कालो रङ सुन्दर छ…! | Khabarhub Khabarhub

कालो रङ सुन्दर छ…!


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भारतको केरलकी मुख्य सचिव (चिफ सेक्रेटरी) सारदा मुरलीधरनले कालो रङलाई लिएर सामाजिक मिडियामा टिप्पणी गरेपछि प्रतिक्रियाको बाढी आएको छ ।

आजपर्यन्त रङ्गभेदी कठोर भारतीय समाजमा छालाको रङ (वर्ण)का आधारमा भेदभाव सामना गर्नुपर्ने अवस्थाबारे मुरलीधरनको अप्रत्याशित बयानका कारण हल्लीखल्ली मच्चिएको हो ।

यसबारे सोसल मिडियामा गरेको पहिलो पोष्टलाई मुरलीधरनले पहिले त मेटाएकी थिइन्, तर पुनः रिपोष्ट गरेकी छिन्‌ । एक शीर्ष सरकारी अधिकारीले पनि छालाको रङकै आधारमा भेदभाव सामना गरिरहेको तीतो हालत बाहिरिएपछि मानिसहरू तरङ्गित भएका हुन्‌ ।

मुरलीधरनले आफ्नो पोष्टमा लेखेकी छिन्‌, ‘मुख्य सचिवको रूपमा आफ्नो कार्यकालबारे मैले एक आश्चर्यजनक टिप्पणी सुनेँ कि यो कार्यकाल उति नै कालो थियो, जति मेरो श्रीमानको सेतोपना । मैले आफ्नो कालोपन स्वीकार्न आवश्यक छ ।’

सन्‌ १९९० ब्याचकी अधिकृत (अफिसर) मुरलीधरनले सन् २०२४ सेप्टेम्बरमा केरल राज्यकी मुख्यसचिवको कार्यभार सम्हालेकी थिइन् । उनीभन्दा पहिले उक्त पदमा उनकै पति वी. वेणु थिए ।

श्रीमान वी. वेणुसँग मुरलीधरन ।

गरिबी उन्मुलन र महिला सशक्तिकरण, आजीविका मिसन, ग्राम पञ्‍चालत विकास योजना, अनुसूचित जाति विकास, ग्रामीण विकास र उच्च शिक्षासँग जोडिएको परियोजनाहरू प्रभावकारी कार्यान्वयन गरेकी मुरलीधरन आफ्नो कार्यसम्पादनलाई लिएर चर्चित छिन्‌ । उनले भारतको नेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकी कार्यकारी निर्देशकका रूपमा पनि काम गरिसकेकी छिन्‌ ।

मुरलीधरनको वर्णबारेको स्टाटसबारे भारतका एक वरिष्ठ टिप्पणीकार एमजी राधाकृष्णनले भनेका छन्‌, ‘उनी निकै कट्टर विचार र मुखर टिप्पणीका कारण चिनिन्नन् । मुरलीधरन सामान्यतयाः निकै अनुशासित र मृदुभाषी हुन् । उनलाई निकै गहिरो धक्का लागेको हुनुपर्छ । कसैले सफलतालाई सेतो र असफलतालाई कालो विशेषण जोडिदियो । यसलाई उनलाई वास्तवमै धक्का पुगेको हुनुपर्छ ।’

रङ्गभेदको भाष्यभित्र दबिएकी मुरलीधरन

‘म जब चार वर्षकी थिएँ, मैले मेरी आमासँग सोधेकी थिएँ कि उनी काली मलाई फेरि आफ्नो गर्भमा राखेर गोरी र सुन्दर बनाउन सक्छिन्‌ ? मैले ५० वर्षदेखि कालो नभएको भए राम्रो हुन्थ्यो भन्ने यो (रङ्गभेदी) भाष्यमुनि दबिएर जीवन बिताएँ । यसकारण कि कालो रङमा सुन्दरता या मूल्य छैन । यसको (आफू कालो हुनुको) भरपाई मैले कुनै न कुनै तरिकाले गर्नु नै थियो ।’

