछि इटालीले आफूलाई व्यापक सुधार गरेको थियो।

सहायक प्रशिक्षक डे भेनुटोकै मतमा इटालीको क्रिकेट विकासमा यस पटकको विश्वकप गेम चेन्जर हुनसक्छ। नयाँ प्रायोजक पाउने सवालमा मात्र होइन,क्रिकेटको लोकप्रियता बढाउन पनि यो विश्वकप सफल हुन सक्ने कुरामा डी भेनुटोको विश्वास छ।
यस्तो छ इतिहास
इटाली क्रिकेट सङ्घका संस्थापक ६७ वर्षीय सिमोन गाबियोलाई त्यहाँको इतिहास फेहरिस्त छ। उनका अनुसार सन् १८७० मै इटालीमा क्रिकेटले प्रवेश पाएको थियो। बेलायतले इटालीमा टेक्सटाइल र दलालीमा धेरै रकम खर्च गरेको थियो। त्यहाँ कामदारले क्रिकेट फुटबल टिम खडा गरेका थिए जाडोमा फुटबल र गर्मीमा क्रिकेटको प्रचलन सुरु भएको थियो। यहीँबाट इटालीका दुई फुटबल क्लब एसी मिलान। गेनोआ जन्मिएको थिए।
पहिलो विश्वयुद्ध पछि शासक मुसोलिनीले फुटबल बाहेक बेलायतबाट आएका अन्य गतिविधिलाई रोक लगाए। दोस्रो विश्व युद्ध पछि भारत र श्रीलङ्काबाट गएको क्याथोलिक पादरीकै बलमा इटालीमा फेरि क्रिकेटको जागरण भएको थियो। सन् १९६० मा उठेको क्रिकेट १९७० मा ओरालो लागेको थियो।
सन् १९६० का दशकमा गाम्बिनो आफ्नो हजुरबासँग बेलायत भ्रमणमा गएका थिए। सोही भ्रमणको क्रममा उनले क्रिकेट खेल्न सिकेका थिए। इटाली फर्केपछि उनले क्रिकेटमै केही गर्ने सोच बनाए। यसै सोचका कारण सन् १९८५ मा इटालीमा क्रिकेट सङ्घको स्थापना भएको हो। सन् १९९५ मा एसोसिएट सदस्यको रूपमा आइसिसीले मान्यता दिएपछि इटालीको क्रिकेटमा अर्को एउटा कोशे ढुङ्गा बनेको हो। त्यसको तीन वर्षपछि नै युरोपियन च्याम्पियनसिपमा इटालीले इङ्गल्यान्डलाई हराएको थियो। यो घटनाले विश्वलाई नै तरङ्गित बनाएको थियो।
सन् २००३ को विश्वकप छनोटको नजिक पुगेको इटाली सन् २०२७ को विश्वकप छनोट चरणको खेलमा पनि सिडब्लुसी च्यालेन्ज लिगको समूह बिमा दोस्रो स्थानमा छ। त्यहाँबाट दुई टोली क्वालिफायर प्ले अफका लागि छनोट हुने छन्। यो एउटा कठिन यात्रामा पनि इटाली अघि बढी रहेको छ।
इटालीका धेरै खेलाडी दोहोरो नागरिकता भएका छन्। यसै कारण उनीहरू बलियो मानिएका देशका खेलाडीसँग प्रशिक्षण गरिरहेका हुने छन्। जोए बर्नुस् र बेन मानेटी अस्ट्रेलियामा घरेलु क्रिकेट खेल्ने गरेका छन्। गे र ग्रान्ट स्टवार्ट बेलायतमा घरेलु क्रिकेट खेल्छन्।

मध्य क्रमका ब्याटर वायन मेडसन डर्बी सायरमा पहिलो श्रेणीका कप्तान छन्। जसप्रित बर्मिङघममा खेल्ने गरेका छन्।
इटालीको क्रिकेटमा समस्या पनि नभएको होइन। अहिलेको यो यात्रामा आप्रवासी कामदारको भूमिका महत्त्वपूर्ण छ। कुनै समय दैनिक ५ या ६ दिन काममा व्यस्त रहेर बाँकी रहेका दुई दिन क्रिकेट खेल्ने गरेका उनीहरूका लागि विश्वकप खेल्ने भएपछि यो दिनचर्यामा परिवर्तन अति आवश्यक छ। कालुमागेमले रेस्टुरेन्टमा पिज्जा बनाउने काम छाडे। जसप्रितले चालकको काम छाडे। यस कारण इटाली क्रिकेटले नयाँ प्रयोजकको खोजी गर्न नसकेपछि फेरि ओरालो यात्रा सुरु हुने जोखिम रहेका पनि बताइन्छ।
फुटबल र अन्य टिम गेममा इटाली
फुटबलमा चार पटकको विजेता इटाली सन् २०१८ र २०२२ मा विश्वकप फुटबलमा प्रवेश पाउन असफल भएको छ। सन् २०२६ को विश्वकपमा पनि प्रवेश निश्चित छैन। भलिबलमा भने इटाली अहिले विश्व च्याम्पियन हो। सन् २०२३ मा पोल्यान्डलाई हराएर इटाली च्याम्पियन भएको हो।
बास्केटबलमा विश्व वरीयता क्रममा पुरुष तर्फ १४ औँ स्थानमा रहको इटालीमहिला तर्फ १६ औँ स्थानमा छ। यो सबै खेलकुद भन्दा इटाली क्रिकेटको अवस्था अझ धेरै पछि हो। सन् २०२६ मा दक्षिण एसियामा हुने टी-२० विश्वकप एउटा गेम चेन्जर भने हुनसक्छ। स्रोतः क्रिक इन्फो, ओलम्पिक
प्रतिक्रिया