सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी | Khabarhub Khabarhub

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन् । 

भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।

उनले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेका थिए । उनले भने, ‘यसपालि उत्पादन बढेकाले २० लाखको सुन्तला बिक्री भएको हो ।’ पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो ७५ रुपैयाँका दरले सुन्तला बिक्री गरेको खत्रीले बताए । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुन् । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

मरेकमा रहेका २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्यूनतम एक लाखसम्मको सुन्तला बेचेका छन् । ‘गत वर्ष ८० लाख रुपैयाँको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो’, उनले भने, ‘फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।’

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले ६ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तला खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर ६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौं र हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए । 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ५२ बजे

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर