पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास र प्रयोग बढ्दो अवस्थामा छ । विश्वभरका व्यक्तिको जीवनशैलीमा कृत्रिम बुद्धिमत्ताले आफ्नो प्रभाव दिनानुदिन बढाउँदै लगिरहेको छ । यसको प्रयोग व्यापक बढ्दै जाँदा नेपालका व्यक्ति, समाज, समुदाय, सङ्घसंस्था र राजनीतिक दल तथा सरकारी तहमा समेत यसको प्रयोग र नियमनका बारेमा बहस, छलफल जारी छ ।
यही बिषयमा केन्द्रित रहेर देशकै पुरानो पार्टी नेपाली कांग्रेसले आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा ‘नेपालको विकासका लागि कृत्रिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रम आयोजना गरेर बहसको शृङ्खला प्रारम्भ गरेको छ ।
कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता (एआई) जस्तो अत्याधुनिक विषयलाई केन्द्रमा राखेर केन्द्रीय कार्यालयमै विशेष छलफलको आयोजना गरेर प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश मात्रै दिएको छैन, जनताको जीवनशैली, कृषि पद्धतिमा सुधार, लागतप्रभावी उत्पादनलाई कसरी बढवा दिन सकिन्छ भन्ने बिषयमा समेत बहसलाई निरन्तरता दिएको छ ।
एआईको सदुपयोग, सम्भाव्यता, नीति निर्माण र उत्तरदायी नेतृत्वबारे गहन विमर्शका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन नै एआईको प्रयोगमार्फत मोबाइल गरियो । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोबाइलमा ‘एआई फङ्सन क्लिक’ गरेर बत्ती बालेर कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढङ्गले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्ने बताए । उनले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ भन्दै अब जनतालाई केन्द्रमा राख्दै ‘डिजिटल नेपाल’ निर्माण गर्नुपर्ने समय आएकामा जोड दिए ।
विभागका संयोजक सुशीला मिश्र भट्टले तमाम युगहरू पार गरिसकेका छौँ भन्दै अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्ने भएकाले यसका जोखिमलाई समेत ध्यानमा राख्दै रणनीतिक नीतिनिर्माण अनिवार्य भएको बताए ।
एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे । “बिजुली बत्तीलाई पनि एक समय विनाशकारी शक्तिका रूपमा हेरिएको थियो, अहिले एआईप्रति पनि त्यस्तै डर फैलिएको छ, तर छिमेकी भारतले यस क्षेत्रमा गरिरहेका प्रगतिशील कामबाट हामीले सिक्न सक्छौँ”, उनले भने । उनले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एल्गोरिदम, नवप्रवर्तन, जनशक्ति निर्माण र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने धारणा राखे ।
कार्यक्रमको विशेष आकर्षण थियो– डिजिटल नेपालको विकास यात्राबारे तयार गरिएको भिडियो प्रस्तुति । जसमा नेपालले प्रविधिको क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धिबारे चर्चा गरिएको थियो । त्यसपछि ‘के नेपाल एआईका लागि तयार छ ? नैतिक र समावेशी नेतृत्वका आधार निर्माण कसरी गर्न सकिन्छ ?’ भन्ने शीर्षकमा गरिएको ‘प्यानल’ छलफलले कार्यक्रममा गहिराइ थप्यो ।
छलफल सत्रमा ‘टुटल’का संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआईको पूर्वाधार, नीतिगत तयारी र अवसरहरूको समग्र मूल्याङ्कन ‘रिपोर्ट’बारे जानकारी गराए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्राध्यापक डा सुदन झा, ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी दीपेश विष्ट र डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जनले एआई केवल प्रविधि मात्र बुझ्न नहुने धारणा राख्नुभयो । यसका लागि राजनीतिक तहबाट स्पष्ट सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको विज्ञहरुले बताए ।
बहसमा समूहगत छलफलको अध्यक्षता गर्नुभएका कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ भन्दै यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो भएकाले कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको विभागले आगामी दिनमा यसबारे थप अध्ययन, छलफल र नीतिगत हस्तक्षेपका कार्यक्रमहरू सञ्चालन गर्ने संयोजक मिश्रले जानकारी दिए । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल मन्त्र बोकेको कांग्रेस अब प्रविधिमैत्री राजनीतिक अभ्यासमार्फत आधुनिक, समावेशी र उत्तरदायी नेपाल निर्माणको यात्रामा होमिएकोसमेत उनको भनाइ थियो ।
सामन्ती राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, तत्कालीन राजा महेन्द्र शाहको तानाशाही शासन, पञ्चायतको अन्त्य, बहुदलीय व्यवस्थाको स्थापना, माओवादी आन्दोलनको अन्त्यसँगै संविधानसभाको निर्वाचन र संविधान निर्माणसम्म नेतृत्वदायी भूमिका राजनीतिक दलहरुसँग सहकार्य गरेर देशको परिवर्तनको आन्दोलनको अग्रता हासिल गरेको कांग्रेसले सूचना प्रविधिको विकाससँगै विकसित कृत्रिम बुद्धिमत्ताको उपयोग आम जनजीवनमा हुनेगरी नीतिगत व्यवस्था गर्दै व्यवहारमा कार्यान्वयनमा ल्याउन पनि नेतृत्व गर्न सक्नुपर्छ भन्ने नेता तथा कार्यकर्ताहरुको भाव थियोे ।
प्रतिक्रिया