पार्टीमा पहिरो जाने डरले एकताबाट हच्किए प्रचण्ड-माधव, दोस्रो पुस्ता बन्यो चुनौती | Khabarhub Khabarhub

पार्टीमा पहिरो जाने डरले एकताबाट हच्किए प्रचण्ड-माधव, दोस्रो पुस्ता बन्यो चुनौती

माओवादीमा जनार्दन र समाजवादीमा झलनाथ-घनश्यामको डर



काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबीच हुने भनिएको एकता अन्योलमा परेको छ । शीर्ष नेताको चहानामा हुन लागेको एकता पार्टीमा अर्को पहिरो जाने डरका कारण तत्काललाई रोकिएको छ ।  

बितेको दुई वर्षदेखि यी चार पार्टीबीच एकता गर्न लामो प्रयास भएको थियो । तर एकताको प्रयासका लागि गृहकार्य अगाडि बढ्दा पार्टी थप विभाजित हुने डरले तत्काल यो प्रक्रियाबाट नेताहरू पछि हटेका छन् ।  २०८० असार ४ मा समाजवादी मोर्चा गठन गरेर यी दलहरूबीच एकता प्रयास गरिएको थियो । त्यसयता उनीहरू एकै मोर्चामा थिए ।

समाजवादी मोर्चा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको चहानामा बनेको थियो । अहिले एकता पनि उनकै चहाना र जोडबलमा गर्न लागिएको हो । अर्कातिर राजनीतिक डुंगा डुब्ने डरमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यो एकतालाई आफ्नो उद्धारको साधन बनाउन खोजेका थिए ।

अध्यक्ष नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले एकताका लागि आफ्नै पार्टी र मोर्चामा पटक–पटक प्रयास गर्दै आएका छन् । 

यस पटकको प्रयासमा एकताको तयारी अन्तिम चरणमा पुगेको बताइए पनि चारै पार्टीमा अर्को विभाजन आउने त्रास छ । त्यहीकारण तिहारलगत्तै हुने भनिएको एकताको चर्चा अहिले हराएको छ ।

विभाजन र विद्रोहको खतरा देखेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त पार्टी एकता तयारी अझै अन्तिम अवस्थामा नपुगेको वक्तव्य सचिवालयमार्फत् सार्वजनिक गरेर असन्तुष्ट नेताहरूलाई थामथुमको कोसिस गरेका छन् ।

‘नेपाली समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न एकता र संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको छ । यद्यपि अहिले नै कुनै दलसँग एकता गर्ने वा अन्य वैचारिक–सांगठनिक निर्णय अहिले टुंगोमा पुगेको छैन’, उपमहासचिव जनार्दन शर्मा प्रभाकरसहितको असन्तुष्टिलाई भरथेग गर्दै सचिवालयमार्फत् प्रचण्डले शुक्रबार यसो भने ।

उता खबरहबसँगको अन्तर्वार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एकताका लागि छलफल भइरहेको तर तत्काल प्रक्रिया अन्तिम चरणमा पुगिनसकेको बताए ।

नेकपा महासचिव विप्लवले पनि शुक्रबार नै सार्वजनिक कार्यक्रममा नेपाल र दाहालको भन्दा फरक अभिव्यक्ति दिए । उनले  कम्युनिस्टबीचको एकता सकारात्मक रहेको बताउँदै पनि माओवादी केन्द्रसँग कुरा भइरहेको स्वीकारे । यद्यपि एकताका लागि उनले पाँच बुँदे सर्त अगाडि सारेका छन् । 

दोस्रो पुस्ताको दबाब

एकीकृत समाजवादी र अन्य दलसँग एकताको निर्णयमा जाँदा पार्टी विभाजन हुने त्रासका कारण माओवादी संयोजक प्रचण्ड पछि हटेको स्रोतको दाबी छ । 

स्रोतका अनुसार प्रचण्डले मंसिर अगाडि नै एकता गर्ने गरी पटक पटक वार्ता अघि बढाएका थिए । मंसिरमा उनले माओवादीको महाधिवेशन गराउने निर्णयसहित अध्यक्ष पदबाट हटेर उनी संयोजक बनिसकेका छन् । यद्यपि उक्त महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा फर्किने कुरामा प्रचण्ड ढुक्क छन् ।

‘दोस्रो पुस्ताका नेता जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायतका नेताहरूको डरका कारण प्रचण्ड एकताबाट पछि हट्नुभएको देखिएको छ’ ती नेताले खबरहबलाई भने, ‘अपरिपक्व एकताको परिणाम २०७४ सालमा एमाले र माओवादी मिलेजस्तै हुन्छ । यी दुई पार्टीहरूको अपरिपक्व एकताले चाँडै विभाजित भए । त्यही कुरा दोहोरिने डर संयोजक प्रचण्डमा देखिन्छ अर्कातिर नेपाल नेतृत्वको समाजवादी एकतामा आए उपमहासचिव शर्मासहितका नेताहरू बाहिरिन सक्ने चिन्ता पनि उहाँमा देखिएको छ ।’ 

यसअघि एकताका लागि प्रचण्ड र माधवबीच पटक–पटक छलफल भएको थियो। । माधव नेपालले त खबरहबसँगको कुराकानीमै अहिले पनि प्रचण्डसँग पार्टी एकताको विषयमा सबै कोणबाट छलफल भइरहेको बताएका थिए ।  

माओवादी केन्द्रका नेता एवम् निवर्तमान महासचिव देव गुरुङ पनि एकताका लागि सबै दलहरूसँग छलफल भइरहेको बताउँछन् । उनी पनि प्रचण्डकै भाषा सापटी लिँदै तयारी अन्तिम अवस्थामा पुगे पनि केही कुरा मिलिनसकेको बताउँछन् ।

‘छलफल सबै कोणबाट भइरहेको छ तर बाहिर आएजस्तो तयारी अन्तिम अवस्थामा पुगेको अथवा मिलिहाल्ने अवस्था छैन’, उनले खबरहबलाई भने, ‘अपरिपक्व एकताबाट हामी डराएका छौँ  । सबै दलका नेताहरूसँग विचार विमर्श र व्यापक छलफलपछि मात्रै एकता हुन्छ । महाधिवेशन अगाडि एकता नहुन पनि सक्छ । अहिलेलालाई सम्भावना कम छ । जादु-मन्त्र गरे जस्तो होइन पार्टी एकता ।’ 

यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि दोस्रो पुस्ताका नेता र पहिलो पुस्ताकै नेताले एकतापछि पार्टी विभाजन गर्ने डरले एकताबाट पछि हटेको स्रोतको दाबी छ ।

अहिले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल माओवादीसँग एकता नगर्ने पक्षमा देखिएका छन् । उनी एकताको सूत्र अगाडि सारेर पार्टीलाई थप क्षति गर्नेतर्फ नेतृत्व अगाडि बढेको बताइरहेका छन् । खबरहबसँगको कुराकानीमा खनाल पार्टी एकताभन्दा वैचारिक र नयाँ कार्यदिशासहित जनतामाझ पुग्नुपर्ने आवश्यकता रहेको बताउँछन् । 

यस्तै महासचिव घनश्याम भुसाल पनि एकताको विपक्षमा उभिनाले अध्यक्ष माधव नेपाललाई संकट परेको देखिन्छ । केही समयअगाडि पत्रकार सम्मेलन गरेर भुसालले अपरिपक्व एकताभन्दा पार्टीलाई वैचारिक कार्यदिशा दिएर अगाडि बढाउनुपर्ने अडान सार्वजनिक गरेका थिए ।

भुसालले खबरहबसँगको कुराकानीमा अन्य पार्टीसँग एकताभन्दा अहिले पार्टीलाई जनतामाझ पुर्या‍एर थप व्यवस्थित बनाउनुपर्ने मुख्य चुनौती रहेको बताएका छन् । 

सबैको चित्त नबुझाई पार्टी एकता गरेमा अर्को विभाजन हुने डरका कारण माधव र प्रचण्ड तत्काल निर्णयमा नपुगेको स्रोतको दाबी छ । तर यी दुवै नेताहरूले पार्टी एकता नभए पनि मोर्चालाई अगाडि बढाउने संकेत गरेका छन् । 

अध्यक्ष नेपाललाई माओवादीको महाधिवेशन मङ्सिर अगाडि नै एकता हुन्छ भनेर हामीले सोधेका थियौँ । ‘आस गर्नु तर पूरा-पूरा भर नपर्नू । ढिलोचाँडो पार्टी एकता हुन्छ तर अहिले तत्काल सम्भावना छैन’, जवाफमा उनले भने ।  

पदले निम्त्याएको झमेला 

२०८१ पुस पहिलो साता बसेको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई त्यसअघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको थियो  । 

त्यही नीतिअनुसार अन्य पार्टीबाट आउने व्यक्तिहरूलाई साविक पद दिइएको थियो । माधव र प्रचण्डलाई त्यही पदमा राख्ने र विप्लवलाई महासचिव पद दिने विषयमा पार्टीमा छलफल भएको थियो । यो छलफल तीनवटै पार्टीमा भएको नेताहरूको दाबी छ । छलफल अघि बढेपछि दोस्रो पुस्ताका नेताले यसबारे विमति जनाउँदा शीर्ष नेतृत्व हच्किएको थियो । 

माओवादीका एक नेताले खबरहबलाई बताएअनुसार पार्टी रूपान्तरण र नयाँ कार्यदिशाका साथ अगाडि बढ्नुपर्ने अवस्थामा एकीकरणतर्फ लागेपछि दोस्रो पुस्ताका नेताहरूले छोड्ने चुनौती प्रचण्डलाई दिएका थिए । 

यता सम्मानित नेता खनाल र महासचिव भुसाल एकताको विपक्षमा उभिएपछि माओवादीसँग मिल्ने नेपालको गतिमा ब्रेक लाग्यो । अहिले प्रचण्ड, नेपाल र विप्लव आफ्नै पार्टीका दोस्रो तहका नेताहरूको नाडी छाम्ने क्रममा छन् । 

उनीहरुले पार्टी एक भएको अवस्थामा मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने बताएका थिए । यस्तै संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयता अवलम्बन गर्ने कुरामा पनि प्रचण्ड, माधव र विप्लव सहत थिए । 

पार्टीको नाम नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी राख्नेबारे पनि छलफल भएको थियो । एकता प्रक्रियापछि चुनाव चिह्न कलम या हँसिया हतौडा राख्नेबारे पनि सामान्य छलफल भएको नेताहरू बताउँछन् ।

तर यी सबै कुरा बाहिरिएपछि दोस्रो पक्षका नेताहरूले नेत्तृत्वलाई आफूखुसी निर्णय गरे पार्टीमा समस्या आउने चेतावनी दिएका थिए । त्यहीकारण प्रचण्ड र माधव दुवै अहिले एकतामा जाँदा पार्टी फुट्ने डरले पछि हटेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : ०५ बजे

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन