काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ।
बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत साउन ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त पक्राउ पुर्जी जारी भएपछि महर बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका महरलाई त्यहीँबाट नियन्त्रणमा लिएर अदालत लगिएको प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले खबरहबलाई बताए ।
‘उहाँविरुद्ध हुलाकबाट जाहेरी परेको थियो । त्यसपछि साउन ९ मै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’, अवस्थीले खबरहबलाई भने, ‘पुर्जी जारी भएपछि उहाँ साइबर ब्युरोमा उपस्थित हुनु भएको थियो । ब्युरोबाटै नियन्त्रणमा लिएर म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका छौँ ।’
अवस्थीले उनीविरुद्ध मुद्दा चल्ने-नचल्ने निर्क्योल अदालतले दिनेछ । यदि मुद्दा चल्ने गरी आदेश आएमा महरलाई म्याद लिएर अनुसन्धान अघि बढ्ने अवस्थीले बताए ।
महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।
प्रतिक्रिया