हामी बिरामी भएर अस्पताल पुग्दा सञ्चो, बिसञ्चो सोधपुछ गर्ने, सामान्य चेकजाँच गर्ने, औषधी खुवाउने लगायतका सबै काम नर्सले गर्छन् । अस्पतालको बिरामी भर्ना कक्ष होस या आपत्कालीन कक्ष जहाँ पनि सेतो कोट लगाएर बिरामीहरूको सेवामा तल्लीन रहने नर्सहरू सेवाका क्रममा आफूले आर्थिक, सामाजिक सँगसँगै धेरै शारीरिक मानसिक पीडा खेप्नुपरेको बताउँछन् ।
महँगो शुल्क तिरेर अध्ययन गरी ठूलो सपना बोकेर नर्सिङ पेसामा आबद्ध भएका उनीहरूको सेवाको कदर नेपालमा नभएको गुनासो सुनिन्छ। विशेष गरी निजी अस्पतालहरूमा अहिले पनि थोरै पारिश्रमिक दिएर लामो समय काममा खटाउने गरेको पाइएको सरकारी अध्ययनले देखाएको छ ।जसका कारण ठुलो जनशक्ति बाहिरिएको छ । नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ माघ १५ मा नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
यसै दिनको सम्झनामा ‘आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्यव्यवस्था’भन्ने नाराका साथ ६३ औं नेपाल नर्सिङ दिवस मनाइरहँदा नेपालमा नर्सिङ पेसा व्यावसायिक नभएको पीडा नर्सहरूले पोखेका छन् ।
एउटा नर्सको भागमा ४० बिरामी
परोपकार प्रसूति गृह थापाथलीमा कार्यरत स्टाफ नर्स सुजाता गिरी रोकाया भन्छिन्– एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।’
बिगत ८ वर्षदेखि यो पेशामा आबद्ध रोकाया किष्ट, मेडिसिटी हुँदै हाल थापाथलीमा करार कोटामा काम गरिरहेकी छन् ।
नर्सिङ अधिकृतको योग्यता हासिल गरे पनि लामो समयदेखि लोकसेवा आयोगले आवेदन नखोलेको र कामको आधारमा बढुवा गर्ने सिष्टम नभएकोले स्टाफ नर्समै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
सुरुवाती अवस्थामा काम गर्दा निःशुल्क गर्नुपर्ने अवस्था थियो रहेको स्मरण गर्दै सुजाताले भनिन्– ‘गगन थापा स्वास्थ्यमन्त्री हुँदा निःशुल्क राख्न नपाउने भनेपछि पारिश्रमिक पाउन थालेको त्यो पनि एकदमै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था थियो ।’
कतिपय अस्पतालमा अहिले पनि अवस्था त्यही छ । एकातिर तोकिए अनुसारको तलब नदिने, आफूलाई चाहिएको बेलामा बोलाउने, नभए जाउ भन्ने त्यस्तो समस्या निजी अस्पतालमा छ भने सरकारी अस्पतालहरूमा कामको चाप धेरै हुने, एक जना नर्सले ४० बढी बिरामी हेर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्ड अनुसार एक जना नर्सले ४ देखि ५ जना बिरामी हेर्नुपर्ने हुन्छ । तर यो मापदण्ड अनुसार एउटा दुइवटा अस्पताल बाहेक कुनै पनि अस्पतालमा सम्भव नै नभएको उनी बताउँछिन् ।
कति लाग्छ नर्स बन्न ?
नेपालमा सामान्य नर्स बन्न कम्तीमा १० देखि १२ लाख पढाइ खर्च लाग्छ । तर पारिश्रमिक भने जम्मा १० हजार १२ हजारमा चित्त बुझाउनुपर्ने अवस्था रहेको रोकाया बताउँछिन् ।
‘नर्सहरुकै पेसागत सुरक्षाका लागि भनेर नेपाल नर्सिङ सङ्घ क्रियाशील छ । स्वास्थ्यमन्त्रीले ठाउँ ठाउँमा गएर भाषण गर्नुभएको छ सरकारी सरह सेवा सुविधा दिन्छौँ भनेर । तर न त पेसागत सुरक्षा छ न त पारि श्रमिक नै काम अनुसारको पाइरहेको अवस्था छ । यसको कार्यान्वयन भइरहेको छ कि छैन भनेर हेर्ने कोही पनि छैन । स्वास्थ्य क्षेत्रमा अहिले मन्त्रीले धेरै काम गर्नुभएको छ, त्यो राम्रो कुरा हो । त्यो लागू भयो कि भएन भन्ने कुराको अनुगमन हुन पनि जरुरी छ’, रोकाया भन्छिन् ।
सम्मानजनक व्यवहार छैन
नेपालमा एक लाख २१ हजार नर्स दर्ता भएका नर्सिङ काउन्सिलको तथ्याङ्कले देखाउँछ । तर १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ । बाँकी सबै विदेशमा छन् ।
नेपालमै जनशक्ति नपुगिरहेका बेला यति ठूलो मात्रामा नर्सहरू बाहिरिनु भनेको भविष्यमा स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम भएको नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताइन् । उनका अनुसार पढाइ र कामको लागि भनेर अहिले बर्सेनि ४ हजार नर्स विदेशिने गरेका छन् ।
नर्सहरू विदेशिनुको मुख्य कारण आर्थिकसँगै नेपालमा सम्मानजनक व्यवहार नहुनु पनि रहेको नर्सहरू बताउँछन् ।
नर्स रोकाया भन्छिन्–‘नर्सिङमा धेरैजसो महिलाहरू मात्रै हुने भएकाले यो महिलाले मात्रै गर्ने पेसा हो भन्ने सोचाई हुन्छ । हामीले पढ्ने बेलामा साइन्स पढ्नुपर्छ । डाक्टरको र हाम्रो पढाइ उस्ता उस्तै हो । बिरामीको हेरचाह गर्न, कुन समयमा कस्तो औषधी खुवाउने, उनीहरुको अवस्था अनुसारको उठाउने, सुताउने तरिकाहरु थाहा पाउनका लागि पनि अध्ययन चाहिन्छ । तर हामीलाई एउटा केयर गिभर अर्थात् हेरचाहकर्ताको रुपमा मात्रै हेर्ने गरिन्छ । यसलाई हाम्रो समाजले बुझेको छैन ।’
यो पेसालाई यदि सम्मानजनक बनाउने हो भने अहिले १५ प्रतिशत पुरुषको लागि भनेर छुट्टाएको छ, यसलाई शतप्रतिशत नै बनाउनुपर्ने उनको तर्क छ ।
महिला भएकै कारण नर्सहरुले भोग्नुपरेका शारीरिक मानसिक समस्याहरू धेरै रहेको उनले बताइन् । त्यस्तै अर्को एउटा निजी अस्पतालमा कार्यरत एक जना नर्स पनि उनको भनाइमा सहमति जनाउँछिन् ।
हामीले नेपालमा गरिरहेकै काम विदेशमा गएर गर्ने हो भने पारिश्रमिक पनि राम्रो पाइन्छ र सम्मान पनि । तर, सबै नर्स विदेश जानसक्ने पनि छैनन् ।
नर्सिङ पढ्दा पनि लाखौँ खर्च गर्नुपर्छ । अझ विदेश जाँदा त्यति नै खर्च हुने हुँदा आर्थिक अवस्था कमजोर भएकाहरूले नेपालमै बसेर न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको दुखेसो उनको छ ।
प्रतिक्रिया