काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक एक्सन फिल्म ‘जन नायगन’ आगामी जनवरी ९ मा प्रदर्शनमा आउने तय भएको छ। निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको यो फिल्म हिन्दीमा ‘जन नेता’ शीर्षकमा पनि रिलिज हुनेछ।
फिल्म नेपालमा पनि प्रदर्शनको तयारीमा रहेको छ। क्युएफएक्ससहितका ठूला मल्टिप्लेक्सहरूले आफ्नो वेबसाइटको ‘कमिङ सून’ सूचीमा फिल्मलाई समावेश गरिसकेका छन्।
भारतीय मिडियाका अनुसार ‘जन नायगन’ को कथा राजनीतिक शक्ति संघर्ष, षड्यन्त्र र रणनीतिक द्वन्द्व वरिपरि घुम्छ। विगतको एउटा सानो घटनाबाट सुरु भएको कथा समयसँगै दुई शक्तिशाली पात्रबीच गहिरो टकरावमा परिणत हुन्छ, जसले फिल्मलाई तीव्र र रोचक बनाएको छ।
फिल्ममा विजय मुख्य भूमिकामा देखिनेछन् भने बलिउड अभिनेता बबी देओल खलनायकको भूमिकामा प्रस्तुत हुनेछन्। विजय र बबी देओलबीचको आमनेसामने भिडन्तलाई फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ।
विजय र बबी देओलसँगै पूजा हेगडे, ममिता बैजू, गौतम बासुदेव मेनन, नारायण र प्रियामणि लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। उच्च रोमाञ्चक दृश्य, राजनीतिक थ्रिल र बलियो स्टारकास्टका कारण फिल्मले दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको दाबी छ।
यसैबीच, थलापति विजयले हालै आफ्नै राजनीतिक दल घोषणा गरिसकेकाले ‘जन नायगन’ लाई उनको अभिनय यात्राको अन्तिम फिल्मका रूपमा पनि हेरिन थालेको छ।













प्रतिक्रिया