वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता) « Khabarhub

वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)



काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ । बुधबार अध्यक्ष समीक्षा बास्कोटाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । एकता प्रक्रियापछि अध्यक्ष बास्कोटा, महासचिव रञ्जु दर्शना र उपाध्यक्ष प्रदीपचन्द्र परियार लगायतका शीर्ष नेताको हैसियत केन्द्रीय सदस्यसरह हुने भएको छ । नि:शर्त विवेकशील साझा रास्वपामा मिल्न जाँदा थुप्रै प्रश्न उठेका छन् ।

तर अध्यक्ष बास्कोटा वैकल्पिक धारका पार्टीहरू एक ठाउँमा नआए आगामी निर्वाचनमा पुरानै दलहरूको वर्चस्व रहने चिन्ता व्यक्त गर्छिन् । त्यहीकारण जनताको आवश्यकता र देशको रक्षाका लागि आफूहरू एक ठाउँमा आएको दाबी उनी गर्छिन् । उनले सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा आएर अगाडि बढ्नसमेत आग्रह गरिन् । यतिमात्रै होइन, जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए पुराना दलभन्दा पत्रु हुने उनको विश्लेषण छ । पार्टी एकीकरणको निर्णय र त्यसपछिका सम्भावित कदम र दृश्यबारे समीक्षा बास्कोटासँग खबरहबले छोटो कुराकानी गरेको छ ।

नि:शर्त राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभयो, एकता प्रक्रिया हलुका भएन र ?

वैकल्पिक राजनीतिमा कहिलेकाहीँ दुई कदम पछाडि सरेर पनि दुईऔचार कदम अगाडिको स्टेप चाल्न सकिने रहेछ । विवेकशील साझाले दिन खोजेको सन्देश चाहिँ राजनीतिमा लागेको १० वर्ष र मेरो उमेरसम्म आउँदा नेतृत्वलाई सिद्धान्त र एजेन्डामा कुरा मिल्यो मिलेन भन्ने मतलब छैन । एजेन्डाको कुरा नेपालमा गौण हुन्छ । तर, पदको कुरामा मैले कति पाउँछु, म कहाँ जाने ? प्रधानमन्त्री बन्ने कि नबन्ने ? मन्त्री बन्ने कि नबन्ने ? समानुपातिक सांसद बन्ने कि नबन्ने ? यस्ता विषयमा छलफल हुने रहेछ ।

यी व्यक्तिगत कुरा हुन् । यी विषयलाई गौण राखे सैद्धान्तिक विषयमा एक ठाउँ आउन सकिन्छ । यति भए त्यो विषय महत्वपूर्ण हुन्छ । त्यो देशको आवश्यकता पनि हो । त्यो हिसाबले विवेकशील साझाले वैकल्पिक राजनीति भनेपछि केही नयाँ छाप त छोड्नुपर्थ्यो । यो नयाँ छोड्नका लागि र नयाँ खेल्ने दलहरूका लागि एउटा नयाँ पाठ सिकाउन खोजेको हो । नि:शर्त पनि राजनीतिक ध्रुवीकरण हुन्छ भनेर हो । नयाँ र विचार मिल्नेबीच एकीकरण र ध्रुवीकरण नभएन हामी पनि पुराना दलभन्दा पत्रु भएर जाने छौँ । त्यसकारण व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताका लागि सोच्ने बेला अहिले हो ।

एकतामा जाँदा यहाँहरूको पद चाहिँ के ?

पद के भन्दा पनि अहिले हामी केन्द्रीय सदस्य हैसियतमा सम्मानपूर्वक पदमा रहने भनिएको छ । यो सबै कुरा आइतबारको घोषणा सभामा थाहा हुन्छ । टेक्निकल कुराहरू घोषणा सभामै गर्ने भनिएको छ । हामी चुनावकेन्द्रित एकतामा लागेका हौँ । जनताले धेरै दु:ख पाए, अब उनीहरूको एजेन्डामा लाग्ने हो ।

वैकल्पिक धारमा त विवेकशील साझा रास्वपाभन्दा धेरै अगाडि स्थापना भएको हो, तर समीक्षा बास्कोटाले पार्टी मूभ गर्न नसकेर नि:शर्त रास्वपामा मिसाइन् भन्छन् नि ?

टिप्पणी कसरी गर्छन् भन्ने कुरा आफ्नो ठाउँमा छ । कसले कसरी बुझेर गर्छ भन्ने कुरा हो । समीक्षा बास्कोटा र पार्टीका लागि भौतिक चिजहरू भन्दा पनि मुख्य के हो भने विवेकशील साझाको १० वर्षको लिगेसी, उज्ज्वल थापाले सुरू गरेको राजनीतिक योगदान र विवेकशील अभियानलाई दस्तावेजीकरण गर्नु नै ठूलो कुरा हो । समीक्षा बास्कोटालाई पद दिनु या चुनाव चिह्न या नाममा हेरफेर गर्नुभन्दा महत्वपूर्ण कुरा दस्तावेजीकरण मुख्य कुरा हो ।

हाम्रो १० वर्षको लिगेसीलाई जगेर्ना गर्नु, संस्थागत गर्नु हाम्रो दायित्व हो। जेन-जी आन्दोलनपछि पदको बार्गेनिङ गर्ने, तलमाथि गर्ने काम गर्‍यो भने जेन-जीप्रति पनि घात हुन्छ भन्ने सोचेर सम्झेर विवेकशील साझाले यो निर्णय गरेको हो । नि:शर्त एकीकरणलाई हामीले एक शत्प्रयास भनेका छौँ । राजनीति पदका लागि मात्रै होइन, नि:शर्त सत्कर्मका लागि प्रयास पनि हुन्छन् भनेर देखाउन खोजेको हो । त्यो बुझ्नेले त्यसरी नै बुझ्छ । टिकाटिप्पणी गर्नेले त यसलाई जसरी गरे पनि फरक पर्दैन । विवेकशील साझा त्यति कमजोर होइन । आज सडक सत्ता र सरकारमा पनि विवेकशील साझा छ । जेन-जी आन्दोलनपछि वैकल्पिक शक्ति एक नभए देशले ठूलो धक्का व्यहोर्छ ।

कति नेता-कार्यकर्ता रास्वपामा विलय हुनुभयो ?

विलय होइन, एकीकरण हो । हाम्रा ५ हजार नेता कार्यकर्ता सबै उच्च सम्मानका साथ गएका हौँ । अब हामी निर्वाचनमा लाग्छौँ । वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए जटिल मोडमा देश जान सक्छ । देश जोगाउन र जनताको समस्या सम्बोधन गर्न पनि निर्वाचन केन्द्रित हुनुपर्छ ।

आइतबारको एकतामा सबै भेला भइन्छ ?

पार्टी पूरै एकता भएकाले अगुवा नेताहरूलाई बोलाएका छौँ । सबैलाई निमन्त्रणा गरेर राष्ट्रिय सभागृहको क्षमताले भ्याउँदैन भनेर उपत्यका र उपत्यकाकाअगुवा साथीहरूलाई मात्र बोलाएका छौँ ।

के वैकल्पिक धार एक ठाउँमा आएर पुराना दललाई चुनौती दिन खोज्नु भएको हो ?

पुराना दलले भ्रष्टाचार ढाकछोप गर्ने काम गरे । सत्ता र शक्तिका लागि मात्र एकीकरण गरे । यसका लागि मात्रै समीकरण बनाए । हामीले चाहिँ नयाँ पुस्ता आउनुपर्छ, नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भनेर एकीकरण गरेको हो । वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले के बुझ्नुपर्थ्यो भने नयाँले पनि १ ठाउँबाट ५ जना उठ्न खोज्यो भने जित्ने पुरानैले हो । पुरानालाई परास्त गर्न र देशलाई समृद्ध बनाउन सबै नयाँ एकजुट हुने बेला आएको छ । हाम्रो देश धेरै पछि परेको छ । म नयाँ साथीहरूलाई के आग्रह गर्छु भने १ ठाउँबाट ५ जना नयाँ उठ्ने होइन । ५ जना नयाँ एक ठाउँमा आएर आगामी निर्वाचनमा एक योग्यले जित्ने माहोल बनाउने हो ।

अन्तिममा, रास्वपा सभापति रवि लामिछानेमाथि वित्तीय आरोप लागेर थुनामा परेका बेला रास्वपाको भविष्य सकियो भनिरहेका छन् । यही बेला तपाईंहरू जानु हुँदैछ, रास्वपाले के गर्ला त ?

रास्वपा ठूलो शक्ति हो । उसले २१ जना सांसदहरू प्रतिनिधि सभामा ल्याएर एउटा ठूलो शक्ति निर्माण गरिसकेको छ । वडासम्म संगठन विस्तार गरिसकेको छ । सभापतिजीको हकमा अदालती प्रकृयामा गइसकेकाले धेरै कमेन्ट गर्नुपर्ने अवस्था छैन । अदालती प्रकृयालाई मानेर सभापति आफैँ नख्खु जेलमा हुनुहुन्छ भनेपछि अन्य दलमा यस्ता मुद्दा लागेकाहरू बाहिरै बसिरहेका छन् । उहाँहरूलाई पनि सञ्चारमाध्यमले देखेकै छ ।

उहाँबारे अदालतलाई नै निर्णय गर्न छोड्नुपर्छ । कानुन र विधिको शासन हामी मान्छौँ । तर, रास्वपामा रविजी मात्रै हुनु हुन्न । अन्य थुप्रै नेता हुनुहुन्छ । उहाँले पनि अदालतबाट न्याय पाउनु हुन्छ । हामीलाई थाहा छ, उहाँले मैले तिर्नुपर्ने र भोग्नुपर्ने दायित्व पूरा गर्छु भन्नुभएकै छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ०७ बजे

अर्थसंक्षेप : एक सय दरको नयाँ नोट बजारमा, साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से र वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड राजस्व संकलन

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’ नेपाल उद्योग

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

एजेन्सी– फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त

सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नु भयो

काठमाडौं- एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सुरक्षाको