काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । उनले पार्टी केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखको संयुक्त बैठकलाई सम्बोधन गर्दै यादवले चुनावको तयारीसहित पार्टीको मुद्दा बोकेर जनताको घरघरमा पुग्न निर्देशन दिएका हुन् ।
अध्यक्ष यादवले अहिलेको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अघि बढ्नु पर्ने बताए ।
‘जसपा नेपालले बलियो ढंगले उठाउँदै आएको मुद्दाहरु प्रष्ट रुपले अझै जनताबीच पुग्न सकेको छैन । ती मुद्दा जनतामा पुर्याएरई बुझाउने काम तपाईंहरूको हो’, यादवले भने,‘पार्टीपंक्तिलाई अब न विश्राम गर्ने समय छ, न रोकिने छुट छ, तपाईंहरू सम्पूर्ण शक्ति लगाए चुनावको तयारीमा होमिनुस् ।’
पार्टीलाई बलियो बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावको तयारीमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
‘निर्वाचनमा आफ्ना कार्यक्षमतालाई थप विकसित गर्नु आवश्यक छ, जनता माझ मुद्दा पुर्याउन र सशक्त संगठन निर्माण अपरिहार्य छ,’ यादवले भने ।
मधेश प्रदेशसहित देशैभर पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता आवश्यक रहेको उनले उल्लेख गरे । त्यसलाई अझै व्यापक बनाउँदै लैजानु पर्नेमा उनले जोड दिए ।
अध्यक्ष यादवले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वानसमेत गरे ।
बैठकमा प्रशिक्षण, नेतृत्व विकासको पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिका थप प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।
प्रतिक्रिया