एजेन्सी -इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइले बिहीबार (जुन २६) मा टेलिभिजनमार्फत एक सम्बोधन गरे ।
इजरायलले आक्रमण गरेपछि गोप्य बङ्करमा सुरक्षित रहेका भनिएका खोमेनेइले जुन १८ पछि गरेको यो पहिलो सम्बोधन थियो ।
इरान-इजरायल सङ्घर्षको गम्भीर परिस्थितिबीच चलेका अनेक अड्कलबाजीको औचित्य खोमेनेइको यो भिडियो सन्देशसँगै सकिएको छ ।
सातायता कुनै भिडियो सन्देश जारी नगरेका खोमेनेइ इरान र इजरायलबीच अचानक घोषित युद्धविरामपछि सार्वजनिक भएका हुन् । १२ दिन लामो सङ्घर्षका क्रममा खोमेनेइ मौन रहँदा अवस्था असाधारण रहेको अनुमान हुन थालेको थियो । खोमेनेइ जीवित रहे/नरहेसम्मका अनुमान सुनिन्थ्यो ।

खोमेनेइ इरानका सर्वोच्च नेतामात्र होइनन्, बरु उनी मुलुकको सशस्त्र बलका प्रमुख (कमाण्डर-इन-चिफ) पनि हुन् ।
इजरायलसँग युद्धजस्तो ठूलो घटनाबारे उनको तर्फबाट कुनै सार्वजनिक प्रतिक्रिया नआउँदा खोमेनेइको स्वास्थ्य, सुरक्षा र देशका प्रमुख फैसलामा उनका नियन्त्रणलाई लिएर अनेक अफवाह फैलिएको थियो ।
पछिल्लो भिडियो सन्देशमा खोमेनेइको प्रतिक्रिया निकै साधारण थियो, जो यस्तो सङ्कटको समयमा असामान्य ठहर्छ ।
टेलिभिजनमा दोस्रोपटक उपस्थित भएपछि यी मामिलामा तत्कालका लागि अनुमान गर्ने काम रोकिएको छ । तर, इरानमा अभूतपूर्व सङ्कट दौरान लामो मौनताका कारण सत्तामा खोमेनेइको नियन्त्रणलाई लिएर सवालहरू अझै बाँकी छन् ।
खोमेनेइको पछिल्लो स्थिति
खोमेनेइले जुन २६ मा टेलिभिजनबाट एक छोटो सन्देश प्रसारण गर्दै साताभरकोआफ्नो मौनता तोडे । जुन १३ देखि सुरु भएको इरान-इजरायल सङ्घर्षपछि यो उनको तेस्रो सार्वजनिक सन्देश थियो ।
यसअघि जुन १८ मा खोमेनेइको सन्देश इरानी टेलिभिजनबाट प्रसारण भएको थियो । सो सन्देशमा उनले अमेरिकालाई कडा चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले बिना शर्त आत्मसमर्पण गर्न दिएको सल्लाहलाई खोमेनेइले ‘खारेज’ गरेका थिए ।
खोमेनेइको आधिकारिक वेबसाइटमा सामान्यतयाः उनले भाषण गरिरहेका कयौँ तस्बिर सार्वजनिक गरिन्छ । तर, जुन १८ मा एउटा फोटोमात्र प्रकाशित भयो । जुन २६ मा गरेको भाषणका साथ पनि खोमेनेइको एउटै तस्बिर जारी गरियो ।
जुन १८ मा खोमेनेइले प्रसारित खोमेनेइको भिडियो सम्बोधन केही फरक र असामान्य थियो । उक्त सन्देश सार्वजनिक भएपछि खोमेनेइ रहेको स्थानबारे विभिन्न अनुमानित खबर फैलिए ।
इरान-इजरायल युद्धविराम भएको अमेरिकी घोषणा भएपछि पनि खोमेनेइ ४८ घण्टाभन्दा बढी समयसम्म सार्वजनिक भएनन् । युद्धविरामका शर्तमा स्वीकृति जनाउने क्रममा खोमेनेइको भूमिका थियो या थिएन भन्ने पनि स्पष्ट थिएन ।
इरानको संविधानको अनुच्छेद ११० मा सर्वोच्च नेतालाई युद्ध या शान्तिको घोषणा गर्ने अधिकार रहेको उल्लेख छ । साथै, सर्वोच्च नेता नै सशस्त्र बलका सर्वोच्च कमाण्डर हुन्छन् ।
यस्तो प्रावधान हुँदा पनि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी)ले युद्धविरामबारे विज्ञप्ति जारी गर्दा न खोमेनेइबाट स्वीकृति पाएको लेख्यो, न त उनको सङ्लग्नताको कुनै सङ्केत नै दियो ।

एसएनएससीको विज्ञप्तिपछि स्थिति तब थप रहस्यमय बन्यो, जब खोमेनेइले इरानी परमाणु भट्टीमा भएको अमेरिकी हमला र प्रतिवादमा इरानले कतारस्थित अमेरिकी हवाइ अड्डा अल-उदैदमा गरेको हमलाबारे कुनै प्रतिक्रिया दिएनन् ।
यतिमात्र होइन, इरानका वरिष्ठ अधिकारीहरूले पनि यी घटनाबारे खोमेनेइसँग कुनै कुराकानी भएकोबारे पुष्टि गरेनन् ।
खोमेनेइ मौन बस्नुको एक कारण उनको सुरक्षासम्बन्धी चिन्ता भएको मानिएको छ । मुलुकका उच्च अधिकारीहरूसँग नै उनले कुराकानी गरिरहेका थिए कि थिएनन् खुलेन ।
अमेरिकी र इजरायली अधिकारीहरूले सङ्घर्षका क्रममा खोमेनेइलाई निशाना बनाउन सकिन्थ्यो भनिरहेका छन् । इजरायली हमलामा इरानी कमाण्डर परमाणु वैज्ञानिक मारिएकाले यो दाबीलाई पूर्णतः इन्कार गर्न पनि सकिँदैन ।
जुन २१ मा न्युयोर्क टाइम्सले इरानको गोप्य स्रोतलाई उधृत गर्दै खोमेनेइले एक सुरुङमा शरण लिइरहेको खबर छापेको थियो । उक्त सूत्रले टाइम्सलाई खोमेनेइ उतिखेर विश्वासिला एक सहयोगको माध्यमबाट सम्पर्कमा रहेको बताएको थियो । उनले आफू रहेको स्थानबारे थाहा नदिनका लागि सबै विद्युतीय सञ्चार उपकरण पनि बन्द गरेका थिए ।
यस्तो दाबीको आंशिक पुष्टि जुन २४ का दिन त्यतिखेर भयो, जब उनको कार्यालयसँग सम्बन्धित वरिष्ठ अधिकारी मेहदी फजायलीले जुन २३ मा एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै खोमेनेइ सुरक्षित स्थानमा रहेको बताए । उनले खोमेनेइबारे यस बाहेक थप कुनै जानकारी दिएनन् ।
यस मामिलामा टिप्पणीकार र अनलाइन प्रयोगकर्ताले अनेकौँ अड्कल लगाए । केही मानिसहरूले खोमेनेइको मौनता युद्धविराम निर्णयलाई खुला समर्थन गर्नबाट जोइिने सुझबुझयुक्त एक निर्णय भएको तर्क गरे । इरानभित्रको कट्टरपन्थी गुटहरूबाट असन्तुष्टि झेल्न नपरोस् भनी खोमेनेइले यस्तो उनीहरूको आकलन थियो ।
खोमेनेइको अन्तिम भाषणमा ‘युद्धविराम’ या ‘सम्झौता’ जस्ता शब्द प्रयोग भएका छैनन् । उनले ‘जीत’ शब्दमा मात्र जोड दिएका छन् ।
पश्चिमा मिडियाहरूले खोमेनेइको नीतिमा अक्सर रणनीतिक अस्पष्टता हुने दाबी गर्छन् । खोमेनेइले पनि विगतमा इरानले भोगेका कयौँ सङ्कटका बेला आफूलाई पर राखेका थिए ।
एक पक्षले खोमेनेइको अनुपस्थितिलाई सोही पुरानो रणनीतिको हिस्सा भएकोसम्म भने । यस्तो रणनीतिमा खोमेनेइले कुनै मामिलाबारे प्रतिक्रिया दिनुअघि कट्टरपन्थी धारको रुझान पर्खने गर्छन् । त्यसपछि मात्रै आफ्नो धारणा राख्ने गर्छन् ।
यसरी डरलाग्दो युद्धका बेला ‘गायब’ भइरहेपछि सामाजिक मिडिया प्लेटफर्म एक्समा खोमेनेइको व्यापक चर्चा गरे । विदेशमा रहेका इरानी र विपक्षी नेताहरूबीच खोमेनेइबारे बढी नै चर्चा भइरहेको थियो ।
खोमेनेइको अनुपस्थिति र मौनतालाई लिएर सामाजिक सञ्जालमा मिम्स लगायत व्यङ्ग्य सामग्री पोष्ट हुन थाल्यो । देश सङ्कटमा परेका बेला खोमेनेइको लुक्ने प्रवृत्तिलाई लिएर मजाक उडाउने काम भएको थियो ।
केही व्यक्तिहरूले खोमेनेइको मृत्यु नै भइसकेको या इस्लामिक रिभोल्यूशन गार्ड कोर (आइआरजीसी)ले देशसँग जोडिएका फैसला गर्ने खोमेनेइको अधिकार आफ्नो हातमा लिएको अड्कल गरिरहेका थिए ।

केही मानिसहरूले चाहिँ खोमेनेइको मौनता एक योजनावद्ध रणनीतिको हिस्सा भएको अनुमान लगाए । खोमेनेइले पनि नाटकीय ढङ्गले पुनः अघि बढ्न र प्रतीकात्मक जीत भएको घोषणा गर्न आफ्नो मौनता उपयोग गरे ।
सामाजिक सञ्जालमा केही मानिसहरूले चाहिँ सिरियाका तानाशाह बसर अल-असद झैँ खोमेनेइ पनि रूसतर्फ भागेको खबर फैलाए । तर त्यस्तो दाबीलाई आम मानिसले धेरै हदसम्म पत्याएनन् । किनकि खोमेनेइ सन् १९८९ मा सर्वोच्च नेता बनेदेखि नै इरानबाहिर गएका थिएनन् ।
सार्वजनिक जानकारीमा आएअनुसार, खोमेनेइको अन्तिम विदेश यात्रा सन् १९८९ मा उत्तर कोरियाको भ्रमण थियो, जतिखेर उनी इरानका राष्ट्रपति थिए ।

खोमेनेइ सार्वजनिक भएपछि माथि उल्लेखित तमाम अनुमान अबलाई गलत सावित भएका छन् । तर, इरानभित्र सत्ता र शक्तिका लागि वर्षौँदेखि चलिरहेको गुट-युद्धमाथि उठेको सवाल भने यथावत् छ ।
केही मानिसहरूले त २६ जुनमा प्रसारित भिडियो सन्देशमा खोमेनेइ थकित र कमजोर देखिएको बताएका छन् । ८६ वर्षीय खोमेनेइको स्वास्थ्यलाई लिएर मानिसहरूले नयाँ अनुमान गर्न थालिसकेका छन् ।
(बीबीसी कलेक्टिभ न्यूजरूमको सामग्री अनूदित, सम्पादित र प्रकाशित ।)
प्रतिक्रिया