कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास | Khabarhub Khabarhub

कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । 

कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इन्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए ।

‘केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ’, उनले भने, ‘अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।’

केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।

‘केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ’, उनले भने, ‘कोही शुभचिन्तकहरू यहाँ आएर नै कहिलेकाहीँ यहीँ उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।’

कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि ५० लाख खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिए ।

‘सिएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । यहाँका कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ ।’
 
अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६  कार्यरत छन् ।

 ‘कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ’, उनले भने, ‘देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा जनता धेरै लाभान्वित हुने थिए ।’

कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गरेका छन् । 

 प्रमुख देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गरे।
 
तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिए ।

 उनले भने,’मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि  कारखानाको स्थलगत अवलोकन एवं जानकारी लिएँ  । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु ।’

केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ ।

विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो ।

विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : १२ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना