सुन्दर, अनमोल र सम्पन्न कर्णाली | Khabarhub Khabarhub

विचार

सुन्दर, अनमोल र सम्पन्न कर्णाली

विकासमा विस्तारै वामे सर्दैछ कर्णाली प्रदेश



काभ्रेबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकजना सांसदले हालसालै कर्णालीबारे बोलेको सुनेँ । उहाँले भन्नुभएछ कर्णालीमा नेता नभएको हो कि के हो ? विकास त पटक्कै भएको छैन । उहाँले कर्णालीप्रति सहानुभूति दर्शाउनुभएको हो कि हेपेको, थाहा छैन ।सहानुभूति हो भने कर्णालीवासीले सकारात्मकरुपमै लिनेछन् ।

विकास पूर्वाधराका हिसाबले अन्य प्रदेशको तुलनामा कर्णाली अवश्य कमजोर र पछाडि परेको छ । तर, विकासका सम्भावनाहरु पनि उत्तिकै प्रवल छन्।कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिकारुपमा नेपालकै पुरानो थलो मानिन्छ ।
इतिहासको दृष्टिबाट हेर्दा यो प्रदेश खस साम्राज्यको विरासत नै हो भन्न सकिन्छ । भूगोलका दृष्टिले यो प्रदेशलाई कर्णाली नदी र यसका शाखाहरुको उपस्थितिले सिंचाई र जलविद्युतको भण्डारका रुपमा समेटेको छ ।

आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रुपमा कर्णाली प्रदेश भएर मानसरोवर एवम् मध्य एशिया पुग्ने प्राचीन कर्णाली सिल्क रोडलाई यसले प्रतिनिधित्व गर्न सक्छ । कर्णाली प्रदेशमा चुनौतिका साथसाथै, अथाह सम्भावनासमेत रहेका छन् ।

कर्णाली प्रदेशसँग देशको कुल भूभागको २०.५३ प्रतिशत रहेको छ भने जनसंख्याको हिसाबले करिव ६ प्रतिशतको हारहारीमा रहेको छ । यहाँ रहेका हिमाल, पहाड, लेकाली घाँसे मैदान, वनजंगल, कृषि भूमि, नदी, तालतलैया आदिले विशिष्ट उत्पादन तथा औषधिजन्य उत्पादनको सम्भावना बोकेको छ ।

हो, कर्णाली विगतमा राज्यबाट ठगिएको र उपेक्षामा परेको हो । तर संघीयतासँगै कर्णालीमा विकासका रेखाहरु पनि कोरिँदै गएका छन् । अवश्य पनि विकासलाई जति तिब्रता दिनुपर्ने थियो, त्यो गति कर्णालीले पाएको छैन । तर, विकासमा कर्णाली विस्तारै बामे सर्दैछ र काँचुली फेर्दैछ ।

जब म २०६५/०६६ सालितर नेपालगञ्जमा जागिरे थिएँ, त्यतिबेला नेपालगञ्जवाट सुर्खेत आउने बाटो पनि पूर्णरुपमा पक्की थिएन । जाजरकोट, कालीकोट, जुम्लाको त कुरै छोडौं । अहिले जुम्ला सदरमुकामबाट सिधै काठमाण्डौंका लागि गाडी छुट्छ । हो, बाटो अलि साँघुरो छ । केही कष्टकर पनि छ । तर, सडक सञ्जाल विस्तार भएको छ ।

त्यसो त देशकै प्रमुख राजमार्ग, जसले देशका अरु भुभागलाई काठमाण्डौसँग जोड्छ, त्यसको वुटवल-नारायणगढ-दाउन्ने -मुगलिङ्ग खण्डको जुन विजोग छ, त्यो भन्दा कर्णाली राजमार्ग सहज छ । यसको अर्थ राजमार्ग एकदम ठीक छ भन्ने आसय पटक्कै होइन तर सडक सञ्जाल विस्तार हुनु अवश्य सकारात्मक हो ।

अब रह्यो कर्णालीमा नेता छन् कि छैनन् भन्ने । नेता नभएको त देशको कुन कुना बाँकी होला र खै ? तर राष्ट्रिय राजनीतिमा छाप छोड्न सक्ने नेता छन् कि छैनन् भन्ने बेग्लै कुरा हो । देशको राजनितिमा छाप छोडे पनि आफु जन्मे हुर्केको र चुनाव जितेको क्षेत्रको विकासमा कति छाप छोडन सक्छन्. त्यो कर्णालीको सवालमा मात्रै होइन, सबैजसो भुभागका लागि सोचनीय विषय अवश्य हो ।

यो कुरा पनि सत्य हो कि राष्ट्रिय नीति निर्माण तहमा हस्तक्षेप गर्ने नेतृत्व विकास नहुँदा कर्णालीमैत्री नीति नियम बनेनन्। अरू प्रदेशबाट दुई–तीनजना प्रधानमन्त्री भइसक्दा कर्णालीबाट एकजनाले पनि प्रधानमन्त्री बन्ने अवसर अझै सिर्जना गर्न सकेको छैन । त्यसैकारण राज्यको स्रोतमा कर्णालीको पहुँच कमजोर भइरह्यो। आर्थिक र सामाजिक विकासमा विभेदको शिकार भइरह्यो।

कर्णाली भौगोलिक रूपमा विकट छ। अधिकांश भूमि पहाडी र हिमाली छ। त्यसैकारण बाटोघाटो र भौतिक संरचना निर्माणमा कठिनाइ छ। तर, यो मात्रै कर्णालीको पहिचान होइन। रारा, से फोक्सुन्डो जस्ता ताल यहीँ छन्। मानसरोवर-कैलाशको मूलमार्ग यहीं छ। विभिन्न आकर्षक ताल र दह छन्। हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, भेषभूषा, चाडपर्व, घरेलु प्रविधि आदि सम्पदाका खानी छन्।

कर्णालीमा बहुमूल्य जडीबुटीहरूको भण्डार छ। स्याउ खेती र रैथानी बालीको सुवर्ण भूमि हो कर्णाली। तर, यहाँको विकासमा न सरकारले इच्छाशक्ति देखायो, न त ठूला उद्योगी, व्यापारिक घराना, ठूला कम्पनी र अन्य क्षेत्र नै लगानी गर्न तयार भए। त्यसैकारण, कर्णालीमा विकासको ढोका अझै खुलेन। विकासका अथाह सम्भावना लगानीको पर्खाइमा छन्।

कर्णालीमा आर्थिक समृद्धिका लागि जलविद्युत्, जडीबुटी, पर्यटन, होटल व्यवसायमा लगानी गर्न सकिन्छ। यी क्षेत्र अझै भर्जिन छन्। तर, अहिले जलविद्युत्, जडीबुटी, पर्यटन, होटल क्षेत्रमा लगानी एकदम न्यून छ।

यतिले मात्रै कर्णालीको समग्र विकास र समृद्धिको आधार बन्न सक्दैन। गुणस्तरीय र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गर्ने उच्च सम्भावना रहेको प्रदेश पनि हो कर्णाली।तर, सार्वजनिक शिक्षा लगानीअनुरुप सुधार हुन अझै सकेको देखिँदैन । विद्यालय भर्नादरमा सुधार हुँदै गए तापनि बीचैमा पढाइ छाड्ने प्रवृत्ति अझै उच्च रहेको छ । शिक्षाको अवस्थामा सुधार ल्याउन राज्यले जनसमुदायहरुको चेतना अभिवृद्धि गर्न आवश्यक छ ।

प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास आवश्यक छ ।

मानसरोवर मार्ग, रारा, फोक्सुण्डो लगायत सांस्कृतिक निधिहरुको कारण महत्वपूर्ण पर्यटक गन्तब्यहरु हुँदाहुदै पनि पर्यटक आगमनको संख्या निराशाजनक रहेको छ ।उच्च सम्भावनाका बावजुद कर्णाली प्रदेशमा ठूला र मझौला उद्योगधन्दा खुल्न सकेका छैनन् । सेवाक्षेत्र अल्पअविकसित अवस्थामै रहेको छ ।

