मुस्ताङमा विश्व पर्यटन दिवस : पर्यटकलाई खादा र फूल उपहार | Khabarhub Khabarhub

मुस्ताङमा विश्व पर्यटन दिवस : पर्यटकलाई खादा र फूल उपहार


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका-३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए। 

पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे । हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् । 

दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित एक्याप चेक पोष्टमा सडकमार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो । 

एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताए। पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सहकार्य र समन्वय गरेका छन् । स्वागत कार्यक्रममा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।
  
गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका कारण प्रभावित बनेका यहाँका पर्यटन व्यवसायीमा पर्यटनको आगमन हुन थालेसँगै पुनः चलायमान हुनेमा आशावादी बनेका छन् । प्रतिकूल मौसम र जेन-जी प्रदर्शनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताइरहेका अवस्थामा शुक्रबारदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । आज समिट एयरलाइन्सको जहाजले तेस्रो मुलुकका पर्यटक बोकेर तीन वटा उडान भरेको एयरलाइन्सका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिए । 

यहाँ आइपुगेका विदेशी पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी र सरोकार भएकाहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका उनको भनाइ छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको उनले उल्लेख गरे।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ०४ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न