काठमाडौं– हरिवंश आचार्य केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भूठान’को ट्याग लाइन छ ‘घर हराएको कथा’ ।
यता हरिवंश चाहिँ भन्छन्, ‘यस फिल्ममा म हाँसो हराएको मान्छे बनेको छु ।’
किन उनले यसो भनेका होलान् ?
यो फिल्मको कथा भुटानबाट लखेटिएका नेपाली भाषी भुटानी स्वेदश फर्कन नपाएको विषयमा केन्द्रित छ ।
फिल्ममा हरिवंशको भूमिका देखिरहेको भन्दा फरक छ । उनलाई हामीले हाँस्य कलाकारका रुपमा चिनेका छौं । हाँस्य चरित्रमा नै बढी देखेका छौं । यो कुरा ‘भूठान’मा लागू भएको छैन ।
उनी भावुक भूमिकामा देखिन्छन् । फिल्मभर उनी एक दृश्यमा मात्रै हाँसेका छन् ।
‘भूठान’मा हरिवंशलाई क्यारेक्टरमा पस्न सुरुमा केही समस्या थियो । निर्देशक विनोद पौडेलले खोजे जस्तो हरिवंशको मुहारमा भावुकता देखिएको थिएन ।
त्यसपछि निर्देशकले आफूलाई भनेको कुरा हरिवंश सुनाउँछन्, ‘हरि दाइ तपाईं सुटिङमा अमेरिका हुनुहुन्छ । स्वदेश अर्थात्, नेपाल फर्कन पाउनुभएन भने तपाईंमा के गुज्रिन्छ ?’
निर्देशक यो प्रश्नको मनन गर्दा आफू ‘खङ्रङ्ग’ परेको हरिवंश बताउँछन् । अनि निर्देशक पौडेलले भने, ‘मैले खोजेको अनुहार नै यही हो ।’
यही ‘खङ्रङ्ग’ परेको अनुहार भूठानमा आफू निर्वाह गरेको भूमिकामा हरिवंशले लागू गरेको छन् ।
त्यही भएर हरिवंशले यस फिल्ममा आफूले हाँसो हराएको व्यक्तिको भूमिका निर्वाह गरेको बताएका हुन् ।
यो फिल्ममा हरिवंशले निर्वाह गरको भूमिकाको सशक्त पाटो नै ‘हाँसो हराएको अनुहार’ हो । ‘भूठान’ हरेका फिल्म जानकारहरूले त्यही प्रतिक्रिया दिएका छन् ।

‘भाग्यले पाएको स्क्रिप्ट’
यो फिल्म हेरेपछि हरिवंशको अभिनयबारे निर्देशक निश्चल बस्नेतले खबरहबसँग भने, ‘यो फिल्ममा मैले हरिवंश खोज्दा भेट्टाइनँ । भुटानको कोही पात्र हो जस्तो लाग्यो । मुख्य कुरा हरि दाइलाई हामीले यो फिल्म हेर्दा पहिलेभन्दा फरक पाउँछौं ।’
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो निर्देशन रहेको फिल्महरूलाई बलियो प्रतियोगीका रुपमा उभ्याउने निर्देशक मीन भाम भने ‘भूठान’ले हरिवंश आचार्यको चार दशकभन्दा लामो कलाकारिता यात्रा पूर्ण गराएको प्रतिक्रिया दिन्छन् ।
उनले यसो भन्नुको मुख्य कारण हो– यतिको प्राविधिक र कथाका रुपमा बलियो फिल्मको प्रस्ताव जो कोही कलाकारलाई आउन मुस्किल पर्छ ।
‘४ दशक लामो कलाकारिता यात्रा पूर्ण गर्ने यति शक्तिशाली फिल्म हो यो ?’ भन्ने प्रश्नमा भाम भन्छन्, ‘पक्कै हो । शक्तिशाली स्क्रिप्ट हो ।’
हरिवंश पनि मीन भामको जस्तै मत राख्छन् । भन्छन्, ‘यस्तो स्क्रिप्ट सायदै पाइन्छ । यस्तो शक्तिशाली स्क्रिप्ट भाग्यले पाएको हो । अब यस्ता फिल्मबाट प्रस्ताव आउला कि नआउला !’
आफूलाई यस फिल्ममा अनुबन्ध गरेर निर्देशक विनोद पौडेलले गुण लगाएको रुपमा हरिवंशले लिएका छन् ।
रम पिएर छायाङ्कन

‘भूठान’को छायाङ्कन हिउँ पर्ने चिसो मौसममा अमेरिकामा गरिएको हो ।
फिल्ममा एक दृश्य हरिवंशले धर्म परिवर्तन गर्नुपर्ने छ । जसका लागि उनी पानीमा डुब्नुपर्ने हुन्छ ।
पानीमा डुब्नुपर्ने दृश्य कोठाभित्रकै हो । तर, हरिवंश चिसो पानीमा डुब्नुपर्ने थियो । बाहिर चिसो मौसमले तातो पानी केही क्षणमै ठन्डा भइहाल्यो ।
त्यस घरमा ‘एसी’ थिएन । फिल्ममा छोटो दृश्य भए पनि खिच्नका लागि लामै समय लाग्ने हरिवंशलाई थाहा नहुने करै भएन ।
उनी स्पष्ट पार्छन्, ‘कुनै पनि दृश्य विभिन्न कोणबाट खिच्नुपर्छ । त्यो प्राविधिक कारणले सानो दृश्यलाई खिच्न पनि लामो समय लाग्छ ।’
अवस्था सिर्जना भयो– बाहिर हिउँ परेको छ । हरिवंश चिसो पानीमा चोपलिएर अभिनय गर्नु छ ।
चिसो पानीमा चोपालिनु पर्ने भएपछि उनले पहिलाको एक फिल्मको छायाङ्कन सम्झिए । जहाँ जाडो समयमा स्विमिङ पुलमा चोपालिनु परेको थियो ।
चिसो पानीमा चोपालिँदा उनको शरीर लामो समय काँपेको थियो । जसले शरीरिक रुपमा गाह्रो पारेको थियो । उनलाई भूठानमा त्यो दोरोरिने डर थियो ।
तर, हरिवंशको अनुभव काम लाग्यो । उनले ‘रम’ पिउने निर्णय गरे ।
भन्छन्, ‘पहिला स्विमिङ पुलमा चोपालिँएर जिउ काँप्दा तातोपानीमा रम पिएपछि ठीक भएको थियो । त्यही भएर भूठानमा भने मैले पहिला नै रम पिएँ ।’
यो ‘रम’ पिउने निर्णयले उनका लागि उपयुक्त साबित भयो । पहिला जस्तो जिउ काँप्ने समस्या भएन ।
‘रम’ पिउने निर्णय स्वास्थ्यका लागि उपयुक्त नभएको हरिवंश बताउँछन् । आफूले औषधिका रुपमा थोरै पिए पनि सकेसम्म यस्तो नगर्न उनी सुझाव दिन्छन् ।
भन्छन्, ‘मैले रम पिउने निर्णय लिएँ । तर अरु पनि मबाट प्रभावित यस्तो नगर्दा राम्रो । रम पिउनु राम्रो होइन ।’
‘पिउन जाने निमको झोल पनि औधषि’ भन्ने उखान यहाँ हरिवंशले लागू गरे । अर्थात्, ‘रम’लाई जिउ तताउने औषधिका रुपमा प्रयोग गरे ।
प्रतिक्रिया