आफ्नो पहिलो पोष्टलाई डिलिट गरेपछि फेरि रि-पोष्ट गर्दै मुरलीधरनले लेखिन्‌, ‘मुख्य सचिवको रूपमा आफ्नो कार्यकालबारे मैले एक आश्चर्यजनक टिप्पणी सुनेँ कि यो कार्यकाल उति नै कालो थियो, जति मेरो श्रीमानको सेतोपना ! मैले आफ्नो कालोपन स्वीकार्न आवश्यक छ ।

मैले यो पोष्ट आज बिहान लेखेँ र फेरि हटाइदिएँ । किनकी त्यहाँ आएका प्रतिक्रियाबाट म आत्तिएँ । मैले यसलाई फेरि रि-पोष्ट गरेको छु । किनकी मेरा शुभचिन्तकहरूले यस्ता केही कुराहरूमाथि चर्चा हुन आवश्यक रहेको भन्नुभयो । म सहमत छु । आउनुस् ! फेरि कुरा गरौँ ।

म यो खास कुरा किन गर्न चाहन्थेँ ? किनकी म आहत भएकी थिएँ । हो ! तर पछिल्लो सात महिनामा मेरा पूर्ववर्ती (जो मुरलीधरनका पति हुन्‌) सँग मेरो कार्यकाल तुलना गर्ने सिलसिला लगातार जारी रह्यो । म यसबाट निकै प्रभावित भएँ ।
यो लेबलका पछाडि म कालो हुनु कारण थियो । यसमा महिला हुनुको कुरा भने लुकाइएको छ । यो निकै लज्जास्पद कुरा हो । कालो एक रङमात्रै होइन, बरु कालो कहिल्य राम्रो हुँदैन, कालो एक वर्गसँग जोडिएको समस्या हो, यो हृदयहीन निरङ्कुशता हो, गहिरो अन्धकार हो…

यहाँनेर कालो रङको बदनाम गर्न आवश्यक छ ? कालो रङ त ब्रह्माण्डको सर्वव्यापी सत्य हो । कालो रङ यस्तो हो, जो मानव सभ्यताको लागि ज्ञात ऊर्जाको सबैभन्दा शक्तिशाली प्रवाह हो । यो यस्तो रङ हो – जसले हरेक स्थानमा काम गर्छ । कार्यालयमा पोशाक मापदण्ड होस्‌ या बेलुकीपख लगाइने कपडाको चमक होस्‌ ! गाजल होस्‌ या पानी पार्ने बादल होस्‌ !’

मुरलीधरनले अगाडि लेखेकी छिन्‌ –

‘मैले ५० वर्षदेखि कालो नभएको भए राम्रो हुन्थ्यो भन्ने यो (रङ्गभेदी) भाष्यमुनि दबिएर जीवन बिताएँ । यसकारण कि कालो रङमा सुन्दरता या मूल्य छैन । गोरो छालामात्रै आकर्षक हुन्छ । त्यो भन्दा पनि ठूलो त दिमाग, त्यो राम्रो र सम्पूर्ण छ, त्यो पनि गोरो रङसँग सम्बन्धित छ । त्यस्तो गोरो हुन नसक्दा आफू कमजोर रहेको महसुस हुन्थ्यो । त्यो पीडाको भर्पाइ मैले कुनै न कुनै प्रकारले गर्नु नै थियो ।

बाल्यकाल नसकिउञ्जेल मैले यही मानिरहेँ । आफ्नो श्याम (कालो)वर्णको विरासतको महिमामण्डन कसले गर्‍यो ? कसले त्यहाँ सुन्दरता देख्यो ? मैले त देखेकी थिइनँ । कसले सोच्यो कि कालो शानदार रङ हो । कसले मलाई यो देखाउन सहयोग गर्‍यो ?
कि कालो रङ सुन्दर छ
कि कालो रङ भव्य छ
कि म कालो रङ मन पराउँछु ।’

यो पोष्टबारे चर्चा भएपछि मुरलीधरनले समाचार एजेन्सी एएनआईलाई आफूले छालाको रङबारे सो टिप्पणी व्यङ्ग्यात्मक शैलीमा गरेकी बताइन् ।

उनले भनिन्‌, ‘कालो रङप्रति के समस्या छ ? के यो सत्य नभएर अधिक धारणा होइन ? कालोपन यस्तो हो – जो मूल्यवान र सुन्दर छ भनी स्वीकार्न आवश्यक छ । मेरा लागि यो नै सबैभन्दा सही समय लाग्यो कि यसलाई (कालो वर्णलाई) लिएर म रक्षात्मक महसुस नगरूँ । यो पनि कि म एक महिला हूँ या काली हूँ । यी दुबै कुरालाई स्वीकार गर्न र मजबुत भएर अघि बढ्ने समय आएको छ ।’

रङ्गभेदविरुद्ध आफू मजबूतीका साथ अघि बढ्दा रङ या वर्णकै कारण असुरक्षा महसुस गरिरहेकाहरूका लागि सहायकसिद्ध हुन सक्ने मुरलीधरनले बताइन् । कालो वर्णका सबै मानिसहरूले आफूहरूको मूल्य भएको र आफूलाई कुनै बाहिरी मान्यता आवश्यक नभएको महसुस गर्नुपर्ने उनको भनाइ छ ।

तरङ्ग र प्रतिक्रिया

मुरलीधरनको सोसल मिडिया पोष्टमा कयौं प्रकारका प्रतिक्रिया आएका छन्‌ ।

कर्नाटकको उप-मुख्यसचिव पदबाट सेवानिवृत्त भएका जयराजले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्‌, ‘मैले आफ्नो पूरै कार्यकालमा यस प्रकारको कुनै कुरा सुन्न र देख्न परेन । यो एक अपवाद हो । उनको केही फरक अनुभव होला ।’

के त्यो उनको वर्णसँग जोडिएको केही मुद्दा थियो त ? या उनी एक महिला भएकी र धेरै मानिसले महिला नेतृत्व नरुचाउने गरेकाले यस्तो प्रतिक्रिया आएको हो ?

तिरुवअनन्तपुरमको विकास अध्ययन केन्द्रकी महिला अनुसन्धाता प्राध्यापक जे. देविका भन्छिन्‌, ‘दुबै कुरा भएको हुन सक्छ । यो धारणा कालो वर्ण र महिला दुबैमा जोडिएको छ । काला रङका महिलालाई (समाजमा) कम सक्षम मान्ने गरिन्छ । जब कि गोरा पुरुषहरू अधिक सक्षम मानिन्छन्‌ ।

श्याम सुन्दरता (कालो रङको सौन्दर्य) को गरिमा देख्न र बुझ्नका लागि देविका मानिसहरूलाई तिरुअनन्तपुरमस्थित आशा वर्करहरूको सङ्घर्षस्थलमा आउन आग्रह गर्छिन्‌ । भन्छिन्‌, ‘तपाईंहरू केलका ती कोभिडविरोधी योद्धाहरूको अनुहार हेर्नुहोस्‌ । घामको रापमा पोलिँदै, धुलो भरिएको आँधीसँग जुधिरहेका, पसिनाले लतपत, तर दृढ सङ्कल्पका कारण चम्किइरहेका उनीहरूका मुखाकृति हेर्नुहोस्‌ । न कुनै लिपिष्टिक, न कुनै मेकअप ! कुनै तडकभडक छैन । यो दृश्य हेर्दा उनीहरूको सोचबाट रङभेद कोशौँ टाढा देखिन्छ ।’

केरलाका आशा वर्करहरू । तस्बिर स्रोत : पीटीआइ ।

देविका केरलमा आशा वर्करहरूको आन्दोलनतर्फ इङ्गित गर्दैछिन्‌ । केरलमा महिला स्वास्थ्यकर्मीहरूको अभियान नै आशा हो । आशा कार्यकर्ताहरूले हाल केरलमा तलब वृद्धिको माग गरिरहेका छन्‌ । सरकारले तलब बढाउने वाचा गरे पनि हालसम्म माग पूरा गरेको छैन ।

वरिष्ठ टिप्पणीकार एमजी राधाकृष्णन भन्छन्‌, ‘रङ सबैभन्दा अगाडि छ । उनी एक महिला पनि हुन् । तर यो भारतीय संस्कृतिमा कुनै नयाँ कुरा होइन । केरल पनि यसबाट अलग छैन । गोराहरूको गुलाम रहेर हामीले रङको शक्ति, दबदबा, बर्चस्व र त्यस्ता सबै चीज देख्यो । रङ्गभेद राष्ट्रिय धारण हो ।’

उनी अगाडि भन्छन्‌, ‘सामान्यतयाः शीर्ष पदमा रहेका व्यक्तिले यसबारे कुरा गर्दैनन् । यदी तपाईंले ध्यान दिनुभयो भने उच्च पदमा पुग्नेहरू प्रायः तथाकथित उच्च जातसँगै सम्बन्धित हुन्छन्‌ । पिछडिएको या अल्पसङ्ख्यक समुदायका मानिसले यो पद सम्हाल्नु निकै दुर्लभ छ । उनीहरूले रङ्गभेदबारे कुरा गरे पनि यसरी खुल्न सक्दैनन् ।’

मुरलीधरनसँग चिनजान रहेकी मोहिनियट्टम नृत्याङ्गना नीनी प्रसादले भनिन्, ‘म उनलाई चिन्छु र यो भन्ने अधिकार पनि राख्छु कि मुरलीधरनले रङ्गभेदबारे आफ्ना लागि मात्रै कुरा गरेकी होइनन् । हामी त एक महिलालाई सधैँ उनको सादगी या गरिमाका लागि मात्रै सम्मान गर्ने गर्छौं । उनले भारतीय समाजको एक गहिरो समस्याको मूल्यवान पहलूलाई अघि सारेकी छिन्‌ । उनले वञ्जितीकरणमा परेका समुदायमा काम गरेकी थिइन्‌ भन्ने कुरा हामीले भुल्नु हुँदैन ।’

तिरुअनन्तपुरमका सांसद्‌ एवम्‌ लेखक शशि थरूरले सोशल मिडियामा लेखेका छन्‌, ‘आवाज उठाएकोप्रति स्याबास् सारदा ! निकै सुन्दर ढङ्गले लेख्यौ ।’

के कारबाही हुन्छ ?

मुख्यसचिवजस्तो पदमा रहेकी कालो वर्णकी महिलाले भारतीय समाजमा व्याप्त रङभेदबारे लेखेपछि मानिसहरूले अनेक प्रकारका प्रतिक्रिया दिएका छन्‌ ।

केरलका एक प्रहरी अधिकारीले भनेका छन्‌, ‘यो पोष्ट लेख्नुको कारण के थियो ? के एक नागरिक या एक कर्मचारी भएकै कारण उनको अधिकारहरूको उल्लङ्घन भएको थियो ? उनले यसबारे बताउनुपर्छ । के उनीमाथि भएको टिप्पणी हानिकारक थियो ?’

अर्का अधिकारी भन्छन्‌, ‘पोष्ट हेर्दा यस्तो लाग्छ कि यो एक विचार हो । हामीमध्ये केही मानिसहरू पोष्टमा गरिएको शिकायत बुझ्न असक्षम छौँ ।’

(बीबीसी कलेक्टीभ न्यूजरूमका लागि इमरान कुरैशीले तयार पारेको रिपोर्ट अनुदित, सम्पादित र प्रकाशित । सं.)

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : १९ बजे

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा