मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन « Khabarhub

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो खण्डको मार्फा-जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । 

जिल्ला प्रशासन कार्यालयले बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनीसँग छलफल गरी मार्फा-जोमसोम खण्ड आगामी वैशाखभित्र कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

कोवाङ–जोमसोम १७ किलोमिटर सडकअन्तर्गत १२ किमी कालोपत्र हुँदा मार्फा-जोमसोम चार किमी र थासाङ-१ टुकुचेमा एक किमी सडक नौ महिनादेखि कालोपत्र हुन सकेको छैन । प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जिल्लाका रुग्ण आयोजनाको विकास, निर्माणलाई यथाशीघ्र सम्पन्न गरी यात्रा सहज बनाउने विषयमा केन्द्रित रहँदै उक्त खण्डको कामलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार तयार गर्न निर्माण कम्पनीलाई दिर्नेशन दिइएको जानकारी दिए।

बैठकमा मार्फा-जोमसोम सडकमा कालोपत्र नहुँदा पर्यटक तथा स्थानीय नागरिकलाई परेको समस्या, समाधानका उपायलगायत विषयमा छलफल भएको थियो । आर्थिक वर्ष २०७३-७४ मा ठेक्का सम्झौता भएको बेनी-जोमसोम सडकको चौथो खण्डमा हालसम्म छ पटक म्याद थप भइसकेको छ । 

निर्माण कम्पनीले कोवाङबाट मार्फासम्म कालोपत्र सम्पन्न भएको उल्लेख गर्दै जोमसोम क्षेत्रमा करिक २०० सय मिटर सडकमा आरसीसी सडक विस्तार गरिसकिएको जनाएको छ । निर्माण कम्पनीले चालु आवको सुरुदेखि हालसम्म मार्फा-जोमसोम खण्डको चार किमीमा आंशिक मात्र काम गरेर सडक अलपत्र पारेको छ ।

आयोजनासँग पप्पु-गौरी-पार्वती र कोशी एण्ड न्योपाने जेभीले ठेक्का सम्झौता गरेका थिए । कोशी एण्ड न्यौपानेले कोवाङ-जोमसोम सडक कालोपत्र अघि बढाएको थियो । ठेक्का लागत ७० करोड रहेको कोवाङ-जोमसोम सडकको काममा ढिलासुस्ती भएपछि मुख्य निर्माण कम्पनी पप्पु-गौरी-पार्वती काममा फर्किएको थियो । काममा फर्किएको उक्त कम्पनीले पनि नौ महिनादेखि काम नगरी सडक अलपत्र पारेको थियो । 

करिब ९० प्रतिशत भौतिक प्रगति भइसकेको कोवाङ-मार्फा खण्डमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि चालु वर्षको असोजदेखि ठेक्का लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ भुसालले बताए। जिल्लाका रुग्ण आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले कोवाङ-जामसोम वैशाखभित्र सम्पन्न गर्न अन्तिम पटक निर्देशन दिइएको जानकारी दिए ।

प्रजिअ भुसालले अब पनि छलछामले काम नहुने भन्दै एक हप्ताभित्र काम सुरु नगरे निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरे। 

‘निर्माण कम्पनीले यही चैत २० गतेभित्र कालोपत्र गर्न आवश्यक जनशक्ति, उपकरणसहित कार्यस्थलमा खटिने प्रतिबद्धता जनाएको छ’, उनले भने, ‘काम २१ चैतदेखि सुरु नगरेमा ठेक्का अन्त्य गर्नेगरी ‘अल्टिमेटम’ दिएका छौँ, प्रत्येक दिन कामको प्रगति विवरण बुझाउन आयोजनालाई निर्देशन दिएका छौँ ।’

बेनी-जोमसोम-कोरला खण्डका आयोजना प्रमुख ध्रुव झाले मार्फाबाट जोमसोमसम्मको चार किमीमा वैशाखभित्र कालोपत्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले प्रतिबद्धता जनाएकाले कामले गति लिने विश्वास व्यक्त गरे। 

‘एक साताभित्र सडक कालोपत्रको काम धमाधम सुरु हुनेछ । हामीले जनशक्ति, आवश्यक सामग्री र उपकरण व्यवस्थापन गर्न निर्माण कम्पनीलाई ध्यानार्कषण गराइसकेका छौँ’, उनले भने, ‘चैत २१ देखि काम सुरु हुन नसकेमा ठेक्का अन्त्य गरी कालोसूचिमा राख्ने तयारी गरेका छौँ ।’

यसैबीच, कोवाङ-जोमसोम खण्डको निर्माण कम्पनी पप्पु-गौरी-पार्वतीका प्रमुख ठेकेदार रामकुमार थापाले उक्त खण्डमा आगामी वैशाखभित्र अस्फाल्ट कालोपत्र सक्नेगरी काम थाल्ने तयारी भइरहेको भन्दै प्रशासन र आयोजनासमक्ष प्रतिबद्धता जनाए।

‘उक्त खण्डमा कालोपत्रका लागि सबग्रेड, सवबेस, बेस, प्राइम कोट र कालोपत्र गर्नेगरी काम अघि बढाएका छौँ, ढुक्क हुनुस् अब वैशाखभित्र कालोपत्र सकिन्छ’, उनले भने। 

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मुस्ताङ खण्डको घाँसाबाट मुक्तिनाथ र कागबेनी क्षेत्रमा काम सकिँदा कोवाङ-मार्फा-जोमसोम खण्डको चार किमी सडक कालोपत्र नभएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन् । उक्त खण्ड कालोपत्र भएमा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटक तथा स्थानीय नागरिकलाई आवागमनमा सहज हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : ४५ बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको