गभर्नर अधिकारीको ‘बहिर्गमन’मा रमाएको शेयर बजार | Khabarhub Khabarhub

गभर्नर अधिकारीको ‘बहिर्गमन’मा रमाएको शेयर बजार

सातामै ४३ अर्बको कारोबार, ७१ अंकले बढ्यो नेप्से


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन ४ गतेदेखि शेयर बजारमा निरन्तर हरियाली छाएको छ । दिनदिनै कारोबार पनि उच्च छ । फागुन ११ गतेदेखि १५ गतेसम्म अर्थात् फागुनको तेस्रो सातालाई हेर्दा पनि शेयर बजार कारोबारसहित ‘बुल ट्रेन्ड’मा छ ।

गत मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को त्रैमासिक मौद्रिक नीतिको दोस्रो समीक्षा गरिसकेको छ । गभर्नर डा. महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकालको अन्तिम मौद्रिक नीतिको समीक्षापछि बिहीबार खुलेको बजारमा उछाल देखियो ।

समग्रमा हेर्दा शेयर बजार गभर्नर अधिकारीको बहिर्गमनमा रमाएको देखिएको छ । लगानीकर्ता पनि मौद्रिक नीति समीक्षाको सुधारभन्दा गभर्नर अधिकारीको बहिर्गमनका कारण बजारले बुल ट्रेन्ड समाएको बताइरहेका छन् ।

मौद्रिक नीतिको समीक्षा गर्नुपूर्व नै गभर्नरको बहिर्गमन देखाएर बजारलाई उचाल्ने पछार्ने चलिरहेको थियो । तर ,फागुन ४ यता भने बजार निरन्तर बढिरहेकै छ ।

गभर्नर अधिकारीको बहिर्गमन नै शेयर बजारमा २०० अंकको वृद्धिको कारण बनेको शेयर विश्लेषक राजु पौडेल बताउँछन् । ‘मैले के भन्दै आएको थिएँ भने मौद्रिक नीतिको समीक्षामा केही परिवर्तन नआए पनि गभर्नर जाने भएपछि नै बजार २०० अंकले बढ्नुको कारण हो भनेको थिएँ’, पौडेलले भने ।

खराब कर्जाको प्रोभिजन हटाइदिएकाले बैंकिङ समूह बढेको पौडेल बताउँछन् । सूचना चुहिएका कारण बैंकिङ समूह केही दिनयता चलेको थियो । सूचना चुहिएको चर्चाबीच समीक्षा पनि राम्रो भएको पौडेल बताउँछन् ।

‘हामीले पहिलेदेखि जबसम्म बैंकिङ क्षेत्र चल्दैन, तबसम्म २७६५ देखि २८०० को बिन्दु तोड्न गाह्रो हुन्छ भनेको थियौँ’, पौडेलले भने, ‘बिहीबार बैंकिङ क्षेत्र पनि चल्यो, हाई क्यापका कम्पनी पनि चल्दिए, त्यसले गर्दा २८०० को लाइन तोड्न सफल भयो ।’

बजार सेन्टिमेन्टमा चल्ने भएकाले गभर्नर अधिकारीलाई शेयर बजारविरोधी गभर्नरका रुपमा लगानीकर्ताले हेर्ने गरेका थिए । अब गभर्नर अधिकारी चैत २४ गतेदेखि बिदा हुने भएकाले बजारमा लगानीको माहोल बनेको पौडेल बताउँछन् ।

‘गभर्नर प्रायजसो एक महिनाअगाडि बिदा बस्ने प्रचलन छ’, पौडेलले भने, ‘बिदा बस्ने बित्तिकै शेयर बजार विरोधी मान्छे हिँडे,, अब नयाँ गभर्नर आउने बेलासम्म एक पटक बजार माथि जान्छ भन्ने सन्देश गयो ।’

बैंकिङ क्षेत्रलाई चल्न एउटा बहाना चाहिएको थियो । समीक्षा त्यो बहाना बनेको पौडेल बताउँछन् । ‘मौद्रिक नीतिको समीक्षाले माइक्रो र बैंकिङ क्षेत्रलाई केही भए राहत दिएकाले बजार २८०० काट्न सक्यो’, पौडेलले भने ।

शेयर लगानीकर्ता लामो समयदेखि गभर्नर अधिकारीको बहिर्गमन पर्खिरहेका थिए । अब गभर्नर बिदा हुन लाग्दा बजार बढेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

‘लामो समयदेखि लगानीकर्ता धुपबत्ती बालेरै गभर्नर बिदा हुने समय कुरेर बसिरहेका छन्’, पोखरेलले भनिन्, ‘बैंकको प्रोभिजन १.१० मा पुर्‍याएको पनि उहाँले नै हो । उहाँले जाँदाजाँदै यो पनि हटाइदिनु भयो । बहिर्गमन पनि अब हुँदैछ ।’

भोलिका दिनमा अधिकारीभन्दा अझ कडा नीतिका गभर्नर आउन पनि सक्ने अवस्था भए पनि अहिलेका लागि समस्या नरहेको पोखरेलको भनाइ छ ।

आफूहरूका माग मौद्रिक नीतिको समीक्षामा सम्बोधन नभए पनि असल कर्जाको प्रोभिजन दर कम गरेकाले बैंकको वितरणयोग्य नाफा बढ्दा लगानीकर्तामा विश्वास बढेको पोखरेल बताउँछिन् ।

‘लामो समयदेखि हाई क्याप चलेको थिएन । अब त्यो पनि चल्ने भन्ने भयो’, पोखरेलले भन्छिन्, ‘त्यसकारण लगानीकर्तामा सकारात्मक प्रभाव परेको जस्तो लाग्छ ।’

मौद्रिक नीतिको समीक्षा आशा गरेजति नआएको पोखरेलको भनाइ छ । ‘वर्तमान गभर्नरबाट आशै छैन भनेर बसिरहेको अवस्थामा त्यति समेटिनु पनि राम्रो हो’, पोखरेलले थपिन् ।

बजार निरन्तर बढ्नुमा गभर्नर अधिकारीको बहिर्गमन नै मुख्य कारण रहेको कुरामा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे सहमत छन् ।

‘वर्तमान गभर्नरले केही सुधार गर्छन् भन्ने हामीलाई आशा र विश्वस थिएन’, पाण्डेले भने, ‘तर, समीक्षाले थप तनाव दिएन । बैंकको प्रोभिजन ०.१० प्रतिशत घटाउने र लघुवित्तको बेस रेट कायम गर्ने कुराले बजारलाई सकारात्क दबाब दिन सहयोग गर्यो ।’

गभर्नर अधिकारीले केही नगरे पनि बजार नघट्ने पाण्डे बताउँछन् । ‘अलिकति सकारात्मक कदम चालेकाले बजार थोरै बढ्न सजिलो भयो’, पाण्डेले भने, ‘अब नयाँ गभर्नरको स्वागतमा पनि बजार सकारात्मक दिशातिर अघि बढ्छ ।’

अहिलेको शेयर बजार तरलताको मात्राले पनि नचलेकाले नयाँ गभर्नरले अर्थतन्त्र चलायमान बनाएर बजारले गति लिने पाण्डे बताउँछन् । ‘१–२ प्रतिशत ब्याज बढे पनि अर्थतन्त्र चलायमान बनाउने गभर्नर आएमा तरलता कम हुन्छ’, पाण्डेले भने, ‘पुँजीगत खर्च गर्ने सक्ने व्यक्ति आएमा शेयर बजार पनि चल्छ ।’

अर्का शेयर प्रशिक्षक सुवासचन्द्र भट्टराईले गभर्नरको बहिर्गमनले बजार बुल ट्रेन्डमा गएको बताए । अधिकारीपछिका गभर्नरसँग लगानीकर्ता आशा र विश्वास दुवै गरिरहेका छन् ।

‘अर्थतन्त्र पनि सुधार हुँदै गएको छ । मौद्रिक नीतिसुधारिएर आएको छ’, भट्टराईले भने, ‘तर, अझै सुधार गर्ने ठाउँ थिए । ती सुधार गरेर आउन सकेन । नयाँ गभर्नरले सुधार गर्ने अपेक्षा लगानीकर्तामा छ ।’

बजार बुल ट्रेन्डमा गएकाले अब चाँडै ३२०० को बिन्दु पार गर्ने भट्टराई बताउँछन् ।

सातामा ४३ अर्ब कारोबार, ७१ अंकले बढ्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर हरियाली देखियो । सातामा ४ दिन मात्रै कारोबार हुँदा ७१.३ अंकले नेप्से बढ्यो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन २७४३.७४ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनसम्म आउँदा बढेर २८१५ बिन्दुमा पुग्यो । बजार बढ्दा दैनिक औसतमा १७.८२५ अंकले नेप्सेमा पनि उछाल आयो ।

यो सातामा पूरा ४३ अर्ब ९३ करोड ५५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा १० अर्ब ९८ करोड ३८ लाख ९७ हजार रुपैयाँको किनबेच भएको छ ।

बजारमा ४ दिनको अवधिमा ८ करोड ६३ लाख ८२ हजार १०७ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड १५ लाख ९५ हजार ५२७ कित्ता किनबेच भएको छ ।

सातामा ४ लाख २१ लाख ७६९ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा १ लाख ५ हजार ४४२ पटक कारोबार भएको छ ।

कुन दिनको बजार कस्तो ?

गत फागुन ४ गतेदेखि बढ्न सुरु भएको नेप्से आइतबार पनि बढेर बन्द भएको थियो । आइतबार नेप्से ११.६६ अंकले बढेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.४२ प्रतिशतले बढ्दा परिसूचक २७५५.४० बिन्दुमा पुग्यो ।

उक्त दिन बजारमा ७८ अंकको उतारचढाव आयो । नेप्सेमा उच्च अंकको उतारचढाव आउँदा परिसूचक उच्चतम् २७६८.९० र न्यूनतम २६९०.४२ बिन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्सेमा उच्च अंकको उतारचढावसँगै कारोबार रकम पनि वृद्धि भएको थियो । आइतबार ३२८ वटा कम्पनी कारोबारमा आउँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर १ लाख ८ हजार ९१३ पटक किनबेच भएको थियो ।

सोमबार बजारमा हरियाली देखिए पनि अंक त्यति ठूलो आएन । नेप्से झिनो अंकले बढ्दा कारोबारमा पनि आधा अर्बजति गिरावट भयो ।

सोमबार नेप्से ३.३५ अंकले मात्रै बढेको थियो । उक्त दिन नेप्से ०.१२ प्रतिशतले बढ्दा परिसूचक २७५८.५७ बिन्दुमा पुगेको थियो ।

सोमबार बजारमा ४० अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम् २७८५.१० बिन्दु र न्यूनतम् २७४६ बिन्दुसम्म पुगेको थियो ।

सोमबार नेप्सेमा हरियाली देखिँदा ३१० वटा कम्पनीके कारोबार भएको थियो । उक्त दिन ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर १ लाख ३ हजार २६२ पटक किनबेच भएको थियो ।

बजारको बुल ट्रेन्ड मंगलबार पनि कायमै रह्यो । मंगलबार नेप्से ७.१३ अंकले बढेर बजारमा हरियाली कायम गरेको थियो । उक्त दिन नेप्से ०.२५ प्रतिशतले बढ्दा परिसूचक २७६५.८८ बिन्दुमा पुग्यो ।

मंगलबार बजारमा २० अंकको मात्रै उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम् २७८१.९५ बिन्दु र न्यूनतम् २७५८.४८ बिन्दुमा पुगेको थियो ।

नेप्सेमा निरन्तर हरियाली छाउँदा कारोबारमा गिरावट आयो । मंगलबार ३१२ वटा कम्पनीको कारोबार हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर ९७ हजार ५६२ पटक किनबेच भयो ।

बुधवार महाशिवरात्रि भएकाले सार्वजनिक बिदा थियो । बैंक तथा वित्तीय संस्था पनि बन्द थिए । त्यस दिन शेयर बजार पनि बन्द रह्यो । मौद्रिक नीतिको समीक्षापछि नेप्सेमा बिहीबार उछाल आयो । बिहीबार नेप्से एकै दिन ४९.१५ अंकले बढ्यो ।

साताको अन्तिम नेप्से १.७७ प्रतिशतले बढेर २८१५ बिन्दुमा पुग्यो । बिहीबार नेप्सेमा उछाल आउँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच भयो ।

उक्त दिन ३०० वटा कम्पनीको कारोबार हुँदा १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : १० बजे

दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन

खोटाङ– दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं– नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको

प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली !

राजविराज (सप्तरी)- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

मौसम खराबीले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ ।

सन्तोषको ‘बलिदान’ फूलपातीमा प्रदर्शन हुने, यस्तो छ समीरको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’को