बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित « Khabarhub

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । रातको समयमा मुसलधारे वर्षाको परवाह नगरी उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए ।

आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । “घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्”, उनले भने ।

बङ्गलादेशले संयुक्त राष्ट्रसङ्घसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भने, “रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।”

तर राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ । सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

कैसरले म्यान्मारमा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । “हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्”, उनले भने ।

अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न सङ्कट चर्किएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन । शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन् — १३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन । कैसर भन्छन्, “यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।”

शिक्षा अर्को चुनौती बनेको छ । “के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?”, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ ।

यसैबीच, म्यान्मारको जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । “हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ”, कैसरको पीडा छ ।

उनको सरल अपिल छ, “बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कमसेकम उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।”

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : १५ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश