न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व नेताहरूसमक्ष सम्बोधन गर्न थालेपछि विभिन्न मुलुकका प्रतिनिधिहरू हलबाट बाहिरिएका छन्।
यो घटनाक्रम २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणपछि सुरु भएको युद्ध दुई वर्ष नजिकिँदै गर्दा आएको हो।
पहिलेजस्तै नेतन्याहूले यसपटक पनि दृश्यात्मक सामग्री प्रयोग गरे। उनले ‘द क्युर्स’ शीर्षकको नक्सा देखाउँदै ठूलो मार्करले चिन्हहरू बनाए। त्यसपछि उनले आफ्नो कोटमा क्यूआर कोड टाँसे र बहुविकल्पीय प्रश्न भएको बोर्ड देखाउँदै श्रोतासमक्ष पढे।
नेतन्याहूले आफ्नो राजनीतिक र सैनिक रणनीतिमा प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा पनि गरे।
हालै अष्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायतलगायत मुलुकहरूले स्वतन्त्र प्यालेस्टाइनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन्। त्यसबारे नेतन्याहूले भने, ‘तपाईंहरूको लज्जास्पद निर्णयले यहूदी र विश्वभरका निर्दोष मानिसविरुद्ध आतंकलाई प्रोत्साहन गर्नेछ।’
अव्बासको आग्रह र गाजामा आक्रमण तीव्र
प्यालेस्टाइनी नेता महमुद अब्बासले फेरि स्थायी युद्धविरामको माग गरेका छन्। यसैबीच, इजरायलको गाजा सिटीमा जारी आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ।
युरोपेली संघले इजरायलमाथि शुल्क र प्रतिबन्धको सम्भावना व्यक्त गरेको छ। यसै महिना महासभाले स्वतन्त्र प्यालेस्टाइनी राष्ट्रको माग गर्दै गैर(बाध्यकारी प्रस्ताव पारित गरेको थियो, जसलाई नेतन्याहूले अस्वीकार गरेका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतन्याहूविरुद्ध मानवताविरुद्ध अपराधको आरोप लगाउँदै पक्राउ आदेश जारी गरेको छ, जुन उनले अस्वीकार गरेका छन्।
साथै संयुक्त राष्ट्रको सर्वोच्च अदालतमा दक्षिण अफ्रिकाले दायर गरेको गाजामा इजरायलले नरसंहार गरेको दाबीबारे सुनुवाइ भइरहेको छ, जसलाई इजयरालले नकारेको छ।
नेतन्याहूको नीतिविरुद्ध प्रतिरोध बढ्दै
विशेष अधिवेशनमा अधिकांश राष्ट्रहरूले २०२३ अक्टोबर ७ को हमास आक्रमणप्रति आक्रोश व्यक्त गरे । जसमा करिब १,२०० इजरायलीको मृत्यु भयो, २५१ जना अपहरणमा परे। तर त्यसपछि धेरै प्रतिनिधिहरूले तत्काल युद्धविराम र गाजामा मानवीय सहयोग प्रवेश गराउन आग्रह गरे।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार इजरायलको आक्रमणमा अहिलेसम्म ६५,००० भन्दा बढी फिलिस्तीनी मारिएका छन् । जनसंख्याको ९० प्रतिशत विस्थापित भएका छन्। गाजामा भोकमरी तीव्र बन्दै गएको छ।
अमेरिकी समर्थन र सीमितता
हालसम्म १५० भन्दा बढी मुलुकहरूले प्यालेस्टाइनी राज्यलाई मान्यता दिएका छन्, तर अमेरिकाले अझै त्यसो गरेको छैन।
अमेरिकाले इजरायललाई बलियो समर्थन दिँदै आएको छ। तर राष्ट्रपति ट्रम्पले बिहीबार वाशिङ्टनमा पत्रकारहरूसँग भने, ‘म इजरायललाई पश्चिम तट ९वेस्ट ब्यांक० कब्जा गर्न दिने छैन।’
यद्यपि इजरायलले यस्तो कदम आधिकारिक रूपमा घोषणा गरेको छैन । नेतन्याहूको सरकारका केही प्रमुख सदस्यहरूले त्यसको पक्षमा अभिव्यक्ति दिँदै आएका छन्। भर्खरै विवादास्पद बस्ती विस्तार परियोजना स्वीकृत भएको छ, जसले पश्चिम तटलाई दुई भागमा विभाजित गर्नेछ। आलोचकहरूका अनुसार यसले प्यालेस्टाइनी राज्यको सम्भावनालाई नै समाप्त पार्नेछ।
प्यालेस्टाइनी नेताको सम्बोधन
नेतन्याहूको सम्बोधनअघि बिहीबार प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत् महासभालाई सम्बोधन गरेका थिए । अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो।
उनले प्यालेस्टाइनी राज्यलाई मान्यता दिने निर्णयको स्वागत गर्दै भने, ‘अहिले समय आएको छ, अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइनी जनतालाई न्याय दिलाओस् । उनीहरूलाई कब्जाबाट मुक्त भई आफ्ना वैधानिक अधिकार प्राप्त गर्न सहयोग गरोस्।’
प्रतिक्रिया