कथा : दुर्गा पूजा  « Khabarhub

कथा : दुर्गा पूजा 



आज प्रतिपदा तिथि रहेछ । बेलुकी मात्र क्यालेण्डरमा आँखा ठोक्किन पुगेछन् । झट्ट संस्कृत पढ्दाको याद आयो । प्रतिपदा तिथिमा दुर्गा पूजा आराधना गरिन्छ । सोचाइ दौड्यो– नवदुर्गाको अर्चनातिर । तर दुःखको कुरा अझ एक डेढ महिना बाँकी नै थियो । त्यसपछि आफ्नै दुर्गीको पूजा गर्नुपर्‍याे भन्ने लाग्यो । उनको नाम दुर्गा थियो र मैले बडो प्यारले ‘दुर्गी’ भनेर बोलाउँथे ।

‘ए दुर्गी !’ नेपथ्यमा हजुर…
मेरो यो पाइन्टको रुमाल धोइदेऊ त ।
‘चिया बनाउन लागेकी छु म’ जवाफ आयो । टेबलमा चिया ल्याएर राखेपछि मैले प्रश्न पुनः दाेहाेर्‍याएँ । 
ए, त्यो रुमाल धोइदेऊ त, जीवनसंगिनी, झट्ट ल त ।
सक्दिन क्या ! कस्तो चिसो छ पानी….।
एकछिन मौनता साँधेपछि पुनः बोलिन् । 
खै कहाँ छ ?
केही समयपछि उनी रुमाल धोएर फर्किइन् । मैले पूजा बढाएँ ।

ए फक्र्यौ ? अघि भन्नै बिर्सेछु । त्यो एकजोर मोजा पनि धोइदेऊ त । ल त मेरी दुर्गी ।
(चर्को स्वरमा) पानी छैन क्या । त्यसपछि साधारण लवजमा साबुन पनि सकिएको छ । मेरो पनि तीनचार वटा लुगा धुनु थियो ।

मैले आगोमा घिउ थपिदिएँ– माइतीबाट ल्याउँछ्यौ कि ?
झटारो झर्नु नै थियो– तपाईंको जस्तो हो र ? चाहेजति ल्याउन सक्छु । जमाना कहाँबाट कहाँ पुगिसक्यो । यस्तो भावनाको खेतीले पनि केही हुन्छ ? सधैँ लेख्ने मात्र काम । लाख दुःख गर्दा सय मात्र आउँछ । यहाँ त डलरको खेती गर्नुपर्छ, डलर खेती… । सदाबहार ल्याउन हरियो डलरको खेती गर्नुपर्छ, बुझ्या हो मेरो श्रीमान् महोदय ?

मेरो लेखन पेशालाई धुलो छ्यापिन्छ भन्ने मलाई लागेको त थियो तर अझै पर पुगेर उनले डलरको खेती गर्ने आदेश पो गर्न थालिन् । मैले भावुक मुद्रामा स्पष्टीकरण खोजेँ– कस्तो मलजल चाहिन्छ थाहा छ ? थाहा छ त्यसको खेती गर्ने विधि ?

यी यावत प्रश्नहरूको जवाफ दिइरहनु पर्ने जस्तो लागेनछ उनलाई, बेवास्ता गरी नेपथ्यमा प्रवेश गरिन् उनी । उनी अति नै बोलक्कड थिइन् । साँच्चै भन्नुपर्दा उनमा मौनता ल्याउन मैले कसरत नै गर्नु पर्दथ्यो । तर पनि मेरा धेरै उपायहरू प्रायः देखिन्थे । आजको साँझ खाना खाइसकेपछि म लेख्नमा मग्न थिएँ र यसैबीच दुर्गा पूजा आरम्भ गर्न लागेको थिएँ ।

म यता टेबलमा लेख्नमा व्यस्त थिएँ, उता सोफामा उनी हरतरहले मलाई ध्यान भङ्ग गराउने कोसिसमा थिइन् र यही बखत पूजा आरम्भ हुन लागेको थियो । उनी कहिले टीभीमा आवाज ठूलो पार्थिन् । कहिले के लेख्या र ? भनेर जवाफ दिनैपर्ने प्रश्न तेस्र्याउँथिन् । केही समयको मौन जुहारीपछि पूजा विधिवत आरम्भ भयो ।

मैले उनलाई अनौठो कथा सुनाउन लागेँ ।

एकपटकको कुरा हो– त्यतिबेला म ट्युसन पढाउने गर्थेँ । पढाउन जानुपर्ने लामो गल्लीको बाटो थियो । दायाँबायाँ समानान्तर रूपमा पर्खालहरू ठडिएका थिए । पढाउन जाने यो क्रमको केही दिनपछि एउटा अनौठो घटना घट्यो । म गम्भीर रूपमा प्रकट हुँदै थिएँ । उनमा पनि यसको प्रभाव पर्दै थियो । म झन्झन् उत्सुक बन्दै गएँ ।

त्यो दिन बेलुका ५, ६ त्यस्तै बजेको थियो । हिउँदको दिन । त्यसमा पनि पानी पर्ला जस्तो गरी आकासमा भूत कराइरहेको थियो । म हतार हतार गर्दै कोठातर्फ आइरहेको थिएँ ।  मैले अचानक १५–१६ वर्षकी खुट्टा अशक्त भएकी केटी आफ्नो अगाडि देखेँ । यति भन्दा उनी मतिर केन्द्रित हुन लागिन् । टीभीको आवाज हठात् घट्यो । मैले प्रसङ्ग बढाउन थालेँ ।

त्यो एकान्त परिवेश । म जति जति अगाडि बढ्थेँ, त्यति त्यति ऊ पनि अगाडि बढ्थी । मैले अप्ठ्यारो अनुभव गर्दै थिएँ । बेलाबेलामा ऊ एकदमै डराएको भावमा पछाडि मलाई हेर्दथी । त्यसको हेराइले ममा झन् पीडा थपिदिन्थ्यो । त्यसपछि त म छिटो छिटो हिँड्न चाहिन र सकिन पनि । ढिलो ढिलो हिँड्न थालेँ । तर झन् फसाद । ऊ पनि ढिलै हिँड्न थाली । झमक्क साँझ पर्न लागेको त्यो हिउँदको घडी, त्यसमा पनि मानिसहरू कम हिँड्ने त्यो गल्ली ।

यतिभन्दा उनी पूर्णतया मौन थिइन् । गाम्भीर्य गहिरिँदै थियो । उनको त्यस्तो प्रतिक्रियाले मलाई झन् उत्साही बनाउँदै लग्यो, मैले कथा बढाउन थालेँ ।

अगाडिबाट ५/६ जना मानिसहरू आइरहेका थिए । त्यति नै बेला मैले आफ्नो भएभरको बलले गति बढाएँ र उछिनेँ त्यस अशक्तलाई । मेरो सम्पूर्ण शक्ति टाढा बन्न कसरत गर्दै थिए । यतिभन्दा उनमा पुनः सहजरूपमा विचलन आउन थाल्यो, मानौँ कथा सकियो, औचित्यहीन कथा । यति जाबो कुरा पनि के के नै भए जस्तो भनेर टिप्पणी गरिदिइन् उनले । तर मैल कथा अझ बढाउन थालेँ सुन न सुन, त्यसपछि के भयो ? सतही रूपमा मेरो खण्डन गरिन् । मैले उनको पूजा गर्ने क्रममा थप चरु र समिधा थप्न थालेँ । 
जे हुनु त्यसपछि भयो । ती अशक्तले मलाई पछाडिबाट च्याप्प समातिन् । म झन् खङ्ग्रङ्ग भएँ । त्यसपछि उनी कराउन थालिन् । आवाज अस्पष्ट थियो । ती अगाडि गएका मानिसहरू फर्केर मलाई झपार्न थाले । ती अशक्तले गर्नु गरिन् । तिनीहरू सबै त्यसैका मानिस रहेछन् । मलाई झन् फसाद पर्‍याे । मलाई उनीहरूले सिधै घरमा पुर्‍याए । केरकार गर्न थाले । म निर्दोष थिएँ तर पनि भयभित थिएँ । मेरो विद्रोह सशक्त हुन दिएनन् तिनीहरूले ।

यतिभन्दा उनी निक्कै गम्भीर थिइन्, मानौँ अहिल्यै समस्या पर्‍याे । तत्काल नसुल्झाए घरमा रडाको मच्चिने भयो । यस्तो सोचिन् होला उनले । मैले थप्दै गएँ । तिनीहरूले जबरजस्ती मलाई त्यो अशक्त केटी भिराउन खोजे । म अक्क न बक्क भएँ । म झन् भयभित हुन थालेँ ।  त्यस रात मलाई त्यहाँबाट फुत्कन दिइएन । उनीहरू धेरै दिनदेखिको शिकार भेटे झैँ दङ्ग देखिन्थे ।

मलाई जबरजस्ती तानेर ती केटीको कोठामा घचेटिदिए । तिनी पनि त्यहीँ आइन् । शरीरको देब्रे भाग पूरै पक्षघात भएकी ती केटीले मलाई जीवनभरकै सबैभन्दा ठूलो मानसिक तनाव दिइरहेकी थिइन् । लौह दिवाकरहरू मेरो विरुद्धमा चारैतिर ठिङ्ग उभिएका थिए । म भाग्न सकिनँ । आखिर त्यो रात मैले त्यहीँ बिताउन बाध्य हुनुपर्‍याे ।

यतिभन्दा उनको शरीर पूरै पसिनाले भिजिसकेको थियो । त्यसपछि उनमा मानसिक विचलन आउन सक्ने भयले त्यस कथालाई टुङ्ग्याउने विचार गरेँ । त्यसपछि म बेस्सरी खित्का छोडेर हाँस्न थाले । उनी अत्यधिक क्रोधित भइन् । अरू कुरा के भयो भनी कराउन थालिन् । म उनमा गढेर बसेको गाम्भीर्य उप्काउन सफल भइसकेको थिएँ । कुरा धेरै भएकाले गाम्भीर्यपन क्रोधमा उम्लन लागेको थियो । त्यसपछि त आफैँमा एउटा समस्या ठिङ्ग उभियो– कसरी क्रोधलाई हाँसोमा बदल्ने ?

म लगातार हाँसिरहेँ । मानौँ यत्तिका कुरा त कोरा कल्पना मात्रै हो । उनले पनि त्यसपछि त बुझिन् क्यारे, क्रोधले ज्वाला घट्दै जान थाल्यो । त्यही नै निकास भए झैँ मलाई लाग्यो । त्यसपछि विस्तारै भन्न थालेँ– लाटी हेर त कस्तो शरीरभर पसिना निकालेकी त्यो त सपनाको कुरा पो हो त । फूल बुट्टा भर्दै जाँदा ती सब कुराहरू एकाएक निस्के । सपना पनि वास्तविक संसारमा अवतरण गर्न सक्छ त ?

हरेक परिस्थिति अनुसार आफूलाई अगाडि बढाउनु पर्छ, परिवारमा बसेपछि सधैँ बोलक्कड भइरहन सुहाउने कुरा होइन । अब त मजाकको समयभन्दा बढी कर्तव्यमुखी हुनुपर्छ । त्यसपछि उनी पूर्णतया चिसो भैसकेकी थिइन् । मतिर आँखा बटार्दै उनी पलंगतिर अगाडि बढिन् । त्यसपछि पूजाको चरु र समिधा बलेको खरानी सोहोरेर मैले लेख पूरा गर्न कलम दौडाउन थालेँ ।

भनिएको छ– यत्र नार्यस्तु पूज्यते रमन्ते तत्र देवता । अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने यसको आशय देखिन्छ । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ४९ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको