माटोका भाँडा बनाएर आत्मनिर्भर | Khabarhub Khabarhub

माटोका भाँडा बनाएर आत्मनिर्भर


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बनेका छन् । उनले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय गाउँघरदेखि सहरबजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुर्ख्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाई निरन्तरता दिइरहेको बताए । उनले भने, ‘हामी सबै परिवार यही माटोको भाँडाकुँडा बनाउँछौँ । हाम्रा जिजुबाजेले पनि यही काम गर्दै आएका थिए । हामीले यसैलाई निरन्तरता दिएका हौँ । हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत यही हो र यसबाटै घर खर्च चलाउँदै आएका छौँ ।’

पण्डितको इनरुवामा माटोको भाँडा बनाउने आरन छ । त्यहाँ बनाइएका भाँडाकुँडा इटहरीमा ल्याएर बिक्री गर्ने गर्छन् । व्यापारी आरनमै पुगेर पनि माटोका भाँडाकुँडा खरिद गर्ने गरेको उनले बताए । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन । नजिकै राम्रो माटो पाउन गाह्रो छ । पहिले विराटनगर, बर्जुताल क्षेत्रबाट माटो ल्याइन्थ्यो भने अहिले सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर माटो खरिद गरेर ल्याउने गरेको पण्डितले बताए ।

एक ट्रयाक्टर माटोको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्छ । एक ट्रयाक्टर माटोले करिब एक लाख ५० हजार मूल्यबराबरका भाँडाकुँडा बनाउन सकिन्छ । सबै खर्च कटाएर पनि मासिक एक लाख बढी आम्दानी हुने गरेको उनले बताए ।

हाल बजारमा प्लास्टिकका सामानको प्रयोग बढे पनि माटोका भाँडाकुँडाको माग अझै पनि उच्च छ । व्यापारीले कारखानामै आएर सामान खरिद गर्ने र पसलमार्फत पनि उति नै बिक्री हुने गरेको पण्डितले बताए । झापा, मोरङ, पाँचथर, इलाम, खाँदबारी, फिदिम, धनकुटा र भोजपुरसम्मका ग्राहकले सामान माग गर्ने गरेका पण्डितको भनाइ छ ।

पण्डितले हाल एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउने गर्छन् । यसमा रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामग्री छन् ।

पण्डितका अनुसार हाल पसलमा दुई हजारदेखि आठ हजारसम्मका सामान बिक्री हुने गरेको छ । तन्दुरी रोटी बनाउने भाँडा पाँच हजारदेखि आठ हजार, रक्सी पार्ने पैनी ६ सयदेखि दुई हजार, गमला ३० रुपैयाँदेखि आठ सय, दियो दुईदेखि ३० रुपैयाँ र विभिन्न साना सामान दर्जनका हिसाबले बिक्री हुने गरेको उनको भनाइ छ ।

पण्डितले भने, ‘अहिले छठमा बिक्री बढेको छ । अरु बेला एक लाख बढी आम्दानी हुन्छ भने चाडपर्व सुरु भएसँगै मासिक एक लाख ७० हजारदेखि एक लाख ८० हजारसम्म कमाइ हुन्छ ।’

रामधुनी नगरपालिका– १ झुम्काका व्यापारी नवराज शाहले माटोका भाँडा बनाउने परम्परा घट्दै गएको र यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए । उनले भने, ‘माटोका भाँडा जन्मदेखि मृत्युसम्म आवश्यक पर्छ । मैले चार वर्षदेखि यो व्यापार थालेको छु । अहिले छठ पूजा सुरु भएकाले दियो र कलशको माग अत्यधिक छ । मैले इनरुवा, विराटनगर र भारतबाट सामान खरिद गरी बिक्री गर्दा मासिक ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुन्छ ।’

अहिले पण्डित र शाहजस्ता धेरै कुम्हारहरूले पुर्ख्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन् । (रासस)

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ८ : ३० बजे

कैलाली–कञ्चनपुरका तालतलैयामा पाहुना चराको चहलपहल

कञ्चनपुर– जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा

विश्वकप लिग–२ अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

एकै दिन ६ हजार बढी भक्तजनले गरे पाथीभरा दर्शन

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा

गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

गुल्मी– गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।