सम्भावना हुँदाहुँदै पनि प्रशोधन उद्योगहरुको अभावले गर्दा धेरै संख्यामा रहेको प्रजातिका बहुमुल्य जडिबुटीहरु र रत्न पत्थरहरुको कच्चा पदार्थको भण्डार हुन सकेको छैन र त्यस्ता कच्चा पदार्थलाई भण्डार गरी प्रशोधन गर्ने तथा निर्यात बढाउन सक्ने अवस्थालाई बलियो बनाउन सकिएको देखिदैन । कच्चा पदार्थ नै बाहिर निर्यात हुने गरेकोले प्रतिस्पर्धात्मक सूचकांक कमजोर रहेको देखिन्छ ।

कर्णालीको प्रदेश राजधानी सुर्खेत द्रुत गतिमा विकसित हुँदै गएको शहर हो । वीरेन्द्रनगर जसका परिकल्पनाकार स्वर्गीय राजा वीरेन्द्र थिए । त्यो समयमा नगर विकासका लागि बनाएको गुरुयोजना अन्तरगतका खुला र फराकिला सडक, प्रयाप्त सार्वजनिक जमिन र त्यसमा हालसालै हुँदै गरेको विकास पूर्वाधारहरुले यसलाई देशकै ठूलो शहरमा रुपान्तरण गर्दै लगेको छ ।

लगभग निर्माण कार्य सम्पन्न हुन लागेको सुर्खेतको रंगशाला देशकै नमुना रंगशाला बनेको छ भने यहाँ लगभग ८ सय वर्ष पहले निर्माण भएको काँक्रेविहार, बुलबुले ताल, गुराँसे डाँडा लगायतका कयौं पर्यटकीय क्षेत्र छन्, जसले आन्तरिक र वाह्य पर्यटकको ध्यान आफूतिर आकर्षित गरेका छन् ।

युवापुस्ता, जो टिकटक र भडियोमा रमाउने गरेका छन्, तिनका लागि सुर्खेतको घण्टाघर एउटा गन्तब्य बनेको छ । दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन् ।

दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवल, रावतकोटमा रहेका पञ्चदेवलहरू, जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, पटङ्गेनी दरबार लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकीय स्थानहरू हुन्।

देशकै एउटा सुन्दर पर्यटकीय जिल्लाको रुपमा जुम्लालाई लिन सकिन्छ । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर लगायत रहेका छन् ।

भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, स्याउ वागवानी तथा तरकारी फाराम, कर्णाली प्राबिधिक शिक्षालय, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन् ।
त्यसै गरि मुगुको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, रहेको छ । यहाँका कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू लगायत अनेक खोलानाला र झरनाहरू रहेका छन् ।

राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज आफैमा एउटा पर्यटकीय गन्तव्य बनेको छ ।यसैगरी डोल्पा जिल्ला एक पर्यटकीय जिल्ला हो । यस जिल्लाबाट विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा से फोक्सुण्डो ताल रहेको छ, यसका अलवा यस जिल्लामा धार्मिक तथा पर्यटकीय महत्व झल्कने थुपै ठाउँहरु रहेका छन् ।

कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ । सल्यान जिल्लाको कुपुण्डेदह यहाँको प्रमुख धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्व रहेको छ । यस्ता थुप्रै धार्मिक र पर्यटकीय गन्तव्य रहेको कर्णाली आफैंमा प्राकृतिक रुपमा सुन्दर र अनमोल छ ।

जुम्लामा मेडिकल कलेजको स्थापनासँगै देशभरिबाट डाक्टर बन्ने सपना बोकेका युवायुवतीहरुको रोजाइमा जुम्ला स्वास्थ विज्ञान प्रतिष्ठान पर्न थालेको छ ।

अलिकति कष्टकर जीवनशैली, विकास पूर्वाधारको अप्रयाप्तता र राज्यको हेराइमा पछौटेपनको ठप्पा लागेको कर्णाली अन्य प्रदेशको तुलनामा भौगोलिक रुपमा केही विकट अवश्य हुन सक्ला, तर प्राकृतिक रुपमा सम्पन्न / समृद्ध छ । यही सम्पन्नता कर्णालीको विकासको आधार बन्ने निश्चित छ।

(लेखक कर्णालीका विभिन्न विकास परियोजनाहरुमा कार्यरत छन्)

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १२ : २६ बजे

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण

जसपाले अवरोध गरेपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन– ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक

कमल थापा बोलिरहँदा राजावादीबीच होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्बिरहरू)

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको